कोभिड १९ विरुद्धको खोप भित्र्याउनका लागि सरकारद्वारा निजि कम्पनीहरुलाई अनुमती

कोभिड १९ विरुद्धको खोप भित्र्याउनका लागि सरकारद्वारा  निजि कम्पनीहरुलाई अनुमती

विराटनगर

नेपालमा कोभिड १९ विरुद्धको खोप भित्र्याउनका लागि सरकारले निजि कम्पनीहरुलाई अनुमती दिएको छ । यस अघि सरकारीस्तरबाट जिटुजि मार्फत मात्र खोप खरिद गर्ने बताईरहेको सरकारले कोभिडसिल्ड र कोभ्याक्सिन ल्याउनका लागि छुट्टाछुट्टै दुई कम्पनीलाई अनुमति दिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको औषधी व्यवस्था विभागले निजि कम्पनीहरुलाई सबै सुविधासहित १० प्रतिशत भन्दा बढि नाफा लिन नपाउने गरि आयात अनुमति दिएको हो ।

औषधी विभागले सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिडसिल्ड खोप ल्याउन हुकम डिस्ट्रिब्‍युटर्स प्रालि र भारत बायोटेकबाट उत्पादन कोभ्याक्सिन खोप ल्याउनका लागि इमराल्ड फर्मालाई आयात अनुमति दिएको प्रवक्ता सन्तोष केसीले बताए।

यस अघि स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले सरकार-सरकारबीच समन्वय गरेर मात्रै खोप खरिद गर्ने बताएपनि संक्रमण बढ्दै गर्दा निजि कम्पनीलाई सामेल गरिएको बताईन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सफोर्ड एस्ट्राजेनिकाले विकास गरेर सेरम इन्स्टिच्युट भारतले उत्पादन गरेको २० लाख डोज खोप खरिदका लागि गत फागुन ५ गते नै सम्झौता गरेको थियो।
सम्झौताको सुरुमा १० लाख डोज खोप पठाएको र एक हप्ता पछि पुनः त्यति नै खोप पठाउने बताए पनि हालसम्म पठाएको छैन ।

र सरकारले पुनः सेरमसँगै ५० लाख डोज खोप खरिद प्रक्रिया अघि बढाईसकेको समयमा निजि एजेन्टहरुले सरकारी खरिद प्रक्रिया रोकेर आफुहरुले निजिस्तरबाट खोप ल्याउने अनुमती पाउन सफल भएको देखिन्छ ।

हालसम्म नेपालमा २० लाख ९१ हजार जनाले पहिलो डोज र ३ लाख ६२ हजार जनाले दोश्रो डोजको खोप लगाएको सरकारी तथ्याङ्कले देखाउछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्