पहुँच राख्नेहरु पनि कोरोनासँग छैनन् सुरक्षित, प्रत्येक पलको सावधानीले मात्रै जोगिन्छ ज्यान

पहुँच राख्नेहरु पनि कोरोनासँग छैनन् सुरक्षित, प्रत्येक पलको सावधानीले मात्रै जोगिन्छ ज्यान

विराटनगर । पूर्वका प्रतिष्ठित मध्येका धरानका उद्योगी रोशन सोनीको कोरोना संक्रमणबाट विराट मेडिकल कलेजमा शुक्रबार राती निधनभयो । उपचारका लागि आवश्यक पर्ने सबै क्षमता प्रयोग गर्न सक्ने उद्योगीको निधनले धेरैलाई दुखी मात्रै बनाएन, पैसाको बलमा कोरोना पराजित हुननसक्ने पुष्टि समेत गरिदियो । विराटनगर र धरानमा आर्थिक, नैतिक र सामाजिक रुपमा कहलिएका उद्योगी सोनीको उपचारका लागि गर्नसक्ने जति सबै बल प्रयोग गरिएको थियो । तर, कोरोनाको संक्रमणका सामु सोनीको जीवन शनिबारका दिनदेखि यो धर्तीमै रहेन ।

पैसा मात्रै नभई चिकित्सक छोरा–बुहारी भएका धनुषाका ७७ वर्षीय भीम घिमिरेको शनिबार दिउँसो नोबेल मेडिकल कलेजमा कोरोनाकै कारण मृत्युभयो । नोबेलेका वरिष्ठ चिकित्सक डा.रामहरी घिमिरे र सीता घिमिरे मात्रै नभई मृतक घिमिरे परिवारका अन्य सदस्य समेत चिकित्सक नै हुनुहुन्छ । तर, पनि बैशाख १७ गतेदेखि निरन्तर उपचार भईरहेका घिमिरेको शनिबार दिउँसो १२ः३० मा मृत्यु भएको नोबेलका प्रवन्धक नारायण दाहालले जानकारी दिनुभयो ।

उपचारका सबै प्रक्रिया र प्रयासहरु अपनाइएको थियो, प्रवन्धक दाहालले भन्नुभयो–तर बचाउन सकिएन । उहाँलाई मात्रै हैन सबै सर्वसाधारण संक्रमित भएर भर्ना भएपछि अस्पतालमा हरसंभव प्रयास हुन्छन् तर वरिष्ठ चिकित्सक भएको अस्पतालमा भर्ना गरिएका बुबाको उपचारमा विशेष ध्यान स्वभाविक थियो ।
पछिल्लो २४ घण्टाका यी दुई घटनाले कोरोनालाई सामान्य नठान्न पाठ सिकाएको छ । क्षमता र पहुँच हुँनेहरुले समेत आफन्त गुमाउनु पर्दाको पीडा सामान्य परिवारका लागि कहालीलाग्दो सावित हुने देखिन्छ ।

कोरोना संक्रमणको ‘चेन’ब्रेक गर्न सरकारले निषेधाज्ञा लगाएको छ । तर, कोरोनालाई सामान्य मान्दै निषेधाज्ञालाई अस्वभाविक मानेर तर्क गर्नेहरुको संख्या पनि उतिकै छ । छिमेकी राष्ट्र भारत मात्रै नभई महाशक्ति राष्ट्रहरुले समेत कोरोना सामु घुँडा टेकिसकेको अवस्थामा नेपालको आफ्नै बलबुताले एकछेउ पनि थेग्न सक्दैन ।
सरकारी वा निजी अस्पतालका शैयाहरु भरिदैं जाँदा जटिल किसिमका संक्रमितलाई समेत भर्ना लिन नसक्ने अवस्था आईसकेको छ । यस्तो अवस्थामा कोरोनाबाट जोगिन स्वयम् सचेत हुनुपर्ने चिकित्सकहरुको आग्रहलाई सर्वसाधारण नागरिकले अस्वीकार गर्नै नमिल्ने कोशी अस्पतालका मेडिकल सुपरिटेन्डैन्ट डा.चुमनलाल दासको सुझाव छ । उहाँले स्वास्थ्यकर्मीले आफ्नो जीवनको अन्तिम परीक्षामा सामेल भए झैं गरेर संक्रमितको उपचार गरिरहेको बेला नागरिकले आफूलाई आफैं जोगाउनु पर्ने कुरामा ध्यान दिनुपर्ने आग्रह गर्नुभएको छ ।
तथ्यांकहरुलाई हेर्ने हो भने पछिल्लो २४ घण्टामा प्रदेश १ का १४ जिल्लामा पीसीआर परीक्षण गर्नेमध्ये ४९ प्रतिशतमा संक्रमण पुष्टि भएको छ । शनिबार एक हजार १७३ जनाको पीसीआर परीक्षण गर्दा ५७८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रदेश १ मा कोरोना संक्रमितको जम्मा संख्या ३७ हजार २२३ पुगेको छ । संक्रमित भएका मध्ये ३० हजार २२६ संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ६ हजार ४५० छ । तर, कोरोनाको दोस्रो भेरियन्टको लहर सुरु भएयता संक्रमणमुक्त हुनेभन्दा संक्रमित हुनेको संख्या अधिक छ । पहिलो लरहमा जोखिम समूह नमानिएको उमेर समूहका नागरिकले समेत अहिले ज्यान गुमाउनु परिरहेको छ । प्रदेश १ मा हालसम्म ५४७ जनाको मृत्यु भईसकेको छ ।
नागरिकसँग जोडिएका स्थानीय तहका जनप्रनिधि आफैं हतोत्साहि भईसकेका छन् । प्रदेश र संघीय सरकारबाट भए गरेका पहलकदमी कमजोर सावित भईरहेका छन् । यस्तो नागरिकस्तरबाट सचेतना र व्यक्तिगत तवरबाट स्वयम् सचेत रहनुपर्ने कुरालाई ख्याल गरिनु अतिआवश्यक बनिसकेको छ ।

प्रादेशिक स्वास्थ्य आपत्कालिन कार्य सञ्चालन केन्द्र प्रमुख डा.संगिता राई स्थितिलाई सामान्य मात्रै ठान्न हुने अवस्था आईसकेको बताउनुहुन्छ । संक्रमितको अवस्था अति जटिल भईसकेपछि मात्रै अस्पताल आउने संख्या बढ्दै गएको र मृत्युदरको स्थिति समेत पहिलो लहरको जस्तो नभएको उहाँले बताउनुभयो । यस्तो समयमा स्वास्थ्य मापदण्ड अपनाउँदै घरमै बस्ने हो, डाक्टर राईले भन्नुभयो–आफैं सुरक्षित रहनुपर्छ भन्ने कुरालाई सबैले स्मरण र पालना गर्नु नै सबैभन्दा उत्तम विकल्प हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्