अट्ठाइस सांसदसहित एक सय ६० जनामा कोरोना पुष्टि

अट्ठाइस सांसदसहित एक  सय ६० जनामा कोरोना पुष्टि

काठमाण्डौ

संसद्‍को विशेष अधिवेशनअघि स्वाब संकलन गरिएका १२ सय ३५ जनामध्ये १६० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। आगामी सोमबार बस्ने प्रतिनिधिसभा बैठकलाई मध्यनजर गर्दै यही २२ देखि २४ गतेसम्म गरिएको स्वाब संकलनबाट ठूलो संख्यामा संक्रमण पुष्टि भएको संसद सचिवालयले जनाएको छ। वैशाख २२, २३ र २४ गते स्वाब संकलन गरिएका २०५ सांसद र १ हजार ३० कर्मचारी र अन्य गरेर अहिलेसम्म १२ सय ३४ जनाको रिपोर्ट प्राप्त भएको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार स्वाब संकलन गरिएका मध्ये ११.९७ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये १९ जना सांसद छन्। जसमध्ये १८ जना प्रतिनिधिसभाका सदस्य हुन्। राष्ट्रिय सभाका एक सांसदमा मात्र संक्रमण देखिएको छ। संसद्‍ सचिवालयमा स्वाब संकलन गर्नुअघि नै ८ जना सांसदमा कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेसनमा छन्। यो सँगै संक्रमित सांसदको कुल संख्या २६ पुगेको छ।

बुधबार, बिहिबार र शुक्रबार संकलित स्वाबबाट १४१ जना सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकीय सचिव, सुरक्षाकर्मी, पत्रकार र आईसीसी भवनका कर्मचारी रहेका छन्। सचिवालय स्रोतका अनुसार प्रतिनिधिसभाका ५४ सांसदको भने परीक्षण बाँकी नै रहेको छ। प्रतिनिधिसभाका २७१ मध्ये चार जना निलम्बित छन्। यसअघि कोरोना संक्रमणबाट संघीय संसद्‍ सचिवालयमा कार्यरत एक उपसचिवको मृत्यु भइसकेको तथ्यांक छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्