कोरोनाको ‘हटस्पट’ विराटनगर

कोरोनाको ‘हटस्पट’ विराटनगर

विराटनगर । प्रदेश १ का पाँच जिल्ला कोरोना संक्रमणको रेड जोनमा परेका छन् । प्रदेश १ का १४ जिल्लामध्ये मोरङ सबैभन्दा बढी प्रभावित र प्रदेश १ को राजधानी समेत रहेको मोरङको विराटगनर ‘हटस्पट’ बनेको छ ।

मोरङमा मंगलबार साँझसम्म रंगेली र सुनवर्षीमा १–१ बुंढीगंगामा २, जना र विराटनगरमा ७ जनाको मृत्यु भईसकेको छ । मोरङमा ३३२ महिलासहित एकहजार १४१ जना संक्रमित भईसकेका छन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशभर जम्मा २ हजार २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कूल संक्रमितमध्ये आधा संख्या मोरङमै छन् । संक्रमितमध्ये ६९० जना विराटनगरका हुन् ।
संक्रमितको संख्या अझ तीव्र गतिमा बढ्न सक्ने अनुमान गर्दै महानगरले प्रदेश सरकारको सहयोगमा तीन स्थानमा आईसोलेशन सेन्टर स्थापना र सञ्चालनमा ल्याएको छ । तर, महानगरका आईसोलेशन बाहेक पनि संक्रमितहरु बसिरहेका छन् । महानगरकै सम्पर्कमा रहेर होम आईसोलेशनमा बस्नेहरुको संख्या समेत बढ्दै गएको छ ।

मोरङमा ८ वटा आईसोलेसन सेन्टरमा मंगलबार साँझसम्म जम्मा ३५३ जना संक्रमति भर्ना भएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको तथ्यांकअनुसार पूर्वाञ्चल विश्व विद्यालय गोठगाउँमा ८४, कोशी अस्पताल कोभिड १९ केन्द्रमा ४८, घिनाघाट कोभिड १९ उपचार केन्द्रमा २०, विराटनगर मारवाडी सेवा समितिमा ४६, काली मन्दिर धर्मशालमा ११, आरती स्ट्रिप्स बुढीगंगामा ४९, १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र रानीमा २२ र रंगेली नगरपालिका जनता क्याम्पसमा ७३ जना संक्रमित उपचाररत छन् ।

हालसम्म झापामा ४५०, सुनसरीमा ३३९, उदयपुरमा ११० र इलाममा ८१ जनामा संक्रमण पुष्टि भएको छ । सबैभन्दा कम भोजपुरमा ६ जना र सोलुखुम्बुमा ८ जना संक्रमित फेला परेका छन् । ती जिल्लाका संक्रमित निको भएर घर फर्किसकेकाले अहिले कोरोनामुक्त जिल्लाको रुपमा रहेका छन् ।

त्यस बाहेक संखुवासभामा ८, पाँचथरमा ८, तेह्रथुममा ९ र ताप्लेजुङमा १२ जनामा संक्रमण देखिएको छ । खोटाङमा १९ र खोलखढुंगामा १८ जनामा संक्रमण पुष्टि भएको छ । धेरै जसो पहाडी जिल्लामा संक्रमित उपचारपछि ठिक भएकोले त्यहाँ संख्या अझ घट्दो छ । कूल संक्रमितमध्ये १९३ महिला र ९४० पुरुष गरी ११३३ जना डिस्चार्ज भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्