विराटनगर । विराटनगर महानगरपालिकाले आइसोलेसन निर्माण गरेको छ । अक्सिजनसहितको ५१ बेडको आइसोलेसन स्थापना गरिएको हो ।
अस्पतालहरुमा बेड अभाव भइरहेका बेला विराटनगर महानगरले अस्पताल सरहकै आइसोलेसन तयार गरेको छ । विराटनगर महानगरपालिका वडा नम्बर १ स्थित भट्टा चोकमा रहेको आर.आर.एनको सभाहलमा ५१ बेडको अत्याधुनिक आइसोलेशन वार्ड बनाइएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले जानकारी दिनुभयो । आजदेखि संचालन हुने आइसोलेसनमा स्वास्थ्यकर्मीसहित अक्सिजनको व्यवस्था गरिएको छ ।
मानिसको जीवन रक्षाको लागि महानगरपालिकाको योजना अनुसार स्वास्थ्यकर्मीको व्यवस्थापन गरेर आइसोलेसन संचालनमा ल्याउन लागिएको बस्नेतले बताउनुभयो । आइसोलेसनमा स्वास्थ्यकर्मीहरुद्धारा मनोपरामर्श समेत दिइने स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताउनुभयो ।
आरएनएनका निर्देशक अर्जुन कार्कीले सभाहल उपलब्ध गराएर सेवा प्रवाहमा योगदान गरेपछि एसोसेयसन अफ प्राइवेट हेल्थ इन्सिच्युट नेपाल (अफिन) र मारवाडी युवामञ्च विराटनगरको सहयोगमा आईसोलेशन निर्माण भएको हो ।
आइसोलेसन निर्माण भएसँगै मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले अनुगमन गर्नु भएको थियो । त्यस क्रममा महानगरका मेयर भीम पराजुली, प्रमुख प्रशासकिय अधिकृत उमेश बस्नेतसहितको स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्की, वडा नं. १ का वडाध्यक्ष उद्धव अर्याल समेतले लगायत गर्नु भएको थियो ।