बागलुङ
कोरोनाको दोस्रो लहरका कारण तीव्र रूपमा सङ्क्रमण बढिरहे पनि बागलुङमा विकास निर्माण भने रोकिएको छैन । गत वर्ष कोरोनाका कारण ठप्प बनेको विकास निर्माण अहिले भने निरन्तर चलिरहेको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीका अनुसार बागलुङमा अहिले निर्माण सामग्री बोकेका सवारीलाई निर्वाधरूपमा चल्न दिइएको छ ।
“गत वर्ष विकास निर्माण ठप्प भए तर अहिले अन्य क्षेत्रमा निषेधाज्ञा जारी गरे पनि विकास निर्माण रोकेका छैनौँ, न्यूनतम स्वास्थ्य मापदण्ड अपनाएर काममा लगाउन निर्माण व्यवसायीलाई भनेका छौँ”, प्रजिअ कार्कीले भन्नुभयो, “निर्माण मजदुर एकै ठाउँमा बस्ने भएकाले उनीहरुलाई कामविहीन बनाउँदा भोकमरी, घर फर्कने समस्या हुन्छ, त्यसैले निरन्तर काम गर्न भनेका छौँ ।”
अहिले बागलुङ जिल्ला सदरमुकाममा निषेधाज्ञाको समयमा धमाधम घर निर्माणको कामसमेत चलिरहेको छ । जिल्लामा सञ्चालित साना तथा ठूला विकास निर्माणका योजनामा स्वास्थ्य सुरक्षा अपनाएर काम अघि बढाइएको छ ।
पालिकामा निषेधाज्ञा रहे पनि विकासे योजनाको काम नरोकिएको बागलुङ नगरपालिकाले जनाएको छ । मुलपानी–भलाटाकुरा सडकको २ किमी सडक कालोपत्र भइरहेको र थप ५०० मिटर सडकको पक्की नालीसहित ग्राभेलको काम चलिरहेको नगरप्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार केही स्थानका योजना प्रभावित भए पनि महत्वपूर्ण विकासे योजनाको काम जारी छ ।
सङ्घीय सरकारको सडक डिभिजन कार्यालय बागलुङमार्फत बागलुङ–बेनी सडकखण्डअन्तर्गत ११ किमी सडक स्तरोन्नति कार्य रोकिएको छैन । अहिले रामरेखामा सडक स्तरोन्नतिसँगै कालोपत्र भइसकेको छ भने उपल्लाचौरमा धमाधम काम चलिरहेको सडक डिभिजन कार्यालयका प्रमुख रामेश्वर लम्सालले जानकारी दिनुभयो । रु तीन करोड ३७ लाखको लागतमा स्तरोन्नतिसँगै पूरै ११ किमी नयाँ कालोपत्र गरिने सडकखण्डले बागलुङ–बेनी यात्रालाई सहज बनाउनेछ ।
कोरोना महामारीबीच क्षेत्रीय सडकका रूपमा रहेको बागलुङ नगरपालिका–४ कुडुँले चोकदेखि काठेखोला गाउँपालिका जाने सडकको १४ किलोमिटर सडक कालोपत्र गर्नका लागि सडकको धमाधम स्तरोन्नति भइरहेको छ । नगरपालिकाको कँुडुले चोकदेखि–मालिका–पञ्चकोट हुँदै तितौरे काठेखोला गाउँपालिकाको सिमानासम्म जानेसम्मकोे सडक स्तरोन्नतिसँगै कालोपत्र गरिने सडक हो । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको रु ४२ करोडको लागतमा सडक स्तरोन्नतिसँगै कालोपत्र गर्र्ने उक्त सडक बन्दाबन्दीमा रोकिएको छैन ।
बागलुङ क्षेत्र नं १ को प्रदेशसभा ‘ख’ अन्तर्गत पर्ने बागलुङ नगरपालिका र काठेखोला गाउँपालिका समेट्ने गरी क्षेत्रीय चक्रपथका रूपमा यस सडकलाई स्तरोन्नतिसँगै कालोपत्र गर्न पूर्वाधार निर्माणको काम गत वर्षदेखि चलिरहेको छ । चौध किलोमिटर सडक आठ मिटरको मापदण्डअनुसार चौडा हुने र एक मिटर नाली निर्माण गर्ने र ५.५ मिटर चौडा सडक केही समयपछि कालोपत्र हुनेछ । पहिलो चरणमा बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाको सिमानासम्म कालोपत्र गरिने र दोस्रो चरणमा तितौरै भिमपोखरा, धम्जा, बिहुँ, लेखानी, रेश हुँदै बलेवा जोड्ने सडक विस्तार र कालोपत्र गर्ने योजना रहेको बागलुङ नगरपालिकाका प्रमुख पौडेलले बताउनुभयो ।
यस्तै रामरेखा मरेपिपलको गत वर्षदेखि चलिरहेको सडक स्तरोन्नतिको काम अहिले अन्तिम चरणमा पुगेको छ । अहिले उक्त सडक ग्राभेल भइरहेको र निषेधाज्ञाकै बीचमा कालोपत्र गरिने निर्माण व्यवसायी विदुर शर्माले बताउनुभयो । जिल्लामा सङ्घ, प्रदेश तथा स्थानीय तहका विकास निर्माणमा आंशिक प्रभाव परे पनि रोकिएका भने छैनन् ।