विराटनगर । विराटनगर १३ नहर रानी सिकीयाईमा बस्दै आएको अजय मलाकारको परिवारले विगत ३० बर्षदेखी झाँप बनाउदै आएको स्मरण छ ।
३० बर्षको यो लामो समयमा उनलाई सबैभन्दा बढी घाटा यस पटक पर्यो । मालाकार भन्छन् – यसपटक खासै अर्डर आएन, कोरोनाले गर्दा होला यसपटक एकदमै कम अर्डर आयो । ‘विगतको बर्षमा ३० देखी ५० हजार सम्मा झाप विक्री गरेर आम्दानी हुन्थ्यो तर यस पटक १० हजार पनि नठ्ला जस्तो छ ।’ विराटनगरका अधिकास मालाकार समुदाय दशैको बेला झाप बनाउने काम गर्दछन् ।
विराटनगर १३ स्थित नहर छेउमा रहेका करिब आधा दर्जन घरपरिवारका सदस्यले विगत लामो समयदेखी झाप बनाउने काम गर्दै आएकाछन् ।
विशेष गरी नेपाली हिन्दुहरुको दशै लागेसँगै मालाकार समुदायहरु यतिबेला झाप बनाउन व्यास्त देखिन्थे तर यसपटक भने विगतको जस्तो खासै चहलपहल देखिएन । प्राय दशै, छठ पर्व तथा पुजाआजा गर्दा प्रयोग गरिने झाप बनाउने गरेका छन् ।
मधेशको मिथिला संस्कृतिमा बाँसका सिन्काको संरचना खडा गरी, त्यसलाई सेतो कागजले–बेरेर त्यसमा स– सना कूचिबाट रंगिन कलाकृति बनाएर देवतामा अर्पण गर्नु आराधना वा उपासनाको एक अद्वितीय विधीलाई ‘झाप’ भनिन्छ ।
सधारणतया मैथिली लोक भाषामा झाप्नु भनेको छोप्नु हो । देख्दा कुनै बस्तुलाई छोप्न प्रयोग गरिने जस्तो देखिने हुदां यसलाई ‘झाप’ भनिएको हो ।
‘झाप’ मन्दिरमा रहेका देवी देवतामा चढाईन्छ । खास गरी दशैंको पुजा घरमा, कृष्ण जन्माष्टमी, सिरूवा, घडी पर्वमा बिशेष यसको प्रयोग गरिन्छ । आफूहरुले बाउबाजेको पालादेखी झाप बनाउदै आएको अर्का एक सन्तोस कुमार मालाकारले बताए ।
झापको चारै कुना र बाँकी भागहरूमा महिला तथा पुरूषहरूले बडो निष्ठाका साथ देवी देवता, चरा चुरूङ्गी र प्रकृतिका आकृति हातैबाट बनाएर रंगाउने गरिन्छ । एउटा झापको मुल्य दुई देखी ५ सय सम्म विक्री हुदै आएको मालाकार समुदाय बताउदै आएका छन् ।