प्रदेशका तीन अस्पतालमा आठ जना संक्रमितको मृत्यु

प्रदेशका तीन अस्पतालमा आठ जना संक्रमितको मृत्यु

विराटनगर । प्रदेश १ मा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगरस्थित कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा १, नोबेल मेडिकल कलेजमा ५ र सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको मृत्यु भएको हो । यो तथ्यांक बिहान ८ बजेसम्मको हो ।

विराटनगरस्थित कोशाी अस्पतालमा रहेको कोभिड–१९ उपचार केन्द्रमा विराटनगर–१८ का ५५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । उपचार केन्द्रका सूचना अधिकारी अनुपम राजवंशीका अनुसार कोरोना संक्रमण पुष्टि भएपछि वैशाख २४ गते उपचारका लागि भर्ना भएका उनको सोमबार विहान ३ः३० बजेतिर मृत्यु भएको हो ।
विराटनगरकै नोबेल मेडिकल कलेजमा तीन वृद्धसहित ५ पुरुषको मृत्यु भएको छ । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार मृतकमध्ये २ जना प्रदेश २ को सिरहा र सप्तरीका तथा तीन जना प्रदेश १ को सुनसरी, उदयपुर र विराटनगरका बासिन्दा हुन् ।
सिरहाका ६५ वर्षीय वृद्ध पुरुषको बिहान ५ बजेतिर मृत्यु भएको छ । उनलाई उपचारका लागि वैशाख १७ गते अस्पताल भर्ना गरिएको दाहालले बताए ।

यस्तै सप्तरीको कन्चनपुरका ४५ वर्षीय पुरुषको बिहान ८ः४५ बजेतिर मृत्यु भएको जानकारी प्रबन्धक दाहालले दिए । कोरोना सङ्क्रमण पुष्टि भएका उनलाई उपचारका लागि वैशाख ३१ गते अस्पताल भर्ना गरिएको थियो ।
विराटनगर–४ का ४५ वर्षीय पुरुषको बिहान ४ः२० बजेतिर नोबेलमै मृत्यु भएको छ । कोरोना सङ्क्रमण पुष्टि भएपछि उनलाई उपचारका लागि जेठ १ गते शनिबार अस्पताल भर्ना गरिएको थियो । सुनसरीको इनरुवा नगरपालिका–१ का ६२ वर्षीय वृद्ध पुरुषको पनि नोबेलमै उपचारका क्रममा मृत्यु भएको छ । उनलाई उपचारका लागि वैशाख २३ गते अस्पताल भर्ना गरिएको थियो । वृद्धको मृत्यु बिहान ६ बजेतिर भएको दाहालले बताए ।
उदयपुर कटारीका ७४ वर्षीय वृद्ध पुरुषको पनि उपचारकै क्रममा मृत्यु भएको छ । दाहालका अनुसार उनको मृत्यु आइतबार राति १०ः३० बजेतिर भएको हो । कोरोनाका कारण अवस्था गम्भीर रहेका वृद्धालाई उपचारका लागि वैशाख २५ गते अस्पताल भर्ना गरिएको उनको भनाइ छ ।

उता सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका अनुसार सुरुङ्गा १, सप्तरीकी ७० बर्षीया महिलाको बिहान ७ः४५ बजे मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार उच्चरक्तचाप र मधुमेहको दीर्घरोगी उनलाई जेठ १ गते प्रतिष्ठानमा भर्ना गरिएको थियो ।
सोमबार बिहान साढे ६ बजे त्रियुगा ३, उदयपुरकी ५० बर्षीया महिलाको पनि प्रतिष्ठानकै कोभिड अस्पतालमा मृत्यु भएको छ । मृतकलाई पनि उच्च रक्तचाप र मधुमेहको समस्या थियो । वैशाख २७ गते संक्रमण पुष्टि भएपछि २८ गते उनलाई कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्