बेसिन्दा पहिरो पीडितलाई राजनीतिक बिलो

बेसिन्दा पहिरो पीडितलाई राजनीतिक बिलो

बेसिन्दा पहिरो पीडितका समस्या, सरकारी निकायका हालसम्मका प्रयासका विषयमा रिपोर्टिङ गर्न गत साउन २५ गते तिर सदरमुकाम खाँदबारीबाट पत्रकारको टोली (ध्यान कुलुङ–गोर्खापत्र, खेवाहाङ मेवाहाङ–सगरमाथा टेलिभिजन, स्थानीय संयोगान्त कुलुङ र म) त्यसतर्फ लाग्यौँ । हिउँदमा शिलिचोङका अधिकांश वडासम्म सवारी यात्रामा पुगिने भएपनि असारे विकासका योजनामा मर्मत र निर्माण गरिएका सडकहरु अहिले संखुवा खोलाले अरुण नदीमा मिसाउँदा सायद बंगाल तिरै पुगिसके होलान् । त्यसैले खाँदबारीबाटै मोटरसाइकलमा जबरजस्त हेलुवाबेसीसम्म पुग्यौं । ताकी मोटरसाइकलमा गुड्नु भन्दा बढी हिड्नु पर्ने बाध्यता थियो । हामीलाई बोक्ने मोटरसाइकललाई हामीले अझै बढी बोक्यौं ।

हेलुवाबेसीबाट पैदल यात्रामा बुधबारे पुग्नु थियो । हिडाँईको थकानले गर्दा बुम्लिङटार (भोजपुर) को तेर्सो सडकमा साँझ परिसकेको थियो । मोबाइलको टर्च बालेर संखुवा खोलाको गढतिरबाट हिउँदको सडकमा सकस यात्रा ग¥यौं । किनकी अहिले सडक जस्तो छैन । सडक पनि संखुवाको बगर बनेको छ । अबिरल वर्षाले माटो बगाएपछी निस्किएको चट्टानमा हात र खुट्टाका नंग्रा गाडेर गन्तव्यको दूरी कम गर्न हामीले ठूलै संघर्ष गर्नुप¥यो । चमेरो झैं झुन्डिएर पार गर्नुपर्दा केही गरी हात वा खुट्टा मध्ये एक खुस्किए त्यहीँ सडक जसरी नै संखुवाले पुन अरुण नदी भएर बंगालको खाडी पु¥याउने छ । हिउँदमा तीन घण्टामा पुगिने बुधबारे यो संकटपूर्ण यात्रामा करिब ७ घण्टा बितेछ ।

पहिरोपछीका प्रयास

गत असार २७ गते राती अबिरल वर्षापछी आएको पहिरोले शिलिचोङ गाउँपालिका वडा नं. १ बेसिन्दा गाउँका ९ घर बगाउँदा ११ जना वेपत्ता भए । पहिरोमा बेपत्ताको खोजी गर्ने क्रममा एक जना स्थानीयको हृदयघातका कारण मृत्यु भयो । पहिरोले बेसिन्दा गाउँका ८६ घर सोही पहिरोबाट चेप्चेवाका २० घरलाई विस्थापित ग¥यो । बेसिन्दाका ८६ मध्येका २९ परिवारलाई वडा नं. २ को सिसुवाटार बुधबारेमा अस्थायी बसोबासका लागि पुर्नस्थापना गरिएको छ । चेप्चेवाका २० परिवारलाई वडा नं. २ कै पौखमटारमा पुर्नस्थापना गरिएको छ भने वडा नं. १ को चित्रेमा ५३ परिवारलाई व्यवस्था गरिएको छ । व्यवस्था गरियो त भनियो तर कत्तिको व्यवस्थित छन् यसमा कसैले महत्व राखेका छैनन् ।

घटनापछी प्रदेश सरकारको पहलमा खाद्यान्न सामाग्री सहित ५३ थान टेन्ट र त्रिपाल विस्थापित परिवारलाई पुर्नःस्थापनाका लागि पु¥याइयो । १ सय ६ घर विस्थापितहरुमा ५३ परिवार बाहेककालाई टेन्ट व्यवस्था गर्छु भनेर फर्किएको प्रदेश सरकार एक महिना बित्दा समेत पुन शिलिचोङ तर्फ फर्किन सकेको छैन । बुधबारेमा राखिएका २९ परिवारलाई थोर बहुत सहजै रहेको पाइन्छ । पौखमटारमा राखिएको भनिएको २० घर परिवार टेन्ट अभावका कारण बस्न सकेका छैनन् । उनीहरु आफन्तकोमा ११ जनादेखि २१ जनासम्म कोचिएर बस्नुपर्ने कहिलेसम्म हो थाहा छैन । यता चित्रेमा राखिएका ५३ परिवार मध्ये २४ परिवार टेन्टमा बस्दै आएका छन् । अन्य परिवार आफन्तकै आश्रयमा छन् । खानेपानी अभाव झेलिरहेका यहाँका पिडितहरु चिसोका बिरामीका सिकार बनेका छन् ।

शिलिचोङ गाउँपालिकाले पीडितलाई राहत र पुर्नस्थापनाका लागि उच्च स्तरीय समिति गठन गरेर काम गरिरहेको छ । उक्त समितिले हालसम्म विस्थापित परिवारलाई आम्दानी श्रोत र क्षतिको आधारमा विस्थापितका श्रेणी विभाजन गरिसकिएको जनाएको छ ।

राहत\सहयोगमा लबिङ

शिलिचोङमा दुई ठूला दलकै नेतृत्व ठुलै छ । बेसिन्दा पहिरो अघि चुपचाप यिनीहरु पहिरोपछी एकाएक होडबाजीमा उत्रीएका छन् । राहत संकलनमा सहयोगी मन भन्दा पनि पार्टीपंत्तीका हिसाबले विभिन्न समिति बनाएर उधुमसंगले लागि रहेका छन् । दुवै पार्टीलाई एक अर्काप्रति डर छ, त्रास छ । अर्को पार्टीले बढी रकम संकलन गर्ने होकी भन्ने व्यग्र चिन्ता छ । दल बाहेकका देश विदेशका विभिन्न संघसंस्था र व्यक्तिहरु सामाजिक सञ्जाल मार्फत सहयोगको अपिल गरिरिहेका छन् । मोटो रकमहरु पनि हात परेका छन् । तर सहयोग संकलन गर्ने संस्थामा कुन व्यक्तिको नेतृत्व छ ? ती व्यक्ति कुन पार्टीका हुन् ? आफ्ना पार्टी भए जाती, अर्को पार्टी भए अब्जस लगाउने र पार्टी निकटका होइनन् भने भन्दा लाग्ने व्यक्तिको खोजी गरी आफ्नो पार्टीमा समाहित गर्ने प्रवृत्तिले नेतृत्वदेखि कार्यकर्तासम्मलाई आराम छैन । यो अभ्यास एक महिना बितिसकेको छ ।


यता जिल्लाका विभिन्न संघसंस्था तथा सहयोगी दाताहरुले दिएका राहत सामाग्री पार्टी कै नेतृत्वमा ल्याइएको, हाम्रो पार्टीको फलनाको पहलमा ल्याइएको भनेर सामाजिक सञ्जालका भित्ताहरुमा बाक्लै गरि पोस्ट्याइएका छन् । सहयोगी संघसंस्थाहरु, दाताहरु सडकको दुर्दशाका कारण पीडितका सामु पग्न सकेका छैनन् भने सरकारको एकद्धार प्रणाली अन्तर्गत सदरमुकाममा सरकार माताहतका निकायलाई राहत सामाग्री र रकम हस्तान्तरण गर्न बाध्य छन् । जस्ले गर्दा पिडितका सहरा बनेका दलका नेतृत्वहरु सदरमुकाम आएर राहत सामाग्री लैजाने र पिडितसम्म पुग्दा निस्वार्थ सहयोगी दाताहरुको राहतमा बाह्र वर्षपछी फुलेको उन्युँमा राजनीतिको ‘गु’ गन्ध छरिरहेका छन् ।

 

पीडितलाई राजनीतिक बिलो

सिकारीले सिकारमा संलग्नलाई बिलो बाँडे जसरी नै बेसिन्दा पहिरो पीडितलाई पनि राजनीतिक बिलो बाँडिएको छ भन्दा फरक नपर्ला । पहिरोले यो वा त्यो दलको नभने पनि पहिरोपछी विस्थापितहरुको भागबन्डा नेतृत्वहरुले राजनीतिक रुपमा गरिरहेका छन् । चित्रेमा भएकाहरुलाई बुधबार देखाउँदै तिनीहरु फलना दलका हुन् । त्यसैले उनीहरुलाई बुधबारेमा लगेर राखे । टेन्टमा राखे । चेप्चेवाकालाई पनि बुधबार देखाउँदै त्यसै भन्ने । बुधबारेकालाई टेन्ट दिने अनि तिमीहरुलाई त्रिपाल दिएर विभेद गरे । त्रिपालमा कोही नबस भनेर उराल्नाले राहतका नाममा आएका सामाग्री समेत प्रयोग गर्न सकिरहेका छैनन् पीडितहरु । यो गतिविधि गर्न कुनै पनि पार्टी कम्जोर छैन ।

वडामा वडाध्यक्षको नेतृत्व र गाउँपालिकामा गाउँपालिका अध्यक्षको नेतृत्वलाई पार्टीसँग तुलना गरेर पक्ष र विपक्ष बनाइनुले हिजो समर्थन गरेकाहरुलाई समेत अहिले खपिनसक्नुको विरोध गर्ने बनाइसकेका छन् राजनितिका सिकारीहरुले । त्यसैले नेतृत्वलाई पार्टी देखाएकैले होला आज सोझा पीडित पनि नेतृत्वका राम्रै काम भएपनि पार्टीको चस्मा लगाएर हेरिदा विरोधको पक्षमा छन् । यसरी नेतृत्व र पीडितहरुलाई पार्टीको पगरी लगाई दिनुले पाउनुपर्ने सेवासुविधाको समेत उनीहरु विरोध गरिरहेका छन् ।

नेतृत्व फेरियो आवाज फेरिएन

प्राकृतिक विपत्तिका हिसाबले शिलिचोङ गाउँपालिकामा बेसिन्दा पहिरो स्थानीय र नेतृत्वलाई नयाँ कुरा होइन । वि. सं. १९९२ र २०२२ सालको सिंगो गाउँ नै पहिरोमा बगेको मांतेवा पहिरो, २०६६ साल साउन २ गते १४ जना बेपत्ता भएका सिकिदिम पहिरो लगायत वर्षेनी दुई÷चार परिवार विस्थापित हुनु पर्ने घटनाका साक्षी यी नै दलका नेता कार्यकर्ता, बौद्धिक व्यक्ति व्यक्तित्व, समाजसेवी र स्थानीयहरु हुन् । प्रत्येक वर्ष विस्थापित परिवारलाई विभिन्न संघसंस्था र दाताहरुको सहयोगमा पुर्नस्थापना गरिन्छन् । तर स्थायी बसोबासको विकल्प कहिले गर्दैनन् । किनकी विस्थापितहरुलाई दिगो लक्ष्यकासाथ स्थायी बसोबास गरियो भने भोली राजनितिक विषयवस्तु के बनाउने ? भोट माग्ने एजेण्डा हराउँछकी भन्ने निरिह सोचाईका कारण अहिलेको मात्र हैन दशकौं अघिका विस्थापितले पनि स्थापित हन पाइरहेका छैनन् । सोझै भन्ने हो भने पीडितको पिडामा राजनिति गर्नेहरुले ती सोझा गाउँलेलाई स्थापित हुन दिइरहेका छैनन् ।

पीडितका समस्या समाधान गर्ने भनेर मुखले ओकल्ने तर मनमा अंगार पोतिएका ब्वाँसा जस्ता नेतृत्वहरु पटकपटक कार्यकाल सकाउँदै फेरबदल भइरहेका छन् । नेतृत्व वर्गको जस्तै पिडितहरुको आवाज पनि फेरिनेवाला छैन समस्याको तर उनीहरुको जीवनशैली पनि फेरिनेवाला छैन नेतृत्वको जस्तै ।

समग्रमा बेसिन्दा पहिरो र पीडितलाई नियाल्दा पहिरो हिजो पनि गयो, आज पनि जाँदै छ र भोली पनि जानेवाला छ । व्यवस्थाहरु जस्तै नेतृत्व पनि फेरिइरहेका छन् । तर दलगत स्वार्थका कारण नत हिजोका पीडितको समस्या समाधान भयो, नत भोलीका पीडितका नै हुनेछन् । स्वार्थ पुरा हुने छत केवल पिडितको विषयलाई लिएर स्वार्थको राजनिति गर्नेहरुको । त्यसैले शिलिचोङलाई नजिकबाट नियाल्ने सबै तह र तप्का नेतृत्वहरु, नियामक निकायका नेतृत्वहरु, परिवर्तन, विकास र समस्या समाधानका उपाय खोज्ने आम मान्छे र सञ्चारकर्मीहरु शिलिचोङको यो प्रवृत्ति प्रति चासो राख्न, विस्थापितहरुको स्थायी पुर्नबास र वेपत्ताहरुको परिवार प्रति सहानुभुति राख्न पार्टी, जाती र स्वार्थ भन्दा माथि उक्लन सक्नु पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्