कोरोना संक्रमणबाट प्रदेश १ मा आज १७ जनाको मृत्यु

कोरोना संक्रमणबाट प्रदेश १ मा आज १७ जनाको मृत्यु

विराटनगर । कोरोना सङ्क्रमणका कारण प्रदेश १ मा पछिल्लो २४ घण्टामा १७ जना संक्रमितको मृत्यु भएको छ । मोरङमा ११, सुनसरीमा २, झापामा २ र इलाममा १ जना संक्रमितको मृत्यु भएको हो ।
मोरङको नोबेल मेडिकल कलेजमा ४ जना, विराटमा २ जना, कोसी अस्पताल र न्यूरो अस्पतालमा एक–एक जना तथा होम आइसोलेसनमा ३ जनाको मृत्यु भएको हो । यस्तै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ३ जना, इलाम अस्पतालमा १ जना, झापाको विर्तासिटी अस्पतालमा १ जना र मेची प्रादेशिक अस्पतालमा १ जनाको मृत्यु भएको हो ।

विराटनगर–९ का ५२ वर्षीय पुरुषको विराट मेडिकल कलेजमा बुधबार बिहान मृत्यु भएको छ । विराटका कोभिड १९ उपचार केन्द्र इञ्चार्ज सुनिल देवका अनुसार कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि वैशाख १३ गते अस्पताल भर्ना गरिएकोमा बिहान १० बजेतिर मृत्यु भएको हो ।
सिरहाको लहान–१ का ८० वर्षीय वृद्ध पुरुषको पनि विराटमै मृत्यु भएको छ । पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएपछि मङ्गलबार उपचारका लागि भर्ना गरिएका उनको २ बजेतिर मृत्यु भएको हो ।

विराटनगर महानगरपालिका–६ का ३९ वर्षीय पुरुषको बुधबार दिउँसो न्युरो अस्पतालमा मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि उनलाई मङ्गलबार अस्पताल भर्ना गरिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
विराटनगरको मेडिकल कलेजमा चार जनाको बुधबार मृत्यु भएको छ । सुनसरीको इनरुवा–१ का ७५ वर्षीय पुरुषको बिहान ३ बजेतिर मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।
यस्तै सप्तरीकी ५५ वर्षीया महिलाको बिहान ७ बजेतिर नोबेलमा मृत्यु भएको छ । महिलालाई उपचारका लागि मङ्गलबार अस्पताल भर्ना गरिएको थियो ।

विराटनगर–९ की ८० वर्षीया वृद्धा महिलाको बुधबार बिहान ८ बजेतिर नोबेलमा मृत्यु भएको हो । कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि मङ्गलबार अस्पताल भर्ना गरिएको थियो ।
नोबेलमै विराटनगर–१० का ४६ वर्षीय पुरुषको पनि मृत्यृ भएको छ । पीसीआर रिपोर्ट पोजिटिभ आएका पुरुषलाई वैशाख २६ गते अस्पताल भर्ना गरिएको थियो । प्रबन्धक दाहालका अनुसार बिहान ८ बजेतिर उनको मृत्यु भएको हो ।
कोसी अस्पतालमा विराटनगर–१२ का ८० वर्षीय वृद्ध पुरुषको बुधबार बिहान मृत्यु भएको छ ।
विराटनगर –१३ का ५८ वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको छ । विराटनगर महानगरपालिकाको नगर प्रहरीका निरीक्षक राजन पौडेलका अनुसार मृतकलाई वैशाख १६ गते कोरोना पुष्टि भएको थियो ।
यसैगरि मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ का ७९ वर्षीय वृद्ध पुरुषको दिउँसो १२ बजेतिर मृत्यु भएको छ । वैशाख २७ गते पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएका उनी घरमै थिए ।

मोरङको जहदा गाउँपालिका–७ का ६० वर्षीय पुरुषको पनि होम आइसोलेसनमै मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि घरमै बसेका उनको बुधबार दिउँसो मृत्यु भएको जानकारी प्रहरीले दिएको छ ।
उता कोरोना संक्रमित इलाम कारागारका एकजना कैदीको बुधबार मृत्यु भएको छ । देउमाई नगरपालिका–६ का ३५ वर्षीय कैदीको इलाम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय इलामका कोभिड फोकल पर्सन बिमल बरालले जानकारी दिए ।
बरालका अनुसार जेल सार्नका लागि झापा लग्ने क्रममा मेची अस्पतालमा टेस्ट गर्दा वैशाख २७ गते कोभिड–१९ पोजेटिभ देखिएको थियो । कोभिड संक्रमण देखिएपछि उनलाई पुनः इलाम ल्याइएको थियो ।
झापामा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणबाट मेचीनगर नगरपालिका–१० का दुई जना संक्रमितको मंगलबार बेलुका मृत्यु भएको हो । मेचीनगर १० का ६५ वर्षका पुरूषको विर्तासिटी अस्पताल विर्तामोडमा र ३९ वर्षीया महिलाको मेची प्रादेशिक अस्पताल भद्रपुरमा मृत्यु भएको हो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा बुधबार बराहक्षेत्र र इटहरीका दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका सह प्रवक्ता डा।चूडामणि पोखरेलका अनुसार बराहक्षेत्र ५ का ८२ वर्षीय बृद्धा महिलाको उपचारको क्रममा मृत्यु भएको हो । उनलाई वैशाख १२ गते कोरोना सङ्क्रमण पुष्टि भएकोमा १७ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।
इटहरी उपमहानगरपालिका ९ का ७६ वर्षीय वृद्ध पुरुषको उपचारको क्रममा बिहान ११ः३० बजे मृत्यु भएको प्रतिष्ठानले जनाएकोछ । उनलाई वैशाख २६ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने २८ गते कोभिड अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । हालसम्म प्रदेश १ मा मृत्यु हुनेको संख्या ६०० पुगेको छ । नयाँ भेरियन्टबाट मात्रै १३४ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्