जनकपुर
प्रदेश नं २ सरकारले प्रदेशभरका अस्पताल र प्रयोगशालाका लागि ४१७ अस्थायी दरबन्दी थप गरेको छ । प्रदेश सरकारले विश्वव्यापी महामारीका रूपमा फैलिएको भाइरसको सङ्क्रमणसँग जुध्न प्रदेशभरिका विभिन्न अस्पताल तथा प्रयोगशालाका लागि उक्त अस्थायी दरबन्दी थप गरेको हो । प्रदेशभरका आठै जिल्लामा दरबन्दी थपिएको र सर्लाहीमा ३२ जनाको अस्थायी दरबन्दी थप गरेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रदेश सरकारले सर्लाहीका लागि ३२ सहित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका लागि ३३, प्रादेशिक अस्पतालका लागि १७४, सिरहा, जलेश्वर, गौर र कलैया अस्पतालका लागि ३२÷३२, लहान अस्पतालका लागि २३ र भारदह तथा पोखरिया अस्पतालका लागि १५÷१५ दरबन्दी थप गर्ने निर्णय गरेको प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री तथा कोरोना सङ्क्रमण व्यवस्थापनका लागि सर्लाहीका फोकल पर्सन रामनरेश रायले जानकारी दिनुभयो ।
कोरोना सङ्क्रमण न्यूनीकरणका लागि थप गरिएको दरबन्दीमा एनेस्थेसियोलोजिष्टदेखि स्वीपरसम्मको पद रहेको छ । थप गरिएका दरबन्दीमा अस्पतालले आवश्यकताका आधारमा तुरुन्त नियुक्त गर्न सकिने व्यवस्था गरिएको प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
त्यसैगरी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले कोरोना महामारी न्यूनीकरण गर्न भन्दै प्रदेश सरकारका मन्त्रीलाई फोकल पर्सन बनाउँदै जिल्लाको जिम्मेवारी निर्धारण गरेको छ । सर्लाही र रौतहटका लागि उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री रायलाई फोकल मन्त्रीको जिम्मेवारी दिने निर्णय गरिएको प्रदेश सरकारले जनाएको छ ।
सप्तरीका लागि भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री शैलेन्द्र साह, सिरहाका लागि आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादव, धनुषा र महोत्तरीका लागि आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादव र बारा तथा पर्साका लागि भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनललाई फोकल मन्त्रीको जिम्मेवारी दिने निर्णय गरिएको हो । जिम्मेवारी तोकिएका मन्त्री सम्बन्धित जिल्ला र प्रदेश सरकारबीच कोरोना महामारी नियन्त्रण तथा न्यूनीकरणका लागि निरन्तर खटिने भएका छन् ।