नवराज कट्टेल
विराटनगर । बिद्यालय क्षेत्र सुधार योजना (हाल विद्यालय क्षेत्र विकास कार्यक्रम) अनुसार प्रत्येक कक्षा कोठाका ‘किताब कुना’ ५० प्रकारका पुरक पाठ्य सामाग्रीले भरिनुपर्ने हुन्छ । विद्यार्थीको आधारभूत पढाई सीप विकासका लागि सामुदायिक विद्यालयमा कक्षा १२ सम्म किताब कुना स्थापना गर्ने उद्देश्य सरकारको हो ।
तर, मोरङको जहदा गाउँपालिका भित्र विद्यालयका कक्षा कोठामा स्थापना गरिएका किताब कुनामा भने प्रशस्त पुस्तक छैनन् । दाताको सहयोगमा गाउँपालिका भित्रका ३० मध्ये २८ विद्यालयका कक्षा १–३ सम्म बल्लतल्ल स्थापना गरिएका किताब कुना पनि व्यवस्थित र पूर्ण नभएको हुन् । कक्षा ४ देखि माथिका कुनैपनि कक्षामा स्थापना गर्नुपर्ने किताब कुनाको भने अत्तोपत्तो नै छैन ।
जहदा गाउँपालिका–१ धुनीस्थित जनता बाल आधारभूत विद्यालय जिल्लाकै उत्कृष्ट व्यवस्थापन भएको विद्यालयमा पुरस्कृत हुँदै आएको छ । स्थानीय तहर्मा समेत उत्कृष्ट मानिएको जनता बालको कक्षा १–३ सम्म किताब कुना स्थापना त गरिएको छ, तर नितीगत उद्देश्य अनुरुपका पुरक पाठ्य सामाग्री छैनन् ।
विद्यालयका प्रध्यानाध्यापक विरेन्द्रकुमार मण्डलका अनुसार कक्षा १–३ मा १३३ जना विद्यार्थी रहेका छन् । यी विद्यार्थीका लागि कक्षा कोठामा स्थापना गरिएको किताब कुनामा २५–३० प्रकारका मात्रै सन्दर्भ सामाग्री राख्न सकिएको हो । जनताको कक्षा १–८ मा ३८९ जना विद्यार्थी अध्ययनरत छन् । उनीहरुका लागि अतिआवश्यक पर्ने अन्य व्यवस्थापनका लागि पनि रकम व्यवस्थापन गर्नुपर्ने हुँदा किताब कुना स्थापना शिर्षकमा आएको रकम खर्च गर्नुपर्ने बाध्यता छ । तर, कतिपय पुस्तक चाँहि च्यातिएका छन् र कतिपय विद्यार्थीले बोकेर घरै लाने गर्दछन्, प्रअ मण्डलले भन्नुभयो–गतवर्ष ५० प्रकारकै पुुस्तक थिए ।
जहदा गाउँपालिका–४ अन्तर्गतको लक्ष्मी आधारभूत विद्यालयको किताब कुनामा १५–२० प्रकारका मात्रै पुरक पाठ्य सामाग्री रहेका छन् । विद्यालयका प्रध्यानाध्यापक चन्द्रप्रसाद मण्डलका अनुसार कक्षा १–३ मा १२५ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।
विद्यालयहरुले पुरक पाठ्य सामाग्री खरिदका लागि अनलाइन किताब बजारलाई भर्खरै प्रयोग गर्न थालेका छन् । कक्षा कोठामा स्थापना गरिएको किताब कुनामा भएका यस्ता पुरक पाठ्य सामाग्रीमध्ये कतिपय त विद्यार्थीले घरै लिएर जाने र कतिपय च्यातिने गरेपनि पुनः खरिद गरेर भर्नुपर्ने दायित्व विद्यालय प्रशासनले बिर्सने गरेको छ ।
सरकारले २०६६ सालमा विद्यालय क्षेत्र सुधार योजना अगाडी सार्दै यसको नितीगत ढाँचा तयार गरेर कार्यन्वयन (२०६६–२०७२) अगाडी बढाएको थियो । हाल त्यहि कार्यक्रमलाई विद्यालय क्षेत्र विकास कार्यक्रम (२०७३–२०८०) को रुपमा अगाडी बढाइँदै आएको छ ।
प्रतिविद्यार्थी लागतका आधारमा आधारभूत विद्यालयतर्फ १५०, कक्षा ९ र १० तर्फ २०० र ११ र १२ का विद्यार्थीका लागि २५० रुपिँयाका दरले कक्षा कोठामै किताब कुना स्थापनाका लागि शिक्षा विभागले रकम बिनियोजन स्थानीय तहमा गर्दछ ।
प्रतिविद्यार्थी लागतको हिसाबले किताब कुना स्थापनाका लागि आएको रकम स्थानीय तहदेखि विद्यालय व्यवस्थापन समिति र प्रशासनले फरक शिर्षकमा खर्च गर्दा सरकारकै लक्ष्य अनुसारको कक्षा कोठा स्थापना अलमलमा परेको हो । कक्षा १२ सम्मका कक्षा कोठामा विद्यार्थीको आधारभूत पढाई सीप अन्तर्गतको अक्षर चिनारी, ध्वनी संचेतीकरण, शब्द भण्डार, पठनवेग र बोध गराउने उद्देश्य राखेर किताब कुनालाई अनिवार्य गरिएको थियो । त्यसका लागि ५० प्रकारका पुरक पाठ्य सामाग्री कक्षा कोठामा संग्रह गरिने उद्देश्य भएपनि त्यस अनुरुप अहिलेसम्म प्रायः विद्यालयले किताब कुना स्थापना गरेको देखिदैन ।
विद्यालय क्षेत्र सुधार योजना अनुरुप विद्यालय परिसरमा पाँच क्षेत्र सुधार गरिने उल्लेख छ । उपयुक्त कक्षा कोठा, शिक्षक–विद्यार्थी उपयुक्त अनुपात, निःशुल्क पाठ्यपुस्तक, बालबालिकाका लागि विद्यालयमा शौचालय र कक्षा कोडामा पुस्तक कुना स्थापना छन् । यी पाँच क्षेत्र सुधारका लागि प्रतिविद्यार्थी लागतका हिसाबले बजेट आउने गरेको हो ।
जहदा गाउँपालिका शिक्षा शाखाका प्रमुख दिपक खनालका अनुसार चालु आर्थिक वर्षमा विद्यालय क्षेत्र सुधार योजना अनुरुप चार करोड ७१ लाख रुपिँया बजेट प्राप्त भएको थियो । जसमध्येको रकम बाल विकास केन्द्रका प्रतिविद्यार्थी ५०० सयका खर्च गरिएको छ । जहदाले समयभित्रै निःशुल्क पाठ्य पुस्तक विद्यार्थीको हातमा पु¥याउन ४० लाख ३२ हजार, विद्यालयको संरचना निर्माणतर्फ ५० लाख, सेनेटरी प्याडतर्फ २१ लाख र छात्रवृत्तितर्फ २१ लाख ५० हजार खर्च गरेको जानकारी दिइएको छ ।
शाखा प्रमुख खनालका अनुसार गाउँपालिकाका भित्रका ३० मध्ये २८ विद्यालयको कक्षा १–३ मा पुस्तक कुना स्थापना गरिएको छ । तीमध्ये सात विद्यालयले मापदण्ड अनुसार स्थापना गरिएकामा पनि तीन विद्यालय उत्कृष्ट सूचिमा रहेका छन् । जसमध्ये जहदा–१ को जनता, जहदा–४ को लक्ष्मी र सरस्वती आधारभूत विद्यालय हुन् । तर, उत्कृष्टमा परेका विद्यालयमा समेत प्रशस्त पुस्तक भने कक्षा कोठाको किताब कुनामा राखिएको छैन ।