नोबेल मेडिकल कलेजमा विद्यार्थीसँग जरिवाना ‘बार्गेनिङ’, तोकेको तिर्ने की पढाई छोडेर घर फिर्ने

नोबेल मेडिकल कलेजमा विद्यार्थीसँग जरिवाना ‘बार्गेनिङ’, तोकेको तिर्ने की पढाई छोडेर घर फिर्ने

विराटनगर । नोबेल मेडिकल कलेज एण्ड टिचिङ्ग अस्पताल विराटनगरमा अध्ययनरत विद्यार्थीसँग कलेज प्रशासनले जरिवानाका नाममा रकम असुल्ने ‘बार्गेनिङ’ सुरु गरेको छ । कोरोना संक्रमणको सन्त्रास सामान्य बन्दै गएपछि कलेजको सम्पर्कमा आएका विद्यार्थीसँग प्रशासनले समयमै शुल्क नबुझाएको नाममा जरिवाना असुल्न थालेको हो ।

यतिसम्मकी विद्यार्थीसँग जरिवाना असुल्ने कुनै मापदण्ड समेत तोकिएको छैन । कसलाई कति लिन सकिन्छ, त्यति लिने गरि व्यक्तिपिच्छे दवाव सिर्जना गरिएको एक विद्यार्थीले गुनासो गरे । स्वास्थ्यसँग सम्बन्धित विभिन्न शैक्षिक कार्यक्रममा भर्ना भएका विद्यार्थी नै अहिले नोबेलको प्रशासनका कारण दवावमा परेका छन् । प्रशासनले जरिवाना रकम तोकेर तत्काल बुझाउन दवाव दिईरहेको छ, फार्मेसीमा ब्याक पेपरको फारम भर्न आएका विद्यार्थीले भने–मैले शुल्क बुझाईसकेको थिएँ तर मलाई १ लाख ३० हजार रुपैँया जरिवाना वापतको रकम भराउन दवाव छ ।

फार्मेसीको चौंथो ब्याच अन्तर्गत उनले पहिलो वर्षको सबै किस्ता बुझाएर दोस्रो वर्षको अध्ययन गर्ने क्रममै तेस्रो वर्षको समेत शुल्क बुझाईसकेको दावी गरेका छन् । बैंकमा जम्मा गरेर भौचर बुझाएको थिएँ, साहले भने–भौचर हरायो भन्छन्, बैंक स्टेटमेन्ट माग्दा दिदैनन् । ‘ब्याक इक्जाम’ को फारम भर्न आउँदा जरिवाना नबुझाएसम्म फारम लिन मानेनन् ।

तेस्रो वर्षसम्म ‘क्लियर’ गरिएको छ । गतवर्ष फारम बुझाउँदा केहि भनिएन, यसवर्ष जरिवाना बुझाउन दवाव दिईरहेका छन् । कलेज प्रशासनले विद्यार्थीसँग जर्वरजस्त नै जरिवानाको नाममा रकम असुल्ने मात्रै गरेको छैन, विद्यार्थीले अटेर गरे तोकिएको जरिवाना घटाएर १० प्रतिशत भएपनि बुझाउनु पर्ने शर्त राख्दै आएको छ । मलाई १ लाख ३० हजार देखाइएको थियो, मैले बारम्बार रकम बुझाईसकेको दावी प्रस्तुत गरेपछि १० प्रतिशत भएपनि बुझाउनै पर्ने शर्त राखिएको छ–विद्यार्थीको भनाई छ ।
फार्मेसीका विद्यार्थीसँग जस्तै नोबेलले ल्याब टेक्निसियन पढ्ने विद्यार्थीसँग समेत त्यस्तै बार्गेनिङ गरेको गुनासो सामाजिक सञ्जाल फेसबुक पेजमा सार्वजानिक गरिएको छ । विराटनगका युवा योगराज आशिष दाहालले आफ्नो फेसबुक पेजमा नोबेलले जरिवाना वापत असुलेको बिलसहित सार्वजानिक गरेका छन् । उनले विद्यार्थीले बुझाउनु पर्ने ३८ हजार भएपनि त्यसमा ६० हजार थपेर ९८ हजार बुझाउनु परेको उल्लेख गरेका छन् ।

जरिवाना वापतको रकम नबुझाएको अवस्थामा परीक्षामा सामेल हुन नपाउने धम्की दिएका कारण विद्यार्थीलाई चौतर्फी दवाव परेको छ । तोकेको तिर्ने की पढाई छोडेर घर फिर्ने ? भनेर नोबेल कलेजको प्रशासनले भनेपछि हामी बोल्न सकिरहेका छैनौं, अर्का विद्यार्थीले गुनासो गर्दै भने–सञ्चारमाध्यले सहयोग गर्दा सरकारले हस्तक्षेप गर्छ की भन्ने अपेक्षा छ ।
नोबेल मेडिकल कलेजका प्रिन्सिपल डाक्टर रामहरी घिमिरेले मिडियासँग गुनासो गर्ने विद्यार्थीहरुलाई आफ्नो सम्पर्कमा पठाई दिन आग्रह गरेका छन् । उनले सुरु भर्नाको समयमा विद्यार्थीसँग गरिएको सम्झौताका आधारमा जरिवाना लिएको प्रतिक्रिया दिएका छन् ।

‘इन्स्टलेशन’ कसरी बुझाउने भन्ने शर्त सुरु भर्नाको समयमै विद्यार्थीसँग करार गरिएको हुन्छ, प्रिन्सिपल घिमिरेले भने–त्यो सम्झौता अनुसार विद्यार्थीले रकम नबुझाएको अवस्थामा जरिवाना लाग्छ । तर, विद्यार्थी पिच्छे फरक–फरक बार्गेनिङ नभएको दावी गरे । यो एक व्यक्ति (सुनिल शर्मा) को लगानीको कलेज हो, प्रिन्सिपल घिमिरेले भने–यस्तोमा विद्यार्थीसँग भएको सम्झौता अनुसार नै शुल्क बुझाउनु पर्दछ नत्र जरिवाना लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्