अमेरिकी राष्ट्रपति ट्रम्पको ट्वीटर खाता सधैँका लागि बन्द

अमेरिकी राष्ट्रपति ट्रम्पको ट्वीटर खाता सधैँका लागि बन्द

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर खाता सधैँका लागि बन्द भएको छ । ट्वीटर सञ्चालक कम्पनीले ‘एटदरेटरियलडोनाल्डट्रम्प’ नामक उहाँको खाता सधैँका लागि बन्द गरिदिएको घोषणा गरेको हो ।
उहाँको ट्वीटर खाताबाट हिंसा फैलिने खतरा भएकाले हटाइदिएको कम्पनीका अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।

ट्वीटरको भिडियो सम्वन्धी नीति विपरितको भिडियो उहाँले राखेकाले उहाँको खाता हटाउन बाध्य भएको कम्पनीको भनाई छ । अमेरिकाको संसदमा उहाँका समर्थकहरुले गरेको हिंसात्मक घटनासम्वन्धी भिडियो उहाँले ट्वीटरमा राखेपछि उहाँको सर्वत्र आलोचना भएको थियो । उहाँले हिंसा मच्चाउनेलाई देशभक्तको संज्ञा दिएपछि उहाँविरुद्धको आक्रोस थप बढेको थियो ।

ट्वीटरमा उहाँले राखेको भिडियो हटाउन सर्वत्र दवाव आएपछि ट्वीटरले सुरुमा भिडियो हटाइदिएको थियो । त्यसपछि पनि उहाँले ट्वीटरको दुरुपयोग गरेको भन्दै ट्वीटरले उहाँको खाता केही समय बन्द गरिदिएको थियो । अहिले भने सधैँका लागि बन्द गरिदिएको हो ।

राष्ट्रपति ट्रम्पले राज्यशक्तिको दुरुपयोग गरेको र लोकतन्त्रलाई खिल्ली उडाएको भन्दै धेरैले आलोचना पनि गरेका थिए । अमेरिकाका केही सांसद र चर्चित व्यक्तिहरूले ट्रम्पको खातामाथि प्रतिबन्ध लगाउन वर्षौंदेखि माग गर्दै आएका थिए ।

बिहीवार पूर्व राष्ट्रपति बराक ओबामाकी श्रीमती मिसेल ओबामाले ट्विटरले ट्रम्पको “राक्षसी व्यवहार“ माथि रोक लगाउनुपर्ने र उनलाई स्थायी रूपमा निष्कासित गर्नुपर्ने बताउनु भएको थियो । अमेरिकी संसद्ले राष्ट्रपतीय निर्वाचनमा जो बाइडेनको जितलाई औपचारिकता दिने प्रक्रिया अगाडि बढाइरहेका बेला ट्रम्पका सयौँ समर्थकहरूले संसद भवनमा प्रवेश गरेर हिंसा मच्चाएका थिए । हिंसामा परी चारजना सर्वसाधारण र एक प्रहरी अधिकारीको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्