नाका खुल्दा पर्यटन व्यवसायी खुशी

नाका खुल्दा पर्यटन व्यवसायी खुशी

विराटनगर । कोरोना संक्रमणका कारण लामो समयसम्म बन्द नेपाल–भारत सीमा क्षेत्र विराटनगरको रानी नाका खुलेसँगै पूर्वका पर्यटन व्यवसायी उत्साहित बनेका छन् । सीमा नाका बन्द हुँदा छिमेकी भारतको बिहार, बंगाल, सिक्किमबाट नेपालमा घुम्न आउने पर्यटक प्रभावित भएको भन्दै गुनासो गरिरहेका होटल व्यवसायीहरु उत्साहित भएका हुन् ।

जोखिमकै कारण सरकारले लामो समयसम्म नाका खोल्न सकेन, होटल एशोसिएशन नेपालका प्रदेश १ अध्यक्ष राजन श्रेष्ठले भन्नुभयो–बल्ल अलिक सास फेर्न सक्ने अवस्था भयो । उहाँका अनुसार दैनिक विराटनगरको रानी (जोगबनी), पशुपतिनगर, काकडभिट्टा नाका हुँदै नेपाल प्रवेश गर्ने पर्यटकको भरमा चलेका होटलहरु यसबीचमा निक्कै प्रभावित बनेका थिए । सरकारको निर्णयसँगै पर्यटन क्षेत्र पुनः लयमा फर्कनेमा अध्यक्ष श्रेष्ठको विश्वास छ ।

प्रदेश १ मा घुम्न आउनेमध्ये ७० प्रतिशत पर्यटक भारतीय रहेकोले सीमा जोडिएका जिल्ला मात्रै नभई पहाडी तथा हिमाली क्षेत्रका जिल्लामा सञ्चालित होटल व्यवसायमा समेत प्रभाव परेको व्यवसायीहरु बताउँछन् । पर्यटन वर्ष २०२० लक्षित होटल व्यवसाय क्षेत्रमा लगानी गरेका व्यवसायीहरुको पीडा सहनै नसक्ने अवस्थामा पुगिसकेको बेला मुख्य नाका रानीबाट आवात–जावत खुल्दा धेरै राहत हुने व्यवसायीहरुको बुझाई छ ।
सरकारले नाकाबाट आवात–जावत खुल्ला गरेपनि त्यसमा राखिएको प्रोटोकलले केहि समस्या हुनसक्ने भन्दै व्यवसायीहरु सशंकित समेत बनेका छन् । प्रवेशाज्ञा लिनुपर्ने प्रावधान अझै कायम रहेको बताउँदै पर्यटकीय दृष्टिकोणले आउने पाहुनाका लागि सीमा क्षेत्रमै सहजीकरण हुनुपर्ने माग गरिएको छ ।

सरकारले भारतबाट नेपाल प्रवेश गर्नेहरुले सीसीएमसीबाट स्वीकृति लिनुपर्ने प्रावधान राखेको छ । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी धु्रव खड्काका अनुसार नयाँ प्रजातिको कोरोना भएको देशबाट नेपाल आउनेहरुले ७२ घण्टा अवधीको पीसीआर परीक्षण रिपोर्ट अनिवार्य लिएर आउनुपर्नेछ ।

त्यस बाहेक भारतबाट नेपाल आउनेहरुले पनि सीसीएमसीबाट प्रवेशाज्ञा अनुमति लिनुपर्ने प्रावधान रहेको सहायक प्रमुख जिल्ला अधिकारी खड्काले बताउनुभयो । अनियन्त्रित खुल्ला हैन, व्यवस्थित खुल्ला मात्रै हो, खड्काले भन्नुभयो–एकै पटक ह्वारह्वार्ती आउन र जान दिने कुराले असहज बनाउन सक्ने संभावनालाई समयमै ख्याल गर्नुपर्ने प्रावधान राखिएका छन् ।
विराटनगर भन्सार आईसीपी क्षेत्रबाट सञ्चालनमा आएसँगै साविक विराटनगर भन्सार कार्यालयबाट भारतको जोगबनी जोडिने नाकाबाट सामान्य स्थलगत आवतजावत मात्रै हुँदै आएको थियो । सरकारले मालवहाक सवारीलाई रोक लगाएको थिएन तर यात्रु वहाक सवारीलाई रोक लाग्दै आएको थियो । यसको असर नेपाल घुम्न आउने पर्यटक रोकिँदा होटल व्यवसायमा देखिदैं आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्