महेन्द्र मोरङ क्याम्पस प्राध्यापक संघका सभापति कण्ठलाई बौद्धिक चोरी आरोपमा कारवाही, क्याम्पसका गतिविधिमा भने सक्रिय

महेन्द्र मोरङ क्याम्पस प्राध्यापक संघका सभापति कण्ठलाई बौद्धिक चोरी आरोपमा कारवाही, क्याम्पसका गतिविधिमा भने सक्रिय

विराटनगर । अर्काले अनुसन्धान गरेको तथ्यांक उल्लेख गरेर आफ्नो नाममा खोज अनुसन्धान रिपोर्ट प्रकाशित गरेको आरोपमा महेन्द्र मोरङ क्याम्पसका सात जना विरुद्ध बौद्धिक चोरी आरोप लागेको छ । त्रिभुवन विश्वविद्यालय सभा तथा कार्यकारी परिषद्को सचिवालयले गठन गरेको छानविन समितिले देशभरका १५ जना विरुद्ध यस्तो बौद्धिक चोरी ठहर गरेको थियो ।

त्यसमध्ये त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस एकाईका सभापति उपप्राध्यापक डा. विमलकुमार कण्ठ समेत रहेका हुन् । कण्ठले बौद्धिक चोरी गरेको आरोप प्रमाणित भएपछि २०७६ चैत ५ गतेदेखि दुई वर्षसम्म कुनै अनुसन्धान र क्याम्पसका गतिविधिमा संलग्न हुन नपाउने भएका छन् । तर, अहिलेसम्म क्याम्पस प्रशासनलाई नै अप्ठ्यारो पार्ने गरि कण्ठ भने क्याम्पसका गतिविधिमा संलग्न भईरहेपछि चौतर्फी आलोचना बढेको छ ।
महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख बाबुराम तिम्सिनाले बौद्धिक चोरीको आरोप लागेको पुष्टि गर्नुभयो । बौद्धिक चोरीको आरोपमा त्रिविले डा. कण्ठलाई दुई वर्षसम्म कुनै अनुसन्धान कार्य गर्न नगराउने गरी कार्वाही गरिसकेको छ । कारवाही परिसकेका व्यक्ति क्याम्पसका महत्वपूर्ण निर्णयदेखि अनुसन्धानात्मक कार्यमा समेत सहभागी हुन नछोडेपछि मोरङ क्याम्पस प्रशासनलाई असजिलो भएको छ ।
क्याम्पसका हरेक कार्यमा प्राध्यापक संघको अनिवार्य प्रतिनिधित्व गराउनु पर्दछ । कारवाहीमा परेका कण्ठ सभापतिको हैसियतमा उपस्थिति हुने गरेका कारण प्रशासनलाई निर्णय प्रक्रिया गर्न अफ्ठ्यारो पर्ने गरेको हो ।

डा कण्ठले लेखेको चार वटा अनुसन्धान लेखमा अरुको लेखको धेरैजसो हुबहू परेको त्रिविले बनाएको छानविन टोलीको प्रतिवेदनमा उल्लेख छ । त्रिविबाट अवकाश भईसकेका प्राध्यापक परशुराम मिश्रको आलेखमा फ्रान्सका प्राध्यापक आरमेली वेलका अनुसन्धानात्मक तथ्याङ्क हुबहु प्रकाशित भएपछि उनले त्रिविलाई मेलमार्फत उजुरी गरेका थिए । उक्त उजुरीका आधारमा शिक्षाध्यक्षको कार्यालयले छानबिन समिति गठन गरेको थियो । सोही आधारमा डा. मिश्र तथा उनी ‘गाइड’ भएर प्रकाशित लेखहरु अनुसन्धान गर्ने क्रममा डा. कण्ठले पनि चोरी गरी लेख प्रकाशित गरेको पाइएको थियो ।

प्रा.डा. मिश्र अवकाश भएको एकवर्ष भईसक्दा पनि क्याम्पसकै क्वाटरमा कब्जा जमाएर बस्दै आएका छन् । क्याम्पस परिषरभित्र नै प्रा.डा. मिश्रको बसाइ भएकोले उनी क्याम्पसको महत्वपूर्ण कार्यक्रममा आउने गरेका छन् । तर, नियम अनुसार उनी कार्यक्रममा सहभागि हुन नपाउने क्याम्पस प्रमुख तिम्सिनाको भनाई छ ।
त्रिविले अवकाशप्राप्त प्राध्यापक डा.परशुराम मिश्र, सभापति कण्ठसहित पा“च जना उपप्राध्यापक कारबाही गरेको हो । डा मिश्र मोरङ क्याम्पसका पूर्व प्राध्यापक समेत हुन् । उनलाई नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) बाट युवाहरुमा अनुसन्धानका अवसर सिर्जना गर्न एवम् प्रदुषण नियन्त्रण लगायतका विभिन्न विषयमा अनुसन्धात्मक कार्य गरेको भन्दै २०७५ मा नविल विज्ञान तथा प्रविधि पुरस्कारसमेत प्रदान गरिएको थियो ।

पटक–पटक बौद्धिक चोरीमा संलग्न भएका घटना बाहिर आउ“दासमेत त्रिविले कुनै कारबाही नगरेको भन्दै आलोचना भइरहेका बेला ७ जना एकैपटक कारबाहीमा परेका छन् । कारबाहीमा पर्नेमा प्रा.डा. परशुराम मिश्र, डा. विमलकुमार कण्ठ, कल्पना मिश्र, रोहितकुमार देव, जनक अधिकारी, हरेराम मिश्र, युवराज साहू छन् । कारबाहीमा परेका सबै प्राध्यापक रसायनशास्त्री हुन् । कार्वाहीमा पर्ने आंशिक शिक्षक रोहितकुमार देवलाई मात्र कक्षा सञ्चालनमा रोक लगाइएको छ । बा“कीको हकमा यस्तो प्रक्रिया नअपनाइएको हो ।

अनुसन्धानात्मक लेख अनाधिकारिक रूपमा साभार गरिएको उजुरी परेपछि माघ ४ गते शिक्षाध्यक्षको कार्यालयले त्रिवि केन्द्रीय रसायनशास्त्र विभिागका प्रमुख प्राध्यापक डा. रामचन्द्र बस्नेतको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिले बुझाएको प्रतिवेदनका आधारमा त्रिवि कार्यकारी परिषद्को चैत ४ गतेको बैठकले कारबाही सिफारिस गरेको थियो ।
प्राध्यापक मिश्रसहित बौद्धिक चोरीमा संलग्न सबैलाई दुई वर्षसम्म त्रिविका कुनै पनि विद्यार्थीको सुपरिवेक्षण, थेसिस गाइडलगायत अनुसन्धानात्मक क्रियाकपलाप गर्न प्रतिबन्ध लगाइएको छ । छानबिन समितिले बुझाएको प्रतिवेदनका आधारमा कार्यकारी परिषद्ले निर्णय गर्दै प्रकाशित सबै अनुसन्धानात्मक लेख रिट्र्याक्ट गर्ने निर्णय भएको छ ।

छानबिन समितिमा प्राध्यापक बस्नेतसहित रसायनशास्त्र विभागका प्राध्यापक निरञ्जन पराजुली र उपप्राध्यापक भानुभक्त न्यौपाने सदस्य थिए । छानबिन प्रतिवेदनले विभिन्न ११ वटा आलेख अध्ययन गर्दा सबैमा ‘साइन्टिफिक मिसकन्डक्ट’ देखिएको थियो । ११ वटै आलेखमा प्राध्यापक मिश्रको संलग्नता देखिएको थियो । अधिकांश आलेखका चित्र यसअघि प्रकाशित आलेखमा छापिएका थिए ।

केहि आलेखका तथ्यांक र आफूले यसअघि नै प्रयोग गरेका तथ्यांक पुनः प्रयोग गरेर आलेख छापिएको पाइएको थियो । क्रिस्टालोग्राफी र यसको पहिचानसम्बन्धी आलेखमा उनीहरूले एकेडेमिक इथिक्सभन्दा बाहिर गएर काम गरेको छानबिन समितिले ठहर समितिले गरेको छ ।
प्राध्यापक संघ मोरङ क्याम्पस सभापति कण्ठले आफूलाई त्यस्तो असुविधा हुने गरि कुनै कारवाही नभएको दावी गर्नुभयो । कुनै थेसिसमा नभई लेखमा मात्रै समस्या रहेको कण्ठको तर्क छ । उहाँले आफ्नो तीनवटा पेपरको रिट्याक्ट मात्रै गरेको बताउनुभयो । आफ्नो त्यस्तो ठूलो कमजोरी नभएको बताउँदै सभापति कण्ठले क्याम्पसको क्रियाकलापबाट आफूलाई बाहिर रहन नभनेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्