विराटनगर विमानस्थलमा तीनअर्ब लागतमा अत्याधुनिक टर्मिनल भवन बन्दै

विराटनगर विमानस्थलमा तीनअर्ब लागतमा अत्याधुनिक टर्मिनल भवन बन्दै

विराटनगर । विराटनगर विमानस्थलमा अत्याधुनिक र व्यवसायिक नयाँ टर्मिनल भवन निर्माण गरिने भएको छ । विमानस्थल विस्तारपछि आवश्यक पर्ने टर्मिनल भवन पहिलो चरणमै निर्माण गरिने भएको हो ।

विमानस्थल विस्तारका लागि जग्गा अधिग्रहणका लागि प्रारम्भिक प्रक्रिया अगाडी बढिसकेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण राष्ट्रिय गौरव आयोजनाका निर्देशक एवं एयरनोटिकल इन्जिनियर विभागका प्रमुख प्रदिप अधिकारीले नयाँ टर्मिनल भवनको डिजाइन तयारी अवस्थामा रहेको बताउनुभयो । डिजाइनको आवश्यक पूर्व मूल्यांकनको लागि सूचना समेत प्रकाशित गरिएको इन्जिनियर अधिकारीले जानकारी दिनुभयो ।

तीनअर्ब लागतमा साविक विमानस्थलको कार्यालय उत्तरतर्फको जग्गामा निर्माण गरिने भवन डोमेस्ट्रिकसँगै अन्तराष्ट्रिय उडान सुरु हुँदा प्रयोग गर्न मिल्ने हुनेछ । यसलाई विमानस्थलको प्रशासनिकसँगै विमानस्थल क्षेत्रको व्यवसायिक कारोबारको उद्देश्य अनुरुप निर्माण गरिने अधिकारीको दावी छ ।
इन्जिनियर अधिकारीका अनुसार १६ हजार २७७.८२८ वर्गमिटर क्षेत्रफलमा बन्ने भवनको भुँईतला ८ हजार ९७५.६९ वर्गमिटरको हुनेछ । त्यसमा १७ वटा टिकेट काउन्टर, २४ वटा पसल, चारवटा रेष्टुरेन्ट, मिडिया कन्फरेन्स हल, तीनवटा भीआईपी कक्ष र बालउद्यान, मातृशिशु कक्षसहितको सुविधा सम्पन्न हुनेछ ।

सरकारले गत कार्तिक २७ गते विमानस्थल विस्तारका लागि आवश्यक पर्ने १२६.४६ बिघा जग्गा अधिग्रहण गर्ने निर्णय गरेसँगै प्रारम्भिक रुपमा काम अगाडी बढिसकेको छ ।
प्राधिकरणले दशवर्ष भित्रमा विराटनगर विमानस्थललाई दुईहजार ५०० सय मिटरमा विस्तार गर्ने लक्ष्य राखेको छ । त्यसका लागि जग्गा बाहेक १३ अर्ब रुपिँया लागत अनुमान गरिएको छ । सन् २०२०–२०२३ सम्ममा टर्मिनल भवन र रन–वे स्ट्रिप विस्तारका लागि चार अर्ब खर्च हुने अनुमान गरिएको छ । यसैगरी २०२४–२०२६ मा वास्ता –पानी ढलो) तीन किलोमिटर डाइभर्सन र एप्रोज लाइट व्यवस्थापन लगायतका लागि २ अर्बको खर्चने अनुमान गरिएको छ । २०२७–२०३० मा ७ अर्ब बराबरको थप संरचना निर्माण गरिनेछ ।

सरकारको निर्णय अनुसार तीन हजार मिटरमा विस्तारका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण अहिले नै गरिनेछ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले विमानस्थल विस्तारका लागि भए÷गरिएका प्रारम्भिक कामको विवरण शुक्रबार बुझ्दै आवश्यक प्रक्रियामा ढिलासुस्ती नगर्न निर्देशन दिनुभएको छ ।
त्यसक्रममा विराटनगर विमानस्थलका प्रमुख उत्सव प्रसाद खरेलले नापी कार्यालय मोरङले जग्गा अधिग्रहणको लागि आवश्यक पर्ने कामहरु धमाधम भईरहेको बताउनुभयो ।

साविक विमानस्थलाई विस्तारका लागि पूर्वतर्फ ७.८३ बिघा, पश्चिमतर्फ ६९.१४ बिघा, उत्तरतर्फ ३५.८१ बिघा र दक्षिणतर्फ ८.८७ बिघा तथा सडकका लागि ३.७० बिघा जग्गा अधिग्रहण गर्नुपर्ने यकिन गरिएको छ ।
क्षेत्रीय तथा अन्तराष्ट्रिय विमानस्थल विस्तारका लागि केन्द्रीय सरकारको ५० प्रतिशत, प्रदेश सरकारको ४० प्रतिशत र स्थानीय सरकार विराटनगर महानगरपालिकाको १० प्रतिशत लागत साझेदारी अवधारणा छ । रन–वेलाई ३ हजार मिटरमा विस्तारका लागि विराटनगर महानगरपालिका र सुनसरीको बर्जु गाउँपालिका–३ र ६ नम्बर वडाको १२६.४६ बिघा जग्गा अधिग्रहणका लागि प्रारम्भिक प्रक्रिया सुरु भईसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्