दशजनाको कोरोना संक्रमणबाट मृत्यु, विराटनगरका तीनजना व्यवसायी

दशजनाको कोरोना संक्रमणबाट मृत्यु, विराटनगरका तीनजना व्यवसायी

विराटनगर । पछिल्लो १२ घण्टाको अवधीमा प्रदेश १ मा दश जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मोरङ र सुनसरीका विभिन्न कोभिड अस्पतालमा ७ पुरुष र ३ महिलाको उपचारका क्रममा मृत्यू भएको हो ।

सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीनजना पुरुष , मोरङको बुढीगंगास्थित विराट मेडिकल कलेजमा दुई पुरुष र एक महिला , विराटनगरकै नोबेल शिक्षण अस्पतालमा एक महिला र एक पुरुष गरी दुईजना, विराट अस्पतालमा एकजना र न्युरो अस्पतालमा एक संक्रमितको मृत्यु भएको हो ।

विपी प्रतिष्ठानको आइसोलेसनमा उपचाररत झापाको विर्तामोड–५ का ६२ वर्षीय पुरुषको मृत्यु भएको छ । चारदिन अघि कोरोना पुष्टि भएपछि उपचार गराइरहेका उनको सोमबार विहान करीव १२ बजे मृत्यू भएको प्रतिष्ठानका सह–प्रवक्ता डा.चुरामणी पोखरेलले जानकारी दिनुभयो ।
त्यसैगरी विराटनगर–८ का ५६ वर्षीय बिष्णु खतिवडाको आइतबार बेलुका ७ बजे मृत्यू भएको छ । बैशाख १० गते नोबेल मेडिकल कलेजमा उपचारका क्रममा कोरोना पुष्टि भएपछि उनलाई थप उपचारका लागि प्रतिष्ठानको आइसोलेसनमा पुर्याइएको थियो । उपचारकै क्रममा उनको निधन भएको प्रतिष्ठानले जनाएको छ । मुद्रण व्यवसायमा सक्रिय खतिवडा लेखा परीक्षक समेत थिए ।

सुनसरीको इटहरी–२ का ५८ वर्षीय पुरुषको आइतबार बेलुका १० बजे प्रतिष्ठानकै आइसोलेसनमा मृत्यू भएको सहप्रवक्ता डा।पोखरेलले जानकारी दिए । बैशाख १९ गते भर्ना भएर स्वाब परीक्षणगर्दा उनलाई कोरोना पोजेटिभ पुष्टि भएको थियो ।
विराटनगरस्थित नोबेल मेडिकल कलेजमा सुनसरीकै बराहक्षेत्र–११ की ३५ वर्षीया महिलाको सोमबार विहान करीव ५ बजे मृत्यु भएको जनाइएको छ । मेडिकल कलेजका प्रबन्धक नारायण दाहालका अनुसार तीनदिन अघि उपचारका लागि कोभिड आइसोलेसनमा भर्ना गरिएको थियो ।

यता विराटनगर–११ का ४६ वर्षीय पुरुषको उपचारका क्रममा विराट मेडिकल कलेजमा मृत्यु भएको छ । सात दिनअघि भर्ना गरिएका ती पुरुषको उपचारका क्रममा मृत्यु भएको विराट मेडिकल कलेज कोभिड अस्पतालका इन्चार्ज सुनिल देवले बताए ।
उनका अनुसार बैशाख १७ गते अस्पतालमा भर्ना गरिएकी विराटनगर–१३ की ७८ वर्षीया महिलाको पनि मृत्यु भएको छ । सोमबार विहान सवा ५ बजेतिर उनको मृत्यु भएको जनाइएको छ ।
सुनसरीको दुहवी–११ का ३८ वर्षीय पुरुषको सोमबार विहान साढे ५ बजेतिर मृत्यु भएको छ । बैशाख १९ गते विराटको आइसोलेसनमा भर्ना गरिएका उनको मृत्यु भएको जनाइएको छ ।

विराटनगरको न्युरो अस्पतालमा विराटनगर महानगरपालिका–११ की ६७ वर्षीया महिलाको बिहान सोमबार विहान मृत्यु भएको छ । पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएकी उनलाई स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि आइतबार अस्पताल भर्ना गरिएको थियो ।
त्यस्तै नोबेलमा सिरहाको भवानीपुर–४ का ५० वर्षीय पुरुषको मृत्यु भएको छ । उपचारका क्रममा सोमबार बिहान नोबेलको आइसोलेसनमा ती पुरुषको मृत्यु भएको जनाइएको छ ।

यता मोरङ व्यापार संघका कार्यकारीणी समितिका सदस्य तथा सल्लाहकार सुनिल टिवडेवालाको कोरोना संक्रमणका कारण सोमबार विहान विराट मेडिकलमा निधन भएको छ । एकसाता अघि संक्रमण पुष्टि भएका ४५ वर्षीय टिवडेवालको उपचारकै क्रममा मृत्यू भएको जनाइएको छ । यसैगरी सत्याल बुक स्टेशनरीका विजय सत्यालको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्