सप्तकोशीको ‘खुवालुङ’ भ्रम चिर्न मुख्यमन्त्री राई स्थलगत अवलोकनमा

सप्तकोशीको ‘खुवालुङ’ भ्रम चिर्न मुख्यमन्त्री राई स्थलगत अवलोकनमा

नवराज कट्टेल

विराटनगर । धनकुटाको शहिदभूमि गाउँपालिका–१ सिम्ले, वडा नम्बर २ को त्रिवेणी र साँघुरीगढी गाउँपालिका–१ साङ्कामा तथा उदयपुरको बेलका–७ आमनेसामनेमा पर्दछन् । धनकुटाका तीन क्षेत्र र उदयपुरको बेलका–७ लाई केन्द्र भाग बनाएर सप्तकोशी नदी बग्दछ । नदीको बीचमा रहेको ढुङ्गालाई किराँत धर्मालम्बीहरुले आफ्नो मुन्धुम संस्कार अनुसार खुवालुङको रुपमा ‘भाक्ने’ गर्दछन् ।

यहि खुवालुङ क्षेत्र भनेर चिनिने विषय अहिले विवाद र चर्चामा छ । हेर्दा सामान्य लाग्ने सप्तकोशी नदी बीच भागको ढुङ्गा किराँत धर्मालम्बीहरुको आस्थासँग जोडिएको छ । सरकारले उक्त खुवालुङलाई हटाउने निर्णय गरेको भन्दै विरोधका स्वर बलियो भएपछि मंगलबार प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईसहितको टोलिले स्थलतगत अवलोकन गरेको छ ।
मुख्यमन्त्रीसँगै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेल, मोरङ, सुनसरी, उदयपुर र भोजपुरका प्रमुख जिल्ला अधिकारी, प्रदेश प्रहरी कार्यालयका डिआईजी इश्वरबाबु कार्कीसहितको टोलि खुवालुङ क्षेत्रको अवलोकनका लागि पुगेर स्थानीयवासीलाई आश्वास्त पारेर फर्केको छ ।

सरकारले खुवालुङ हटाउँदै छ भनेर गलत प्रचार गरियो, मुख्यमन्त्री शेरधन राईले किराँत राई यायोख्खाको केन्द्रीय समितिसहित भोजपुर, उदपयुर धनकुटा, सुनसरी र मोरङबाट भेला भएका किराँत यायोख्खाका अगुवा तथा जानकारसँग मंगलबार त्रिवेणी क्षेत्रमा पुगेर आश्वास्त पार्दै भन्नुपर्यो ।
जलयातायात सञ्चालन आएसँगै उक्त ढुङ्गाको कारण त्यस क्षेत्रमा स्टिमर सञ्चालनका लागि समस्या पर्दै आएको गुनासो थियो । कोशी कटान क्षेत्र नियन्त्रणका लागि लगानी प्राधिकरणमार्फत डोर–वे इन्टरनेशनले प्रारम्भिक अध्ययन सुरु गरेपछि उक्त ढुङ्गाको विषयलाई लिएर एकाएक विवाद सिर्जना भएको हो ।

प्रारम्भिक अध्ययनमा संलग्न डोर–वे इन्टनेशनका विपुलराज पाण्डेका अनुसार त्रिवेणी क्षेत्रमा हुनसक्ने कटानमा उक्त ढुङ्गा बाधक बनिरहेको छ, भनेर स्थानीयवसीसँग त्यस क्रममा सोधखोज गरिएको थियो । त्यहि विषयलाई केन्द्रीत गरेर सरकारले र खासगरी प्रधानमन्त्री केपी शर्मा ओलीले ढुङ्गा फुटाउन लागेको गलत प्रचारबाजी सुरु भएको थियो ।
विज्ञ एवं डोर–वे इन्टरनेशनलका पाण्डेका अनुसार नदीको मध्यभागमा रहेको खुवालुङलाई संरक्षण गरेरै दुवै भागबाट जलयातायातका साधान सञ्चालन गर्न सकिन्छ । जलयातायातका लागि २० फिट चौडाईको जलसतहमा पाँच फिट गहिराई रहे कुनैपनि समस्या नहुने पाण्डेले जानकारी दिनुभयो । त्यसका लागि उदयपुरको बेलका–७ तर्फको भू–भागतर्फ नदिको वहावलाई केहि धकेल्न सक्ने संभावना रहेको पाण्डेले बताउनुभयो ।

सरकारले चतरादेखि दोलालघाटसम्म जलयातायातको संभाव्यताको प्रारम्भिक अध्ययन समेत गर्ने तयारी गरेको छ । कटान क्षेत्रको जोखिम बारे प्रारम्भिक अध्ययन गरिरहेको डोर–वे इन्टरनेशनले जलयातायातका लागि आवश्यक पर्ने जलसतहको समेत परीक्षण गरिरहेको छ । इन्जिनियर पाण्डेका अनुसार हालसम्म सप्तकोशी नदीको ३० किलोमिटर क्षेत्रमा डोर–वे इन्टरनेशनलले कटान क्षेत्र र जलयातायातका लागि आवश्यक जलसतहको समेत प्रारम्भिक अध्ययन भने सुरु गरेको छ ।

खुवालुङको तटिय क्षेत्र अन्गर्तत धनकुटाको शहीदभूमि गाउँपालिका–१ सिम्लेमा २० घर, यसैगरी धनकुटा शहिदभूमि गाउँपालिका–२ त्रिवेणीका २० घर र धनकुटा साँघुरिगढी गाउँपालिका–१ साङ्कामा २० घर स्थानीयको बसोबास रहँदै आएको छ ।
जलयातायातका लागि चल्ने स्टिमरको उद्गम सुनसरी बराहक्षेत्र–१ चतरादेखि भोजपुरको हतुवागडी–९ कोप्चे(हलेदे) गन्तव्य छ । चतरादेखि कोप्चेसम्मको २२ किलोटिमर दुरी पर्दछ । सप्तकोशी टुरिजम एण्ड वाटर ट्रान्सपोटेसनका निर्देशक राजेन्द्र कार्कीका अनुसार खुवालुङको रुपमा रहेको ढुङ्गाकै कारण जलयातायात सञ्चालनमा समस्या छैन । मध्यभागमा रहेको ढुङ्गाका कारण पानीको वहाव एकातर्फ एकोहोरिदाँ दुर्घटनाको संभावित जोखिम भने छ ।

दुधकोशी, अरुण र तमोर जोडिएको शहिदभूमि गाउँपालिका–२ को त्रिवेणीमा रहेको खुवालुङलाई किराँत राई धर्मालम्बीहरुले भने आफ्नो सभ्यता मान्ने गरेका छन् । किराँत राई यायोख्खाका महासचिव जनक राईले किराँत क्षेत्रको सबैभन्दा पहिलो पाइला खुवालुङ नै भएको बताउनुभयो । उहाँका अनुसार किराँतका पुर्खाहरुले सप्तकोशी पार गर्दा खुवालुङ भाकेर त्यहि ढुङ्गामा टेकेर खोला नदी तरेका थिए । त्यहिंबाट नदी पारे गरेका उनीहरु दुधकोशी, अरुण र तमोर बेशिनमा बसोबास गर्न थालेको महासचिव राईले बताउनुभयो ।
सप्तकोशी नदिमा बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा, नेपाल रिभर ट्रान्सपोर्ट, बराहक्षेत्र मरिन एण्ड रिर्सोट्स र सप्तकोशी प्रा.लि.का छ वटा जेट बोट सञ्चालनमा रहेका छन् । जेट बोट सञ्चालनमा आएसँगै नदिसँग जोडिएका पहाडका पाखामा पर्यटकीय होटल खुल्न थालेका छन् ।
खुवालुङ किराँतीहरुको आस्था, सरकारले संरक्षण गर्छ : मुख्यमन्त्री राई
किराँतकालिन सभ्यतासँग गाँसिएकोे सप्तकोशी नदीको मध्यभागमा रहेको खुवालुङ (ढुङ्गा) फुटाउने भन्ने विषयमा सरकारसँग जोडेर गरिएको प्रचार गलत भएको मुख्यमन्त्री शेरधन राईले बताउनु भएको छ ।
जलयातायात सञ्चालनमा रहेको सप्तकोशी नदी अन्तर्गत त्रिवेणीस्थलमा पर्ने खुवालुङ्ग क्षेत्रको विषयलाई लिएर पछिल्लो समय उत्पन्न विवाद, सरकार विरोधीले चलाएको नकारात्मक हल्ला मात्रै भएको मुख्यमन्त्री राईले बताउनु भएको हो ।

किराँत राई यायोख्खाको केन्द्रीय समिति समेतको उपस्थितिमा मंगलबार प्रदेश सरकारका मुख्यमन्त्रीसहितको टोलिले त्रिवेणी क्षेत्रमा भेला भएका स्थानीयवासीसँग खुवालुङ बारेको सरकारको निर्णय र वास्तविकता जानकारी गराउनु भएको थियो ।
मुख्यमन्त्री राईले सरकारका कुनैपनि निकायले निर्णय नगरेको विषय अनावश्यक हल्ला र सरकार विरोधी प्रचारको रुपमा आएको भन्दै सबैको आस्थामाथि सरकार विश्वास गर्ने र संरक्षणमा जोड दिने बताउनुभयो । उहाँले खुवालुङ क्षेत्र धार्मिक, साँस्कृतिक र पर्यटकीय गन्तव्य बनाइने बताउँदै त्यसका लागि आवश्यक प्रवन्धमा तीनवटै तहका सरकारबीच सहकार्य गर्दै आगामी दिनमा बढ्ने कुरामा जोड दिनुभयो ।

सप्तकोशी नदीको तटिय क्षेत्रमा रहेका किराँत संस्कृतिका विभिन्न स्थलको खोजी गरेर सबैको संरक्षणमा सरकारले चासो राख्ने बताउँदै खुवालुङ क्षेत्र निर्विकल्प विकासको गतिमा बढ्ने मुख्यमन्त्री राईले आश्वस्त पार्नु भएको छ । भोजपुर, उदयपुर, सुनसरी र धनकुटा चार जिल्लाबाट आएका किराँत राई यायोख्खाका अगुवाहरुले खुवालुङ क्षेत्रको विकासका प्रदेश सरकारले चासो राख्नुपर्ने माग गर्नु भएको थियो ।
यायोख्खाका केन्द्रीय अध्यक्ष दिवस राईले पित्री कार्य र मृत्यु संस्कारका क्रममा मुन्धुममा जप्दा किराँत सभ्यतासँग जोडिएर भाकल गरिने खुवालुङको महत्व बेद र पुराण भन्दा कम नभएको बताउनु भएको थियो । किराँत सभ्यताको प्रारम्भमा सप्तकोशी तटिय क्षेत्र आईपुगेका पुर्खाहरुले त्यहि खुवालुङ क्षेत्र हुँदै तीनवटा नदी पछ्याउँदै आफ्नो भुगोल स्थापित गरेको अध्यक्ष राईले जानकारी दिनुभयो ।
खुवालुङ फुट्दैन, संरक्षण र सौन्दर्यकरण गरेर अगाडी बढ्नुपर्दछ, अध्यक्ष राईले भन्नुभयो पित्र गर्दा घरभित्रको तीन चुल्हामा कुखुरा काटेर गरिने पुजा जस्तै खुवालुङमा चरा चढाउने गरिएको अध्यक्ष राईले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्