विराटनगर । सप्तकोशी नदिमा स्टिमर सञ्चालनमा आएसँगै होटल व्यवसायी सुष्मा राईको दैनिकी फेरिएको छ । आम्दानीसँगै फेरिएको दैनिकी सप्तकोशीको जल यातायातमा रमाउन आउनेहरुलाई मिठो खुवाएर स्वागत गर्नेमा रुपान्तरण भएको हो ।
विराटनगर, धरान, इटहरीका साथै भारतबाट पर्यटकहरू जलयात्रामा रमाउन सप्तकोशी पुग्छन् र उनको होटलमा खाजानास्ता गर्दछन् ।
सुष्मा जस्तै पसल सञ्चालन गर्दै आएकी सरीता श्रेष्ठले दैनिक २० देखि ३० हजारसम्मको बिक्री हुने गरेको सुनाईन् । खर्च कटाएर हुने मुनाफाले सरीतालाई सप्तकोशीको तटीय क्षेत्र अहिले फापेकै छ ।
शनिबार र शुक्रबार घुम्नका लागि कर्मचारी, विद्यार्थी पुग्छन् । बाक्लो उपस्थितिसँगै बढ्ने चहलपहलले साना व्यवसायीहरुलाई जीविकोपार्जनको माध्यम देखाईदिएको छ । सुनसरीदेखि भोजपुर जाने स्थानीय सामान ढुवानी गर्ने गरि आउजाउ गरिरहन्छन् । जसका कारण स्टिमरले सप्तकोशीको तटिय क्षेत्रलाई क्रमशः बजारमा रुपान्तरण गरिरहेको छ ।
पछिल्लो समय चर्चामा रहेको खुवालुङ क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न सके आन्तरिक साथै बाहृय पर्यटकहरू भित्र्याउन सकिने स्थानीय व्यापारीहरूको बुझाइ छ।
भोजपुर हतुवागढी हसनपुरका रुद्र खनाल स्टिमरले सहज बनाएको दैनिकीलाई फेहरिस्तमा वर्णन गर्दछन् । विगतका दैनिकी स्मरण गर्दै उनले गर्ने वर्णन एकादेशको कथा झैं लाग्दछ ।
उनले भने–सुनसरीबाट पैदल हिँड्दा घर पुग्न पाँच घण्टा लाग्थ्यो। साँघुरो भीरको गह्रौं भारी बोकेर नदीको किनार पछयाउँदै हिँड्नु रहरभन्दा ठूलो बाध्यता थियो । पछिल्लो समय पैदल हिँड्दा पाँच घण्टा लाग्ने बाटो सप्तकोसीमा पानीजहाज (स्टिमर) सञ्चालन भएसँगै चतराघाटदेखि अरुण नदीको संगम हुँदै १५ मिनेटमा नै पुगिन्छ ।
हतुवागढी पुग्दा पाँच सय भाडा तिर्न पर्ने भए पनि गन्तव्य सहज र छिटो पुग्ने भएकाले पैसाभन्दा समय महत्व हुन थालेको उनले बताए। सप्तकोसीमा यसखाले स्टिमर सञ्चालनमा आएसँगै स्थानीयलाई यात्राका लागि सहज भएको छ ।
तर, पछिल्लो समय खुवालुङ विवादले अलमल पनि बढाएको छ । किरातहरूको धार्मिक आस्थासँग जोडिएको खुलालुङ क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रमा विकास गर्न सके बराहक्षेत्रजस्तै थप धार्मिक पर्यटकीय गन्तव्य बन्न सक्ने खनालको सुझाव समेत छ ।