ऐजेरूले जेलिएको रुख

ऐजेरूले जेलिएको रुख

आ आ आ, त्रु त्रु त्रु आ आ आ !
घरभेटी आमैले कुखुरा हाँसलाई चारो दिन वोलाएको आवाजले पार्वती  विउंझि । आंखा नखोलि उसले सिरक कम्मरसम्म पल्टाई । चिसो हावाले उसको तन्द्रा खोलिदिदै गयो । दुवै हातले मजाले मिचेर उसले विस्तारै आंखा खोली । आधा शरीर  उठेर विस्तरामै वसिबसि आङ तानेर लामो हाई गरी । हल्का निहुरदै उसको लामो घना कपाल  स्याहारेर जुरो वांधी ।  पत्रिका टांसेको सल्लाको काठको भित्ताका चेपहरु विहानको कलिलो घामको किरणले मधुरा राता परपेन्डिकुलर जस्ता देखिईसकेका रहेछन । ढोका र झ्याल वन्द भएपनि पुर्वपटिको भित्ताको दियाले प्वालबाट सिनेमा हलमा प्रोजेक्टरको लाईट जस्तो उज्यालो धर्सो कोठामा आईरहेको रहेछ। ‌

आकाश गंगामा ताराहरु जस्तो त्यो धर्सोमा धुलोका कण टिलपिलाउंदै कोठाको पश्चिमपटि भुईंमा गोलो उज्यालो वृत्त वनिईराखेको थियो । सोही उज्यालोको सहारामा कोठामा वचेखुचेको अध्यारो वारह घण्टाको लागि भाग्ने तरखर गर्दैथियो ।  उसको खाटको छेउपटि टेवलमा कितावकापी कोही खुलै र कोही वन्द छरपस्ट थिए । अर्कापटि स्टोभ र भांडाकुंडा । उसले वेलुकी पढेको जियोमेट्री र नमिलेको कन्स्ट्रक्सन, विज्ञानमा पढेको एस्ट्रोलोजीको पाठको याद पुलुक्क चिहाएर तुरन्तै भाग्यो।  उता टेवलको पल्लोपटिको खाटमा उसकि कोठाकि पार्टनर संगीता मस्त निदाईरहेकि थिई ।टेवलले आधा छेलेको उसको निदाएको अनुहार देख्ने वित्तिकै उ झसंग भई । राति एकवजेतिर उसले ढोका खोलिदिदा संगीताको  डर, लाज र संकोच पोतिएको अनुहार अहिले निदाईरहदा खाना खाएर सुतेको अवोध वालक जस्तो देखिएको थियो । उसले " यति रातिसम्म कहाँ गएर आकी संगीते " भन्दा उत्तर नदिईकन संगीता हतारहतार कपडा फेरेर सिरकमा घुसुल्टिएकि थिई ।  पार्वती आफैपनि निन्द्रामै भएकिले भोलि सोधम्ला भनेर सुतेकि थिई । यसरी छोरी मान्छे भएर रातविरात वाहिर हिड्ने साथीले अवगाल पार्ने भै भन्ने डर पलाउंदा पलाउंदै उ फेरि निदाएकि थिई । यत्तिकैमा एकहुल परेवा उनीहरुको वरण्डाकोठाको टीनको छानामा आएर वसे । भाले परेवाहरु माकमाक कुटुर घुरघुर गर्दै घुर्न थाले । तिनिहरुका खुट्टाहरुको तीखो आवाजले कोठामा एककिसिमको झंकार व्याप्त भयो । त्यो दिन शनिबार भएकोले ट्युसन पढ्न जानुपर्दैन थियो । तै पनि पार्वती जुरुक्क उठी । सिरक पट्याएर तन्ना ओछ्यान मिलाई ।  व्रसमा मन्जन लगाएर तौलिया, सावुन झिकेर उ कोठावाट निस्केर धारातिर लागि ।

पार्वती र संगीता हेंवाखोला पारी भारपावाट फिदिम वजारमा डेरा लिई एस एल सी को ट्युसन पढ्न वसेका थिए । त्यति धेरै मन नमिलेपनि उनीहरु एउटै सरकारी स्कुलमा सानैदेखि पढेका थिए । गाउंमा ट्युसन पढ्न नपाउने र अमरपुर जानुभन्दा सदरमुकाम जानु नै ठीक भएकोले फिदिमको शनिवारे हटिया मुन्तिर तिम्सिनाको घरको वरन्डाकोठामा उनीहरु दुई महिनाको लागि वसेका थिए । नजिकै रहेको फिदिम उच्च मावि मा उनीहरु विहान अंग्रेजी र गणित, वेलुकी विज्ञानको ट्युसन पढ्थे । एउटै कक्षामा २०/२५ जना राखेर कोर्स कम्प्लिट प्रतिविषय २०० को हिसावले छ/छ सय तिरेर पढाउने चलन थियो त्यतिबेला ।  मंसिरमा भएको टेस्ट परीक्षामा पार्वती सेकेन्ड डिभिजनमा पास भएकि थिई भने संगीता अंग्रेजी र गणित दुई विषय लगाएर वल्ल पास भएकि थिई । संगीताका वाउले " हाव माईला, यो संगीता अलि भुस छे पढाईमा, तेरी छोरी पार्वतीसंग राख्दिदा यसो पार लाउलि कि, टिउसन पढ्न पठाम हाव फिदिम तिर, " भनेपछि पार्वतीलाई पठाउन मन र क्षमता नभए पनि पार्वतीका वाउले उनीहरुलाई पढाउन पठाएका थिए ।

व्रस गरेर, मुख धोईवरी पार्वती कोठामा आई । उ ऐना हेर्दै मुख पुछ्न थाली । उसको सानो सानो गहुंगोरो अनुहारका काला वाक्ला आंखिभुईं वीचमा  मिसिएका थिए । मिसिएको ठांउमा केही रौ वटारिएर यसरी उठेका थिए, मानौ आंखिभौहरु वाध्यताले संगै छन । आजभोलि भए थ्रेडिङ गरेर मिलाउंथि होला, उसका ओठ माथि, कन्सिरी मुनि र निधारको साईडतिर निकै वाक्ला रौ थिए । तर उसका काला आंखा निकै जिज्ञासु र गहीरा थिए । समग्रमा हेर्दा त्यति राम्री नदेखिएपनि उसको ईमान्दार र दृढताको आभाले उसको अनुहारमा एउटा अनौठो चमक थियो । उमेरले १७ लागेपनि दुव्लीपातली र होची भएकोले उ भर्खर वाह्र पुगेर तेह्र लागेजस्ति देखिन्थि ।
मुख पुछिसकेपछि उसले स्टोभ वाली  र चिया वसाई । स्टोभको आवाजले संगीता विउंझिई । उ विउंझेपनि थाहा नपाएजस्तो गरि सुतिराखी । चिया उम्लेपछि उसले संगीतालाई उठाई । उसको चिया टेवलमा राखिदिई ।
संगीता हातमुख नधोईकन सीधै उठेर चिया पक्रेर पिउन थाली ।  दुवै जना चुपचाप चिया पिई सकेपछि  संगीताले भनी, " ओई पार्वती, तं आज खाना पका, म हटिया गएर तामा किनेर ल्याउंछु । सुंगुरको मासु ल्याउं भने तं मन पराउंदिनस। तामाको झोलसंग भात खानुपर्छ ल । " पार्वतीले हुन्छ भनि ।  संगीताले प्लास्टिकको जगको पानीले आरीमा कोठाभित्रै मुख धोई ‌। जिन्सको पाईन्ट र रातो भेष्ट फेरी ।त्यसमाथि रातो ज्याकेट लगाई ।  ऐनामा हेरेर गाजल लगाई र रातो लिपिस्टिक पनि लगाई ।

पार्वतीलाई झर्को लागेर भनी ," तीं हटिया जान पनि के सिंगारपटार गर्नुपर्या होला "
"राम्री हुनुपरेन त" उतावाट स्वाभाविक उत्तर आयो ।
"हेर त मलाई कस्तो देखियो ?" संगीताका कान सकारात्मक प्रशंसाले भरिएको उत्तरको अपेक्षामा थिए ।

गोरो उज्यालो अनुहार, मोटो मोटो दोहोरो जिउ भएकी संगीता राम्री थिई । त्यसमाथि गाजल र लिपस्टिकले  विछट्टै राम्री देखिएकी थिई । पार्वतीलाई  भित्र भित्र इर्ष्या लागेपनि उसले " हिरोनी" देखिएको छ हौ "भनी । संगीता खुशीले पुलकित भई । संगीतालाई गएर ग्वाम्लांग अंगालो हालि र म्वाईं खाई । पार्वती ले "भो भो, छोड" भनी तर संगीताले उसको जीउभरि काउकुती लगाइदिई । पार्वती फुत्केर रिसाएजस्तो गरेपछि खितखित हास्दै संगीता कोठावाट निस्कि ।

पार्वतीले आफ्ना मैला कपडा छानेर धुन छुट्याई । सफा लुगा पट्याएर भित्ते दराजमा थन्क्याई । लथालिङ्ग संगीताको ओछ्यान मिलाईदिई । स्टोभ फेरि सल्काई र भात वसाई । छिटै खाना खाई नुहाएर लुगाहरु धोएर शनिबारको फुर्सतमा हप्ताभरीको विज्ञान र हिसावको नोट वनाईसक्नुपर्ने थियो । पुसको जाडो महिना भएकोले विहान लुगा धुन र नुहाउन गाह्रो हुने हुनाले उसले त्यसो गरेकि थिईन ।

खाना पाक्यो । उसले स्टोभ सानो पारेर वरण्डावाट वाटोतिर हेरी । मान्छेहरु दोहोरी लत्तो हिडिरहेका थिए । संगीताको चालचोल थिएन । उ कोठामा फर्केर स्टोभ मारी । कत्रो वेर लगाएकि होला भनेर उसले दिक्क मानी । ऊ सधै यसै गर्थी र हैरान लगाउंथी। खासमा उसलाई संगीताको कुनैपनि चालचलन मनपर्दैन थियो । संगीतालाई पढ्न अल्छी लाग्थ्यो । ऊ ट्युसन कक्षामा केटीहरुतिरको  लास्ट वेन्चमा मनकुमारीसंग वस्थी । मनकुमारीलाई सबैले कुटुनी वुढी भन्थे ‌। सरले पढाइरहेको वेला उनीहरु दुईटी खुसखुस गफ गरिरहन्थे । कोठामा आएपछि संगीता कक्षाका केटाहरु कसले उसलाई कसरी हेर्यो, के भन्यो, वेलिविस्तार लगाउंथी र त्यसैको आधारमा को कस्तो भन्ने उसको इजलासको निर्णय सुनाउंथी ‌‌।  केटीहरु ककस्ले के भने? को कस्तो? को कस्को ? सारा इतिवृत्तान्त संगीतालाई थाहा हुन्थ्यो । उसलाई मनकुमारीले मेघराज भन्ने केटासंग लभ पारिदिएकि थिई । मेघराज एक्जाम्टेड ग्रुपको थियो र चौथोपल्ट एस एल सी दिईरहेको थियो । उ पनि लास्ट वेन्चको केटीहरुपटिको छेउमा बसेर संगीतालाई हेरिरहन्थ्यो र दुवै एकार्कासंग मस्किन्थे । पार्वतीलाई हिजो राति संगीता मनकुमारीकोमा जान्छु भनेर कतै मेघराजको कोठामा त गैन ? उसलाई शंका थियो ।

साथी जे जस्तो भएपनि पार्वतीलाई पढाईमा ध्यान थियो । उसलाई एस एल सी मा फर्स्ट डिभिजन ल्याएर टेस्टको सेकेन्ड डिभिजनको वदला लिनु थियो । उ संगीताका कुरामा अं अं त भन्थी तर उसको ध्यान पढाईमै हुन्थ्यो । उसलाई गांउको स्कुलमा शिक्षिका वनेर भाईवहिनी लाई पढाउने तथा घरखर्च सघाउने सपना पुरा गर्नु थियो । संगीताले उसलाई पढाईमा जति डिस्टर्ब गरेपनि पार्वती सहन्थी किनभने कोठाको भाडा र ट्युसन फी पछि तिर्ने शर्तमा संगीताको वुवाले हालिदिएका थिए । उसलाई संगीतालाई पनि जान्ने वनाएर पास गराउने भिरालो जिम्वेवारी दिईएको थियो ।  उसलाई यो पीरले  खाईरहन्थ्यो तर यसको भरपाई उसले संगीता निदाएपछि राति उठेर पढेर गरिरहेकि थिई । संगीता उसका नोट सारेर गर्जो टार्थी ।

एकछिनपछि संगीताको आवाज पार्वतीको कानमा पर्यो ।
"माथि नै आउनु न" संगीता कसैलाई कर लाउंदै थिई । पार्वतीलाई फेरि कोही नौलो पाहुना आएको आभास भयो
यतिकैमा संगीता हातमा एउटा प्लास्टिकको पोको वोकेर कोठामा छिरी । पछिपछि मेघराज थियो ‌।
"उ मेरो साथी पार्वती "  संगीताले चिनाई । पार्वतीलाई भित्रभित्रै वडो असजिलो लागि रहेपनि उ वनावटी भएपनि मुस्काईदिई ।
"उसलाई चिनिनस् ?
" मेघराज  के ? हाम्रै ग्रुपमा पढ्नुहुन्छ त । हिजो मनकुमारीकोमा मांगेना पुजामा वसेर घर जान पाउनुभएको रैनछ । ऐले हाटमा भेट भयो । अव आज यतै भात खाउं भनेर मैले कर गरेर ल्याएको । उ त मान्नुभएको थिएन ।"
उ संसार जिते जसरी मुस्काई ।

पार्वतीलाई अघिल्लो राति संगीता कता हराएर एकवजे मात्र कोठामा आएकि भन्ने प्रश्नको उत्तर मिलिसकेको थियो
"सुन न ओई। तामा त पाएन । अनि सुगुरको मासु ल्याएको । सागसंग मिसाएर पकाम ।  तंलाई मन नपरे पनि मिलेर पकाएर खाम न है । म पकाउंछु नि । "
संगीताको चाल देखेर पार्वतीलाई रीस उठिरहेको थियो । जांच आउन पन्ध्र दिन छ । पढ्नु छैन ।  कहिले रातभरि गायव, अव त कोठामा केटा ।  तर नौलो मान्छे संगै भएकोले उ वोलिन । उसका आंखा र शारीरिक हावभावले नकारात्मक ईशारा गरेपनि उनीहरुले वास्ता गरेनन किनभने नयाँ नयाँ र कलिलो प्रेममा वांधिएका उनीहरु एकार्कालाई हेरेर नै फुर्सद थिएन । उनीहरु पार्वतीकै खाटमा ल्याप्पै टांसिएर वसेका थिए । संगीता ले पठाउंछु भनेर गफ मात्र दिन्थि तर कहिले पनि पकाउंदिनथिई । पार्वतीले साग र सुंगुरको मासु पकाई । तीनजनाले वांडे । पार्वतीले दुई टुक्रा मासु र धेरै साग खाई । मेघराजलाई भात पकाएको थिएन । तर मासु टन्नै भएकोले सबैलाई पुग्यो ।

भांडा उठाएर तल धारामा माझ्न पार्वती हिंडी । धारा पुग्न दुईवटा डिलमुनि पुग्नु पर्थ्यो ।धाराको छेउमा एउटा ऐजेरूले जेलिएको रुख थियो । विचरा रूखका जराले भेला पारेको खाना खाएर ऐजेरू झ्याम्म सप्रेको थियो भने रुख सुक्न लागेको थियो । तर रुख सुकेपछि ऐजेरुको पनि चोला उठ्ने निस्चित थियो । त्यही रुखको छायामा वसेर पार्वती भांडा माझ्न थाली । यतिकैमा घरभेटी आमा डोकोभरी कपडा लिएर कपडा धुन झरिन ।  भांडा मस्काउंदै गरेकि पार्वतीलाई भनिन् । "तिमेर्को कोठामा त छोरामान्छे वोल्छ, पाहुना आएको छन कि क्या हो ! "
पार्वतीलाई सकस पर्यो । एक मनले त संगीताको प्रेमी हो भनिदिम कि जस्तो लाग्यो । तर त्यसो भन्दा समस्या पर्ने हुनाले उसले भनी । " गांउंवाट संगीताको दाई आउनुभाको छ "

उसको दाजुभाई कतिजना पो छन ?
खासमा संगीताको कोही दाई थिएनन् । उसका तीनजना दिदी र उ मुनिको एउटा भाई मात्र थियो । तर पार्वतीले एकजना दाई र एकजना भाई गरेर दुईजना भनिदिई ।
वुढी आमा पत्याएझै गरी लुगा भिजाउन लागिन ।  उनले
एकछिनपछि सावुन खोजिन तर भेटिनन ।
" लु हाव मैले त सावुन नै विर्सिपठाएछु, लिएर आउंछु है"
"म ल्याईदिईहाल्छु नि आमा, वुढि मान्छे किन तलमाथि गरिरहनुपरो ? वरु कहाँ छ भन्नु न"
"लौ ल्याइदेउ त त्यसो भा, भान्साको ढोकाको कुनापटि छ"
पार्वती घरवेटी आमाकोमा गएर सावुन ल्याई र आफ्नो पनि धुने कपडा झिक्न कोठामा गई । ढोका खेल्दा भित्रवाट आग्लो लगाएको रहेछ । भित्रबाट आएको अस्वाभाविक आवाज सुनेपछी उसका खुट्टा कांपे । उसले ध्यानपूर्वक सो आवाज सुनी । उसलाई भित्रको दृश्य अनुमान भैसकेको थियो ।  उ के गर्ने के नगर्ने भै । उसको दिमागले काम गर्न छोड्यो । चिटचिट पसिना आयो ।
उसले एक्कासी "आमा" भनेर चिच्याई ।

उसको चर्को आवाज सुनेपछी तलवाट घरभेटी आमा " के भो" भन्दै आत्तिदै उकालो चढ्न थालिन । भित्रको आवाज अचानक वन्द भयो र खासखुस चल्न थाल्यो । त्यसको एक मिनेटपछि लिम्वूनी आमा " केभो ? किन कराको "  भन्दै आइपुगिन् । यतिकैमा घर्याक्क ढोका खुल्यो र मेघराज कोठावाट निस्केर यस्तरी हिड्यो जसरी हानेको छेलो निस्कन्छ ।
यो सबै देखिसकेपछि घरभेटी आमाका अनुभवी आंखाले लगभग शंका काटिसकेको थियो । उनी जंगिदै भनिन, " ए केटी हो, के चाल हो तिमेर्को !  "  हैन यो डांका मेघे यहाँ कहाँ वाट आयो ? "

पार्वती वोल्न सकिरहेकि थिईन किनकि उसले साथीलाई वचाउन झूटो वोलेकि थिई । उसलाई उनीहरुले यो हदसम्म पार गर्लान भनेर सोचेकि थिईन ‌।  घरभेटी आमाले ढोका खोलिन् । भित्र संगीता सम्हालिईसकेकि थिई ।
घरभेटी आमाले पार्वतीलाई पनि कोठामा हुलिन । उनले जंगिदै संगीतालाई भनिन " ए केटीहो, लू सब सांचोसांचो भन् । यो कोठामा दाजु आको छ भन्छ । भरे कोठावाट त्यो कुखुरा चोर मेघे निस्किन्छ । यो वाहिर वसेर चिच्याऊंछ " सांचो कुरा के हो ? सबै सांचो भनिस भने विचार गरौला, नत्र म गाउँ छिमेक पन्चायत वोलाउंछु "
दुवै केटीहरु डरले रुन थाले ।
पार्वतीले रुदै भनि "आमा मैले तपाईलाई ढांटे , कोठामा मेघराज नै आको थियो । मलाई माफ गरिदिनु ,आइन्दा यसरी ढांट्दिन "
वुढी आमैले पार्वतीलाई हेरेर भनिन् " तैले  केटी भनेपछि मरिहत्ते पछि लाग्ने कुखुरा चोर मेघेलाई किन कोठामा वोलाईस ?
"मैले वोलाएको हैन, संगीताले लिएर आएकि " पार्वतीले भनी । घरभेटी आमा जंगिईन । तं ढांट्ने मान्छेको कुरा पत्याऊंछु म ? उल्टै साथीलाई पो दोष लगाउंछस् ?

बोलाउने अनि मैले थाहा पाऊंछु भनेर मेरो सावुन ल्याउन आफै आउने, अनि आफै चिच्याउने ? यत्री यत्री छैन, यो केटी त खत्तम रैछे ।
आमैले संगीतालाई हेर्दै भनिन, "तिमीलाई त केही गरेन नि त्यस फटाहाले ? " उ वोलिन । अस्विकृतिमा टाउको हल्लाई । उसको करतुत छोपिदै गएको उसले स्पष्ट देखेकि थिई ।उ वचियो भनेर मग्न भए पनि खतरा टरिसकेको थिएन ।  आमैको वुझाई गलत नै भएपनि त्यसबाट आफु वचिने भएकोले उ चुप लागि ।  पार्वती रोईरहेकि थिई । उसले अघि नै झुट बोलेर उनीहरुको त्यो दिनको न्यायाधीश  घरभेटी आमाको विश्वास गुमाईसकेकि थिई । अव उसले वोलेको सत्य वूढीले पत्याउने थिईन ‌। संगीताले सत्य कुरा भन्ने कुरै थिएन । मेघराज प्यास वुझाएर वाटो लागिसकेको थियो । पार्वतीको सत्यता परिवन्दले एक्लै पर्यो ।

केहीवेर पार्वतीलाई नानाथरी गाली गरेपछि घरभेटी आमा अलि शान्त भईन । उनले पार्वतीलाई सम्झाउदै भनिन, " हेर केटी हो, तिमीहरु यहाँ पढ्नु बसेको हो कि हैन ? आज म नभको भए् तिमीहरूको ईज्जत त्यो कुखुरा चोरले लुट्थ्यो । छोरी मान्छेको ईज्जत सियोको टुप्पोमा हुन्छ । एकचोटी गएपछि सकियो । त्यो मेघे, उसको चोर साथिहरूसंग मिलेर दूईटा भाले चोर्दा चोर्दै भेटाएर हाम्रो वुढाले चिर्पटले पिटेको मान्छे हो । त्यस्तोको संगत गर्नु हुदैन । अवदेखि ज्ञानी भएर पढ्नु, वस्नु । अव यस्तो थाहा पाएंभने तिमेर्को वाउलाई भन्दिन्छु नि फेरि "यति भनेर आमै उठिन ।

पार्वतीका भांडा धारामै थिए । संगीता चुपचाप भुईं हेरेर वसिरही । पार्वती धारामा गई । एकछिन ऐजेरु लागेको सुक्न लागेको रुखलाई टोलाएर हेरी । ऐजेरुहरु झन झ्याम्मिएका रहेछन । विचरो रुख जसोतसो उभिएको थियो ‌ ।

एकछिनपछि उसले व्यर्थ निकालेका नुनिला आंसुले भिजेको अनुहार पखाली । भांडा वोकेर कोठामा आउंदा उसले नेपाली विषयका गुरुले कक्षामा भन्नुभएको विरामी घोडा र खसीको कथा सम्झी, जहाँ खसीको सल्लाहले घोडा निको भएको र त्यसैको खुशीयालीमा मालिकले खसी काटेर भोज गरिएको थियो ।

धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्