हकदावी दर्ता गर्दै विराटनगर विमानस्थल विस्तार क्षेत्रका जग्गाधनी

हकदावी दर्ता गर्दै विराटनगर विमानस्थल विस्तार क्षेत्रका जग्गाधनी

विराटनगर । विराटनगर विमानस्थल विस्तार क्षेत्र भित्रका मोरङ र सुनसरीका ५० प्रतिशत जग्गाधनीले हकदावी दर्ता गराएका छन् । विस्तार क्षेत्र भित्रका जग्गाधनीका लागि गत चैत २३ र २४ गते मुआब्जाका लागि सूचना प्रकाशित गरिएको थियो । मोरङ र सुनसरीतर्फको १२७३ कित्ता जग्गा विमानस्थल विस्तार क्षेत्रका लागि अधिग्रहण गरिने विमानस्थलका प्रशासन अधिकृत एवं सूचना अधिकारी युवराज भण्डारीले जानकारी दिनुभयो । जसमध्ये ६८२ कित्ता जग्गाका धनीले आफ्नो निस्सासहित हकदावी पाउनु पर्ने भन्दै निवेदन दर्ता गराएका हुन् ।

आगामी बैशाख २६ र २७ गतेसम्ममा जग्गा धनीलाई हकदावीका लागि ३५ दिनको समय तोकिएको छ । तोकिएको समयसीमा भित्र हक दावी गरिएसँगै अधिग्रहणका लागि मुआब्जा निर्धारण समितिले जग्गाको बर्गिकरण गरेर मूल्य निर्धारण गर्नेछ । अन्य अवस्था यथावत् रहेमा चालु आर्थिक वर्ष भित्रै जग्गा अधिग्रहणका लागि आवश्यक सबै प्रक्रिया सक्ने योजना हो, अधिकृत भण्डारीले भन्नुभयो–मुआब्जा वितरण गर्नका लागि आवश्यक स्रोत आगामी आर्थिक वर्षको बजेटबाट सम्बोधन हुनेछ ।

जग्गा प्राप्ति ऐन २०३४ को दफा ९, १० र ११ बमोजिम जग्गाधनी व्यक्तिहरुले मुआब्जाका लागि दावी गर्ने ३५ दिन अवधीको सूचना सार्वजानिक गरिएको थियो । जग्गाधनी व्यक्तिहरुले आफ्नो स्वामित्वमा रहेको रुख, बिरुवा, घर, टहरा लगायतका संरचनाको विवरण खुलाएर मुआब्जा दावी गर्न पाउनेछन् ।
विमानस्थल विस्तारका लागि मोरङतर्फ एक हजार १२२ कित्ता र सुनसरीतर्फको १४५ कित्ता जग्गा अधिग्रहण गरिने छ ।
साविक विमानस्थलाई विस्तारका लागि पूर्वतर्फ ७.८३ बिघा, पश्चिमतर्फ ६९.१४ बिघा, उत्तरतर्फ ३५.८१ बिघा र दक्षिणतर्फ ८.८७ बिघा तथा सडकका लागि ३.७० बिघा जग्गा अधिग्रहण गर्नुपर्ने यकिन गरिएको छ । त्यसै सीमा क्षेत्र भित्र पर्ने जग्गाधनीहरुको जग्गा अधिग्रहण गरिने छ ।
प्राधिकरणले दशवर्ष भित्रमा विराटनगर विमानस्थललाई दुईहजार ५०० सय मिटरमा विस्तार गर्ने लक्ष्य राखेको छ । त्यसका लागि जग्गा बाहेक १३ अर्ब रुपिँया लागत अनुमान गरिएको छ । सन् २०२०–२०२३ सम्ममा टर्मिनल भवन र रन–वे स्ट्रिप विस्तारका लागि चार अर्ब खर्च हुने अनुमान गरिएको छ । यसैगरी २०२४–२०२६ मा वास्ता (पानी ढलो) तीन किलोमिटर डाइभर्सन र एप्रोज लाइट व्यवस्थापन लगायतका लागि २ अर्बको खर्चने अनुमान गरिएको छ । २०२७–२०३० मा ७ अर्ब बराबरको थप संरचना निर्माण गरिने लक्ष्य राखिएको छ । यसमा जग्गा अधिग्रहणको अनुमानित खर्च उल्लेख गरिएको छैन ।

विमानस्थलको धावनमार्ग तीन हजार मिटरको लम्बाईमा विकास तथा विस्तार गर्नका लागि मोरङतर्फका एक हजार १२२ कित्ता जग्गा अधिग्रहण हुनेछन् । जसमा विराटनगर–४ मा पर्ने विमानस्थलका लागि साविक अमाही इक्राही १(ख) अन्तर्गतका ३ व्यक्तिको ५ कठ्ठा ४ धुर २ कन्वा, २(क) बाट ९९ जना जग्गाधनीको १७ बिघा, १९ कठ्ठा, १६ धुर, १(क) अन्तर्गत १५२ जनाबाट १० बिघा, ९ कठ्ठा, ४ धुर २ कन्वा, २ (क) कै ५७ जनाबाट ५ बिघा, ८ कठ्ठा, १४ धुर एक कन्वा, २(घ) का ८१ जनाबाट १ बिघा, ११ कठ्ठा, १८ धुर १ कन्वा र अमाही इकाक्री ४ का चारजनाबाट १५ कठ्ठा १० धुर ३ कन्वा जग्गा अधिग्रहण गरिने छ ।

यसैगरी विराटनगर–४ साविक बखरी ९(क) अन्तर्गत १३० जनाबाट २९ बिघा २ कठ्ठा १० धुर १ कन्वा, कन्चनबारी ९ (क) बाट २८२ जनाको ७ बिघा १३ कठ्ठा २ धुर २ कन्वा, कन्चनबारी ९(क) बाटै २४ जना व्यक्तिको नाममा रहेको ७ बिघा १३ कठ्ठा, २ धुर २ कन्वा, कन्चनबारी ७ बाट १२ कठ्ठा ७ धुर १ कन्वा, कन्चनबारी (९) २९० जनाको ८ बिघा ८ कठ्ठा १५ धुर ४ कन्वा जग्गा अधिग्रहण हुने भएको हो ।
सुनसरीको साविक रामगञ्ज बेलगछीया १(घ) र (ङ) बाट १४५ जनाको जग्गा अधिग्रहण गरिने भएको छ । सुनसरीको बर्जु गाउँपालिकामा पर्ने १(घ) बाट ६ बिघा १० कठ्ठा १० धुर १ कन्वा र १ (ङ) बाट २५ बिघा ८ कठ्ठा १२ धुर २ कन्वा जग्गा अधिग्रहण हुने भएको हो ।
विमानस्थल विस्तारका लागि मोरङतर्फ ८० बिघा १७ कठ्ठा १८ धुर जग्गा अधिग्रहण हुने भएको छ । यसैगरी सुनसरीतर्फ ३१ बिघा १९ कठ्ठा जग्गा अधिग्रहण हुने भएको छ ।

साविक एक हजार ५०० मिटरको विमानस्थललाई तीन हजार मिटर लम्बाई धावन मार्गमा विस्तार गर्नका लागि दश वर्षे योजना राखिएको छ । पहिलो दुईवर्षमा जग्गा अधिग्रहण र टर्मिनल भवन निर्माण प्रक्रिया रहेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्