प्रदेश १ का चार अस्पतालमा दश संक्रमितको मृत्यु

प्रदेश १ का चार अस्पतालमा दश संक्रमितको मृत्यु

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ का चार अस्पतालमा दशजना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट विराटनगरमा बुधबार राति र बिहीबार गरी सात जनाको मृत्यु भएको छ । यसैगरी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तीनजना संक्रमितको मृत्यु भएको हो । कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा चार, नोबेल शिक्षण अस्पतालमा दुई र न्युरो अस्पतालमा एकजना गरी विराटनगरमा सात जना संक्रमितको मृत्यु भएको छ ।

कोसी अस्पतालमा विराटनगर महानगरपालिका–१० का ५७ वर्षीय पुरुष, मोरङको जहदा गाउँपालिका–५ का २५ वर्षीय युवक, सुनसरीको कोसी गाउँपालिका–४ का ६५ वर्षीय पुरुष र विराटनगर महानगरपालिका–१३ का ५० वर्षीय पुरुषको बिहीबार मृत्यु भएको हो ।
अस्पतालका अनुसार संक्रमण देखिएपछि २५ वर्षीय युवकलाई वैशाख १९ गते भर्ना गरिएको थियो भने ६५ वर्षीय पुरुषलाई वैशाख २२ गते भर्ना गरिएको थियो । ५० वर्षीय पुरुषको कोसीमै बिहीबार बिहान ११ बजेतिर मृत्यु भएको हो । कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि वैशाख २० गते भर्ना गरिएको थियो ।

विराटनगरको नोबेल शिक्षण अस्पतालमा पनि कोरोना संक्रमित दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना महिला र एकजना वृद्ध पुरुष छन् । पाठेघरमा देखिएको समस्याका कारण अत्याधिक रक्तश्राव हुँदा विराटनगर–५ को चाखालकी ३७ वर्षीया महिलाको बुधबार राति मृत्यु भएको हो । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार महिलालाई उपचारका लागि बुधबार दिउँसो ४ः१८ बजेतिर भर्ना गरिएको थियो ।
नोबेलमै उपचारका लागि भर्ना गरिएका विराटनगर महानगरपालिका–१९ का ६४ वर्षीय पुरुषको पनि बुधबार राति मृत्यु भएको हो । श्वासप्रश्वास र मुटुमा समस्या देखिएपछि वृद्धलाई उपचारका लागि बुधबार अस्पताल भर्ना गरिएको थियो ।

विराटनगरकै न्युरो अस्पतालमा मोरङको रंगेली नगरपालिका–३ का २६ वर्षीय युवकको मृत्यु भएको छ । दुर्घटनामा परेर घाइते भएपछि १७ दिनदेखि उनी अस्पतालमा उपचाररत थिए । उनको बुधबार गरिएको पीसीआर परीक्षणमा रिपोर्ट पोजिटिभ आएको थियो । उनको बिहीबार बिहान ८ बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ ।

यसैगरी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मोरङ मिक्लाजुङ–२ का ७५ वर्षीय पुरुष, धरान–३ सुनसरी निवासी ५३ वर्षीया महिला र सिराहा गोलबजार–६ का २९ वर्षीय युवकको मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा.चुरामणी पोखरेलले जानकारी दिनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्