राष्ट्रिय पुरुष क्रिकेट टोलीका खेलाडीले एकवर्षपछि तलव पाए

राष्ट्रिय पुरुष क्रिकेट टोलीका खेलाडीले एकवर्षपछि तलव पाए

विराटनगर । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका खेलाडीले एक वर्षदेखि रोकिएको तलब पाएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडीको तलब बैंक खातामा पठाएको जानकारी दिएको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट रकम पाएसँगै क्रिकेट खेलाडीको बैंक खातामा तलब हालिएको बिहीबार विज्ञप्ति जारी गर्दै क्रिकेट क्यानले जनाएको छ ।

करिब चार वर्षदेखि नपाएका खेलाडी तथा कर्मचारीलाई आईसीसीले एक वर्षको तलब पठाएको थियो । सन् २०१९ मा आईसीसीको सम्झौतामा रहेका २२ जना खेलाडीको तलब क्यानको खातामा पठाएको छ ।

आईसीसीको निर्देशनअनुसार केही समयअघि क्यानले आईसीसीको सूचिमा रहेका खेलाडीको हस्ताक्षर गरेर पठाएको थियो । क्यान अस्तित्वमा आएपछि खेलाडीको तलब १० हजार बढाएर पठाउन भनिएको थियो । जसलाई आईसीसीले स्वीकार गरेको थियो ।

त्यसैअनुसार खेलाडीले तीन श्रेणीअनुसार तलब पाएका हुन् । ‘ए’ श्रेणीमा रहेकाले ४५ हजार, ‘बी’ श्रेणीकाले ३५ हजार र ‘सी’ श्रेणीमा रहेका खेलाडीले २५ हजार पाएका छन् ।

‘ए’ श्रेणीमा कप्तान ज्ञानेन्द्र मल्ल, पारस खड्का, शरद भेषवाकर, बसन्त रेग्मी, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र सोमपाल कामी रहेका छन् ।

‘बी’ श्रेणीमा करण केसी, शक्ति गौचन, आरिफ शेख, अनिलकुमार साह, रोहितकुमार पौडेल, ललितनारायण राजवंशी र ललितसिंह भण्डारी छन् भने ‘सी’ श्रेणीमा दिलीप नाथ, सुवास खकुरेल, सुनील धमला, सुशन भारी, किशोर महतो, विनोद भण्डारी र सागर पुन छन् ।

एकमुष्ट एक वर्षको तलब पाउँदा ‘ए’ श्रेणीका खेलाडीले ५ लाख ४० हजार, ‘बी’ श्रेणीका खेलाडीले ४ लाख २० हजार र ‘सी’ श्रेणीका खेलाडीले ३ लाख रुपैयाँ पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्