छ महिनापछि खुले प्रदेश १ का होटल

छ महिनापछि खुले प्रदेश १ का होटल

विराटनगर। प्रदेश १ का तीन हजार होटल छ महिनापछि आजदेखि खुलेका छन् । कोरोना संक्रमणका कारण चैत ११ गतेदेखि औपचारिक रुपमा बन्द भएका पूर्वका होटल व्यवसायीले सञ्चालनमा ल्याएका हुन् ।

होटल संचालनमा ल्याए पनि नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा भने अझै सिल यथावत राख्नुपर्ने व्यवसायीहरुको माग छ । भारतबाट आउने ग्राहकले कोरोना संक्रमणको जोखिमलाई अझ बढाउने भन्दै होटल व्यवसायीले अन्तर्राष्ट्रिय सिमाना सिल यथावतै राख्न माग गरेका हुन् ।

यद्यपी सीमानाकाबाट नेपाल प्रवेश गर्नेहरुले सीमामा बसेका सुरक्षाकर्मीलाई केहि रकम दिएर आउजाउ गर्दै आएको विषय समेत बाहिरिदैं आएको छ ।
भारतको विहार राज्यमा विगत ५ वर्षयता मदिरा निषेध गरिएका कारण नेपालका होटलमा भारतीय ग्राहकको बाक्लै भीड हुने गर्छ। सीमावर्ती विहार राज्यका नागरिकले मदिरासहितको विवाह, जन्मोत्सव, पार्टी, सेमिनार र अन्य कुनै कार्यक्रम गर्नुपरे उनीहरू नेपालका होटलमा आउने गर्दथे । यसका कारण मोरङ र सुनसरीमा नयाँ होटल निर्माणका लागि लगानी बढिरहेको छ ।

तर कोभिड–१९ को विश्वव्यापी सन्त्रासका कारण चैत ११ गतेदेखि मुलुकमा लकडाउन भएको भए पनि यस प्रदेशका होटलहरू फागुन १५ देखि नै बन्द छन्, होटल व्यवसायी महासंघ प्रदेश १ का वरिष्ठ उपाध्यक्ष भविश श्रेष्ठले भने, ‘होटलमा फागुन १५ देखि नै कोही आएनन् ।
यसबीच सरकारले लामो दूरीका यातायात र आन्तरिक हवाइ उडान असोज १ देखि खोल्ने निर्णय गरेसँगै अब होटल र रेस्टुरेन्टमा पनि सञ्चालनमा आउने छन् । तर सरकारले अन्तर्राष्ट्रिय नाका चाहिँ अझै खोल्नु हुँदैन । भारतबाट आउने ग्राहकले संक्रमणलाई अझै तीव्र बनाउने खतरा विद्यमान छ ।’

 

व्यवसायी श्रेष्ठका अनुसार लकडाउन र निषेधाज्ञाका अवधिमा तराई क्षेत्रमा कुनैकुनै होटलमा यदाकदा पाहुना आएको देखिए पनि पहाड र हिमाल क्षेत्रका पर्यटकीय स्थलका होटल पूर्णतः बन्द भए । यस अवधिमा पहाड र हिमाल क्षेत्रमा कोही पाहुना गएनन् ।

उनले असोज १ देखि हिमाल र पहाडी क्षेत्रका होटल पनि खुल्ने उल्लेख गर्दै अहिलेका अवस्थामा ती क्षेत्रमा आन्तरिक पर्यटक पुर्‍याउन सरकारले भूमिका खेल्नुपर्ने सुझाव दिए ।

उनले प्रदेश सरकारले पहाडी र हिमाली क्षेत्रमा आफ्ना बैठक र सेमिनारलाई विस्तार गर्नुपर्ने राय प्रकट गरे । साथै हिमाली र पहाडी क्षेत्रको भ्रमणमा जाने आन्तरिक र बाह्य पर्यटकलाई प्रोत्साहन हुने प्रकारका कार्यक्रम दिनुपर्ने उल्लेख गरे ।

श्रेष्ठले लामो समयपछि खुलेका होटलका कामदारलाई सरकारले स्वास्थ्य सुरक्षा र मापदण्डसम्बन्धी आवश्यक प्रशिक्षण दिनुपर्ने बताए ।
‘सेनिटाइजर, भौतिक दूरी, मास्क र हात धुनेजस्ता सामान्य कुरा हामीले सिकाएका छौं,’ व्यवसायी श्रेष्ठले भने, ‘अझ विशेष प्रकारको मापदण्ड र सुरक्षासम्बन्धी प्रशिक्षण पनि दिनु आवश्यक छ । ग्राहकलाई कोठामा कसरी सर्भ गर्ने, ग्राहके प्रयोग गरेका कपडाको व्यवस्थापन कसरी गर्ने र होटलमा विभिन्न सेमिनार वा बैठक हुँदा कसरी प्रस्तुत हुने भन्ने विषयमा थप प्रशिक्षण चाहिएको छ ।’

उनका अनुसार महासंघले कतै प्रत्यक्ष र कतै जुममार्फत् होटलका कामदारलाई स्वास्थ्य सुरक्षासम्बन्धी प्रशिक्षण दिइरहेको छ । तर सरकारले अझै विशेष प्रकारको अभिमुखीकरणमा उनीहरूलाई सहभागी गराउनु अझ उपयुक्त हुन्छ ।

 

होटल एसोसिएसन अफ नेपालका केन्द्रीय सदस्य राजन श्रेष्ठले लामो दूरीका सवारी साधनहरू पहिलेझैँ खुला नगरी सवारी साधन खोल्ने समयमा पनि निश्चित दूरी कायम राखिनु पर्ने राय प्रकट गरे ।

‘पहिलेझैँ छिटो छिटो बसहरू छुट्न थाले भने भौतिक दूरी कायम राख्न अप्ठ्यारो हुन्छ,’ उनले भने, ‘पहिले पाँच–पाँच मिनटको अन्तरमा बस छुट्थे भने अब १५ मिनटको अन्तरमा छुट्ने बनाउनु पर्छ ।’

अहिलेसम्म सेवा बन्द गरेका यातायात व्यवसायीले पनि एकै चोटि पहिलेझैँ सेवा संचालन गर्न हतारिनु नहुने र धैर्य गर्नुपर्ने उनको भनाइ छ ।

प्रदेश नम्बर १ मा पर्यटक स्तरका होटलका संख्या ५ सय अन्य सामान्य होटल र गेस्टहाउस ३ हजारको संख्यामा सञ्चालनमा छन् ।
यस प्रदेशमा होटल र गेस्टहाउसमा प्रत्यक्ष कार्यरत कामदार ५० हजार रहेको व्यवसायीको दाबी छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्