महानगरका ११ गाडी, मेयरले एउटा गाडी एम्बुलेन्सलाई दिएर अर्को किन चढेनन्

महानगरका ११ गाडी, मेयरले एउटा गाडी एम्बुलेन्सलाई दिएर अर्को किन चढेनन्

सुमन सुस्केरा
विराटनगर । बिराटनगर महानगरपालिकाका मेयर भीम पराजुली पछिल्लो समय निक्कै चर्चामा छन् । कहिले अक्सिजनको सिलिण्डर घर घरमा पुर्याउने कुरामा होस् या सरकारी गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिन्छु भनेर नै किन नहोस् । यी दुबै बिषयले मेयरलाई चर्चामा ल्याएको छ। पछिल्लो समय चासोको रुपमा हेरिएको बिषय भनेको महानगरपालिकाको मेयरले चढ्ने गरेको सरकारी गाडी एम्बुलेन्सको रुपमा घोषणा गरेसँगै मनकारी मेयरको रुपमा सबैले बिश्लेषण गरे ।

तर, मेयरले दुई गाडी चढ्थे त्यो तिनै दुई गाडी मध्ये एउटा गाडि मात्र एम्बुलेन्सको रुपमा प्रयोगका लागि दिएको हो भन्ने बारेमा कसैको पनि ध्यान गएन । विराटनगर महानगरपालिकामा साना ठूला गरि ११ वटा चढ्न मिल्ने गाडी छन् । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली चढ्ने दुई वटा सावारी साधन छन्, एउटा ल्याण्ड रोभर र अर्को टोयोटाको फर्च्युनर । यी दुई सवारी साधनमध्ये मेयर पराजुलीले चढ्ने को १ झ ४९४ नम्बरको गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिने घोषणा गरेका छन् ।

मेयर पराजुलीले चढ्ने अर्को बा २ झ १३१५ नम्बरको ल्याण्डरोभर गाडी भने कार्यालयमा नै रहेको छ । फर्च्युनर गाडी एम्बुलेन्सको कामका लागि दिइएको भनेर घोषणा गर्नुभएसँगै मेयर पराजुली गत शनिबारदेखि मोटरसाइकलमा देखिए । उनले चढेको मोटरसाइकल भने उनका सहयोगीले चलाएका थिए ।
शुक्रबार विज्ञप्ति प्रकाशित गरी मेयर पराजुलीले कोरोनाको बढ्दो संक्रमणका कारण बिरामीले समयमा एम्बुलेन्ससमेत नपाउने गरेको गुनासो आएकोले बिरामीलाई अस्पतालसम्म लैजान र घरसम्म ल्याउने कार्यको लागि गाडी प्रयोग गर्न दिएको बताएका थिए । यो सङ्कटको घडीमा हामी आफू आफ्नै मोटरसाइकल प्रयोग गरेर नगरवासीको सेवामा सदैव समर्पित हुने विज्ञप्तिमा उल्लेख गरेका पराजुली शनिबार देखि नै मोटरसाइकलमा देखिएका छन् । त्यसो भए उनले आफ्नो गाडी कोभिड संक्रमित ओसार्न दिएपछि मेयरले अर्को गाडी चढ्नै नहुने हो त अर्को प्रश्न उब्जीएको छ । कतिपयले यसलाई सस्तो लोकप्रियता भनेका छन् ।

बाँकी गाडी कहाँ प्रयोग छन् ?
विराटनगर महानगरपालिकाका दुई वटा गाडी मेयर भीम पराजुलीले प्रयोग गर्दै आएका छन् । तीमध्ये एउटा गाडी एम्बुलेन्सको लागि प्रयोग गरिएको भए पनि अर्कोमा चढ्नुपर्नेमा किन मोटरसाइकल चढे भन्नेमा महानगरपालिकाका कर्मचारी नै अन्यौलमा परेका छन् । एक कर्मचारीले भने, ‘दुईवटा गाडी नै मेयर साबले प्रयोग गर्नुहुन्थ्यो, एउटा गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्ने भनेपछि अर्को गाडीमा चढ्नु पर्ने हो मोटरसाइकलमा चढेर के देखाउन खोज्नुभएको हो, कुरा बुझिएन ।’

मेयरले आफ्नै दुवै गाडी नचढे पनि महानगरमा भएका अन्य गाडीहरु पनि यो बेला कोरोना सङ्क्रमण रोकथाम र नियन्त्रणमा प्रयोग गर्नु पर्ने हो त्यो नभएको पाइएको छ । विराटनगर महानगरपालिकामा प्रमुखले प्रयोग गर्ने २, उपप्रमुखले प्रयोग गर्ने निसानको १, प्रमुुख प्रशासकीय अधिकृतले प्रयोग गर्ने अर्को पनि निसानकै गाडी छन् । कार्यालयमा रहेको दुईवटा टाटासुमोमध्ये एउटा परियोजनाको काममा इन्जिनियर भरत न्यौपानेले प्रयोग गर्दै आएका छन् भने अर्को टाटासुमो शिक्षा महाशाखा प्रमुख दुर्गा खतिवडाले प्रयोग गर्छन् । अहिले महानगरको काम कोरोनाले रोकिएको अवस्थामा ती सवारी पनि प्रयोगविहीन भएका छन् । नगर प्रहरीले एउटा नयाँ स्कारपियो र अर्को मिनी ट्रक प्रयोग गर्दै आएको छ । अप्ठेरोको बेला नगर प्रहरीले मिनि ट्रक प्रयोग गरेर स्कारपियो पनि कोरोनामा बिरामी ओसार्न प्रयोग गर्न सकिने अर्का कर्मचारीले बताए । महानगरपालिकामा भएका दुई वटा एम्बुलेन्समध्ये एउटा निःशुल्क सुत्केरीको उद्धारका लागि प्रयोग भएको छ भने अर्को एम्बुलेन्स महानगरपालिकाले कोरोना सङ्क्रमित बोक्ने काममा प्रयोग गरको महानगरपालिकाले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्