काँग्रेस ‘पार्लीयामेन्ट पोजिसन’ मा छैन : प्रकाशमान सिंह

काँग्रेस ‘पार्लीयामेन्ट पोजिसन’ मा छैन : प्रकाशमान सिंह

विराटनगर । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो पार्टी ‘पार्लीयामेन्ट पोजिसन’ मा नभएका कारण प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने भूमिका निर्वाह गर्न असक्षम रहेको बताउनु भएको छ । नेपाल प्रेस यूनियन मोरङद्वारा बिहीबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा आफ्ना धारणा राख्दै नेता सिंहले सरकार स्पष्ट बहुमतको रहेका कारण काँग्रेसले विपक्षीको भूमिका मात्रै निर्वाह गर्नसक्ने बताउनु भएको हो ।

माओवादीले समर्थन फिर्ता लिए मात्रै पनि काँग्रेसले सोचेजस्तो हुने बताउँदै नेता सिंहले प्रधानमन्त्रीले विश्वासको मत लिने समयमा काँग्रेसले समर्थन नगर्ने बताउनुभयो । तर, अविश्वासको प्रस्ताव फरक कुरा हो, प्रधानमन्त्रीसँग नैतिकता भए राजीनामा दिनुपर्ने थियो ।
प्रधानमन्त्रीले आफैंले चालेको कदम असंवैधानिक भएपछि नैतिकताको आधारमा राजीनामा दिनुपर्ने हो, नेता सिंहको तर्क थियो–प्रधानमन्त्री भनौ या कम्यूनिष्टसँग नैतिकताको ‘न’ पनि रहेनछ ।

संविधानलाई संस्थागत गर्ने एजेण्डासहित दुईवटा वामपन्थी दलबीचको चुनावी एकता बिफल हुनुको मुख्य कारण भागबन्डा रहेको बताउँदै नेता सिंहले नागरिकमाथि धोका दिने वामपन्थी दलहरुसँग राजनीतिमा नैतिकता हुन्छ भन्ने थाहा नपाएको आरोप लगाउनुभयो ।
भागबन्डा मिल्दासम्मको एकता त्यो नमिल्दा भाँडियो, नेता सिंहले भन्नुभयो–संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा सरकार असफल भईसकेको छ । उहाँले प्रधानमन्त्री शक्तिशाली हुने मनसाय राखेका कारण पार्टी भित्रको विवाद व्यवस्थापन हुननसक्ने बिन्दुमा पुगेको दावी गर्नुभयो ।

उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेका प्रत्येक असंवैधानिक कदमको विरोधमा काँग्रेस रहने बताउँदै संवैधानिक निकायमा भएका नियुक्ति समेत मान्य नहुने बताउनुभयो । काँग्रेसले संसद बिघटनलाई असंवैधानिक भनेको बताउँदै व्यक्तिगत रुपमा पार्टी सभापतिले बोकेलेका कुराले फरक नपर्ने उहाँको धारणा थियो । सभापतिको कुरा उहाँलाई नै सोध्नुपर्छ, नेता सिंहले भन्नुभयो–काँग्रेस लोकतन्त्र रक्षाका लागि संविधानको संरक्षणको पक्षमा उभिन्छ ।

काँग्रेसले समय परिपक्क भएपछि मात्रै राजनीतिक निर्णय गरेर अगाडी बढ्ने बताउँदै नेता सिंहले अहिले नै अविश्वासको प्रस्ताव दर्ता गराउन संसदभित्र स्पष्ट मत जाहेर भईनसकेको बताउनुभयो । तर, मुख्य तीन दलबीचको सहकार्यबाट नयाँ सरकार बनाउने अवस्था देखिएको अवस्थामा काँग्रेसले अगाडी बढ्नुपर्छ भन्ने सुझाव आफूहरुले सभापतिलाई दिईसकेको नेता सिंहको तर्क थियो ।
अर्को एक प्रसङ्गमा नेता सिंहले १४ औं महाधिवेशनमा आफू साझा उमेद्वारको रुपमा सभापतिमा अगाडी सर्ने बताउनुभयो । ‘ग्राउण्डदेखि पार्टीको नेतृत्वमा विकसित हुँदै आएको हुँ, मैले मात्रै साझा नेतृत्वको प्रतिनिधित्व गर्नसक्छु’ नेता सिंहले भन्नुभयो–विचार र राय मिल्ने पक्षबीचको एकता गरेर महाधिवेशनमा सभापतिको उमेद्वारी दिनेछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्