लेबनानका पूर्व प्रधानमन्त्री हरीरी पुनः प्रधानमन्त्रीमा निर्वाचित

लेबनानका पूर्व प्रधानमन्त्री हरीरी पुनः प्रधानमन्त्रीमा निर्वाचित

लेबनानका पूर्व प्रधानमन्त्री साद हरीरी पुनः प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको छ । उहाँ यसअघि दुई पटक प्रधानमन्त्री भइसक्नु भएको छ । निवर्तमान प्रधानमन्त्री मुस्तफा अडिबले गत सेप्टेम्बरको अन्त्य तिर राजीनामा दिएकाले हरीरीले फेरी प्रधानमन्त्री बन्ने मौका पाउनु भएको हो ।

लेबनानको राष्ट्रपतिको कार्यालयले हरीरीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको र उहाँलाई मन्त्रीपरिषद् गठन गर्न आह्वान गरिएको जनाएको छ । संसदमा उहाँलाई प्रधानमन्त्री निर्वाचित गराउने बेलामा भएको मतदानमा ६५ जनाले हरीरीको पक्षमा मतदान गरेका थिए । त्यसैगरी ५३ जनाले मतदानमा भाग लिएका थिएनन् भने दुई जना अनुपस्थित रहेका थिए ।

यसअघि सन् २०१६ देखि हरीरीकै नेतृत्वमा सरकार बनेको थियो । त्यसपछि उहाँले गत सन् २०१९ को अक्टोबर १८ मा राजीनामा दिनुभएको थियो । उहाँ नेतृत्वको सरकारका विरुद्धमा व्यापक आन्दोलन भएपछि उहाँले राजीनामा दिनुभएको हो । उहाँलाई आर्थिक संकटमा मुलुकलाई धकेलेको आरोप लगाइएको थियो ।

त्यसपछि गत जनवरी २०२० मा हसन डियबको नेतृत्वमा नयाँ सरकार बनेको थियो । तर उहाँ धेरै समय टिक्न सक्नु भएन । गत अगस्टमा राजधानी बेरुतमा ठूलो बम विस्फोटनको घटना भएर दुई सयभन्दा बढीको मृत्यु र हजारौँ घाइते भएपछि उहाँ राजीनामा दिन बाध्य हुनुभएको हो ।

नवनिर्वाचित प्रधानमन्त्री हरीरी सन् २००९ देखि २०११ सम्म पहिलो पटक प्रधानमन्त्री भएर सरकारको नेतृत्व गर्नुभएको थियो । उहाँ देशका पूर्व प्रधानमन्त्री राफिक हरीरीको माइलो छोरा हो । पूर्व प्रधानमन्त्री राफिकको सन् २००५ मा हत्या भएको थियो । त्यसपछि नै उहाँका छोरा साद राजनीतिको केन्द्रीय भागमा उदाउनु भएको हो । उहाँ फ्युचर मुभमेन्ट पार्टीका नेता हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्