बहराइनका राजकुमार खलिफाको टोली लाग्याे सगरमाथाको चुचुरोतर्फ

बहराइनका राजकुमार खलिफाको टोली लाग्याे सगरमाथाको चुचुरोतर्फ

काठमाडौं

यस वर्षको पर्वतारोहणका भीआइपी आरोही बहराइनका राजकुमार मोहम्मद हामद मोहम्मद अल खलिफाको टोली सगरमाथा आरोहणका लागि चुचुरोतर्फ लागेका छन् । राजकुमार खलिफा सहित दुई दर्जन आरोही विहीबार राती चुचुरोतर्फ बाटो लागेका हुन् ।

वैशाख २८ गते चुचुरोमा पुग्ने लक्ष्य लिएर तीस जना शेर्पा गाइडसहित टोली चुचुरोतर्फ लागेको आरोहण सरदार टासिलाक्पा शेर्पाले जानकारी दिनुभयो । सेभेन समिट ट्रेकले राजकुमारको टोलीलाई आरोहण सम्पन्न गराउने गरी आरोहणको व्यवस्थापन गरेको छ । गत वर्ष मात्र खालिफाले लबुचे पिक र मनास्लु हिमालको सफल आरोहण सम्पन्न गरी सकेकाले सगरमाथा आरोहण गर्न कुनै वाधा नपुग्ने सरदार शेर्पाले बताउनुभयो ।

समुद्री सतहमा वसोवास गर्ने खलिफा पर्वतारोहण गर्न रुचाउने भएकाले गत वर्षको हिउँदमा लकडाउनकै बीचमा आएर हिमाल आरोहण सम्पन्न गरी फर्कनुभएकाे थियाे । यस वर्ष ४४ आरोहण दलबाट ४०८ जना आरोहीले सगरमाथा आरोहण अनुमति लिएर तयारी अवस्थामा आधार शिविरमा बसेका छन् । पर्यटन विभागका अनुसार सगरमाथा आरोहण गर्ने यो आरोहीको सङ्ख्या हालसम्मकै उच्च भएको बताएका छन् ।

आरोहीमध्ये ३१५ पुरुष, ९२ जना महिला र एक जना तेस्रो लिंगी आरोही छन । सगरमाथाबाट मात्र यो सिजनमा ४९ करोड ६१ लाख ३१ हजार ७८७ रुपैयाँ राजस्व सङ्कलन भएको विभागको तथ्याङ्क छ ।
-गोरखापत्र अनलाइन / तस्बिर साैजन्य : टासी लाक्पा शेर्पा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्