पहिलो किरणसंग सुरू भएको
दिनको पहिलो कक्षा
सायद सूर्यको लाली झै
छर्न चाहान्थ्यो,
आशाका गुलाबी रंग
विषय “लैंगिक हिंसा न्यूनीकरण”।
सधै समानता सुन्न मनपराउने
मेरा कान,
अनि असमानताका गनथन गर्ने
मेरो मन,
प्रफूल्लै भयो।
बुरूक्कै उफ्रियो।
करगं र छालामा बेरिएको नहूदो हो त
खरायो भन्दा छिट्टो दगुर्ने थियो होला,
र नाच्ने थियो,
आफ्ना मयूरी पंख फिजाई,
आफ्नै रनवनमा।
२ घण्टाको छलफल
सूर्य निकै माथी आईसकेको थियो
र विलाउदै थिए
उसका चर्कदा प्रकाश संगै
मेरा आशाका गुलाबी रंग।
सायद,
मेरा लागी समेटिएका रणनिति नभेटेर होला।
सायद,
प्रकाश र अन्धकारबिच रूमलिएको,
दिन र रातको समानतामा हराएको,
मेरो सरकार
मेरो सरकारले त्यसबिच थिचलिएको,
झिसमिसे र मिर्मिरे नदेखेर होला।
देखेन उसले,
घाम र वर्षातबिच चेपिएको ईन्द्रेणी
सुनेन उसले,
गिज्याईएका हासोबिच बजेको थपडी
समेटेन उसले,
महिला र पुरूष बिच अलमलिएको विकल्प
अन्तत:
अघि खरायो बनि दगुरेको मेरो मन
अहिले,
पानीमा रूझेको छाउरोझै
ओत खोज्दै छ ,
न्यानो कलेजो छेउ।
ए सरकार!
अगेनोको छेउमा तिम्रा पहिलो र दोस्रोलाई नै राखौला
तर,
कम से कम
भान्साको एउटा कुना त हामीलाई देउ।
-मधु खतिवडा