ताकम र मल्लाजमा आइसोलेशन सञ्चालन

ताकम र मल्लाजमा आइसोलेशन सञ्चालन

म्याग्दी

नयाँ भेरियन्टसहित दोस्रो लहरको कोभिड–१९ सङ्क्रमण तीव्ररूपमा फैलिन थालेपछि म्याग्दीको ताकम र मल्लाजमा आइसोलेशन सञ्चालन भएको छ । धवलागिरि गाउँपालिकाको घट्टेखोलास्थित सामुदायिक भवनमा स्थापना गरिएको १० शय्या क्षमताको आइसोलेशन ताकम माविको भवनमा स्थानान्तरण गरेर पुनःसञ्चालन गरेको हो । यसैगरी जलजला गाउँपालिकाको मल्लाजस्थित वडा ३ को कार्यालयको भवनको खाली कोठामा १० शय्या क्षमताको आइसोलेशन शुरु गरिएको छ ।

धवलागिरिका अध्यक्ष थमसरा पुनले गाउँपालिकाले कोरोना अस्पताल सञ्चालन गर्न गत पुसमा तीन महिनाका लागि नियुक्त गरिएका चिकित्सकको करार अवधि थप गरेर कोरोना सङ्क्रमितको उपचारमा परिचालन गरिएको बताउनुभयो । जनशक्ति व्यवस्थापन गर्न सहज हुने भएकाले पाँच शय्या क्षमताको अस्पताल भएको ताकममै कोरोना सङ्क्रमितको उपचारका लागि छुट्टै आइसोलेशन बनाइएको उहाँले बताउनुभयो ।

आइसोलेशनमा अक्सिजनलगायत कोरोना सङ्क्रमितको उपचारका लागि आवश्यक औषधि, जनशक्ति र औजार व्यवस्थापन गरिएको छ । चिकित्सक एकराज भण्डारीले एक सङ्क्रमितले आइसोलेशनबाट सेवासमेत लिइसकेका बताउनुभयो । आइसोलेशन सञ्चालनका लागि गाउँपालिकामा रहेका मौजुदा स्वास्थ्यकर्मीलाई परिचालन गरिएको छ । गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक सम्झना खाती क्षेत्रीका अनुसार ताकम र लुलाङ कोरोना सङ्क्रमणबाट प्रभावित भएका छन् । ताकममा १४, मुनामा दुई, धारापानीमा दुई र लुलाङमा सात सङ्क्रमित भएका छन् ।

“ताकममा नयाँ सङ्क्रमित थपिए पनि उनीहरूमा पखाला, ज्वरो र रुघाखोकीको लक्षण छ”, चिकित्सक भण्डारीले भन्नुभयो, “लुलाङका सङ्क्रमितमा बढी मात्रामा श्वासप्रश्वासको समस्या देखिएको छ ।” कोरोना नियन्त्रणका लागि धवलागिरि गाउँपालिकाले सङ्क्रमितको पहिचान, व्यवस्थापन, सुरक्षित उपचार र फैलिन नदिन जनचेतना अभिवृृद्धि गर्ने रणनीति लिएको छ । सङ्क्रमितलाई स्वास्थ्य संस्था र अस्पताल पुग्नका लागि दुईवटा निजी गाडी भाडामा लिएर सेवा दिएको छ ।

यसैगरी म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको जलजला गाउँपालिकाले कोरोना सङ्क्रमितको उपचारका लागि वडा न ३ मल्लाजमा १० शय्या क्षमताको आइसोलेशन स्थापना गरेको छ । यसअघि वडा नं ८ मा पर्ने नाग्लीवाङमा २० शय्या क्षमताको आइसोलेशन सञ्चालनमा ल्याएको जलजलाले शुक्रबारदेखि मल्लाजमा अर्को आइसोलेशन तयार पारेर सङ्क्रमितको उपचार शुरु गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्