विप्लव शान्तिपूर्ण राजनीतिमा, प्रतिबन्ध हटाउने सहमति

विप्लव शान्तिपूर्ण राजनीतिमा, प्रतिबन्ध हटाउने सहमति

विराटनगर । सरकार र नेत्रबिक्रम चन्द विप्लवबीच तीन बुँदे सहमति भएसँगै भूमिगत रुपमा आन्दोलनमा रहेको विप्लव समूह खुल्ला तथा शान्तिपूर्ण राजनीतिमा फर्कने भएको छ । सरकारी वार्ता टोलिका संयोजक गृहमन्त्री रामबहादुर थापा र विप्लव समूहका वार्ता संयोजक खड्गबहादुर विश्वकर्माबीच बिहीबार तीन बुँदे सम्झौता भएको हो ।

सम्झौताको विस्तृत विवरण शुक्रबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवले एउटै मञ्चबाट सार्वजानिक गर्ने तयारी भएको छ । दुवै नेताले संयुक्त सम्बोधन गर्दै विशेष समारोहलाई प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवले सम्बोधन गर्न लागेका हुन् । सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईका अनुसार राष्ट्रिय सभागृहमा विशेष समारोह आयोजना हुनेछ । सोही समारोहबाट सहमतिको विस्तृत विवरण सार्वजनिक गरिने छ ।

बिहीबारको वार्तापछि सरकारी वार्ता टोलीका संयोजक एवम् गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव समूहको वार्ता टोली संयोजक एवम् प्रवक्ता खड्कबहादुर विश्वकर्माले हस्ताक्षर गरेको संयुक्त प्रेस नोट सार्वजनिक भएको छ । प्रेस नोटमा सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति पत्रमा हस्ताक्षर भएको उल्लेख छ । विप्लव नेतृत्वको नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सन्चालन गर्ने उल्लेख छ । साथै सरकारले विप्लव समूहमाथि लगाएको प्रतिबन्ध हटाउने सहमति पनि भएको छ । बिद्रोही राजनीतिमा लागेको भन्दै सरकारले विप्लव समूहमाथि २८ फागुन २०७५ मा प्रतिबन्ध लगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्