गाउँभरि ज्वरोका बिरामी, परीक्षण गरेका अधिकांशमा कोभिड–१९ सङ्क्रमण

<span class='c1'>गाउँभरि ज्वरोका बिरामी, परीक्षण</span> <span class='c2'>गरेका अधिकांशमा कोभिड–१९ सङ्क्रमण</span>

पाँचथर

गाउँबाट बाहिर नगएका पाँचथरको हिलिहाङ गाउँपालिका–५ का एक कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि गाउँपालिकाको स्वास्थ्य शाखाले उक्त स्थानमा सङ्क्रमणको शुरुआत खोज्न थाल्यो । यस क्रममा ती कर्मचारी वैशाख २४ गते सोही वडाको मालबाँसे टोलमा विवाहमा गएको पत्ता लाग्यो । स्थानीय जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, शिक्षकलगायत परिचालन गरी खोजी गर्ने क्रममा मालबाँसे टोलका अधिकांश स्थानीयवासीमा ज्वरो, रुघाखोकीलगायतका स्वास्थ्य समस्या देखियो । आइतबार उक्त टोलका आठ जनामा गरिएको एन्टिजेन परीक्षणमा सबैमा कोभिड–१९ सङ्क्रमण पुष्टि भयो ।

आइतबार आठ जनामा सङ्क्रमण देखिएपछि सोमबार मालबाँसे टोलबाटै नौ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र गोपेटार पठाई एन्टिजेन परीक्षण गर्दा आठ जनामा सङ्क्रमण देखियो । “घरैपिच्छे बिरामी हुनुहुन्छ । सबैको परीक्षण गराउनुपर्ने आवश्यकता छ”, स्थानीयवासी दिलकुमार खुदाङले भन्नुभयो, “धेरै जना हुँदा भौतिक दूरी कायम गरेर बस्न र राख्नसमेत गाह्रो परिरहेको छ ।” मास्क र स्यानिटाइजरसमेतको अभाव भएको र तत्कालै सबैको परीक्षण प्रबन्ध गर्नुपर्ने उहाँको भनाइ छ ।

“गाउँभरिमा १५० भन्दा बढी बिरामी छन् । सबैमा कोभिड–१९ सँग मिल्ने लक्षण देखिएका छन्”, खुदाङले भन्नुभयो, “निषेधाज्ञाले गर्दा हामीले स्थानीयस्तरबाट मास्क, स्यानिटाइजरको प्रबन्ध गर्न, गम्भीर समस्या भएकालाई अस्पताल पठाउने कामसमेत गर्न सकेका छैनौँ ।” कोभिड–१९ सँग लक्षण मिल्ने बिरामी गाउँभरि हुँदा समेत सरकारी निकायले पर्याप्त चासो नदिएको उहाँको गुनासो छ ।

सोमबार सोही विवाहमा सहभागी भएका हिलिहाङ–३ डाँढे टोलका सात जनामा गरिएको एन्टिजेन परीक्षणमा तीन जनामा कोभिड–१९ पुष्टि भयो । हिलिहाङ–३ का स्थानीयवासीसमेत रहनुभएका गाउँपालिकाका कर्मचारी शम्भुराज पालुङ्वाले भन्नुभयो, “परीक्षण गराएकाहरुमा सङ्क्रमण पुष्टि भयो । घरैपिच्छे बिरामी भए पनि अधिकांशले घरेलु औषधि र सिटामोल, निम्स, साइनेक्स जस्ता स्थानीय स्तरमा उपलब्ध औषधि सेवन गरिरहेका छन् ।” हालसम्म कसैलाई पनि गम्भीर समस्या नदेखिएको पालुङ्वाको भनाइ छ । उनीहरु पनि हिलिहाङ–५ को विवाहमा सहभागी भएका कारण त्यहीँबाट सङ्क्रमण भएको स्थानीयवासीको अनुमान छ ।

हिलिहाङ–५ सुभाङमा मात्रै हालसम्म २० जनामा कोरोना सङ्क्रमण देखिएको छ भने गाउँभरि ज्वरो, रुघाखोकीलगायत कोभिड–१९ सँग लक्षण मिल्ने बिरामी भेटिएका छन् । “हाम्रो वडाको मालबाँसे, भालुखोपलगायत टोलका ५५ भन्दा बढी घरमा बिरामी छन् । तर कसैलाई पनि गम्भीर समस्या भने छैन”, स्थानीयवासीसमेत रहनुभएका गाउँपालिकाका प्राविधिक ओमप्रकाश पौडेलले भन्नुभयो, “अरु बेलाको जस्तो मौसमी स्वास्थ्य समस्या ठानेर अहिलेसम्म सबैले पचाइरहेका छन् । तर परीक्षण गरिएकाहरुमा कोरोना सङ्क्रमण देखिएको छ ।” हिलिहाङ गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख चन्द्रप्रसाद घिमिरे परीक्षण गरिएका अधिकांश स्थानीयवासीमा कोरोनाको सङ्क्रमण देखिएको बताउनुहुन्छ । सोमबार नै हिलिहाङकै वडा नं १ मा पाँचमा सङ्क्रमण देखिएसँगै उक्त गाउँपालिकामा मात्रै सङ्क्रमतिको सङ्ख्या ३९ पुगेको घिमिरेको भनाइ छ ।

गाउँपालिका अध्यक्ष भुवानीप्रसाद लिङ्देनले बिरामीको सङ्ख्या बढ्दै गएको भन्दै जटिल बिरामीलाई तत्कालै उद्धार गर्ने प्रबन्ध मिलाइएको बताउनुभयो । गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र गोपेटारमा अक्सिजनसहितका १० शय्या तयार पारेको छ । कन्ट्याक्ट टे«ेसिङमा परेका तथा लक्षण देखिएका बिरामीलाई प्राथमिक स्वास्थ्य केन्द्रमै एन्टिजेन परीक्षण गर्ने प्रबन्ध मिलाइएको अध्यक्ष लिङदेनले बताउनुभयो । “तर गाउँबस्तीमा सङ्क्रमित थपिँदै जाँदा चुनौती थपिएको छ”, उहाँले भन्नुभयो ।

प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले विवाह, व्रतबन्धलगायतका भीडभाड हुने कार्यका कारण जिल्लाका गाउँबस्तीमा कोभिड–१९ सङ्क्रमण देखिएको बताउनुभयो । प्रजिअ ढकालले भनेजस्तै फिदिम नगरपालिका–११ नांगीन, याङवरक गाउँपालिका–१ च्याङथापू, फालेलुङ गाउँपालिका–२ एकतीनमा विभिन्न धार्मिक कार्यक्रमका कारण सङ्क्रमण बस्तीसम्म फैलिएको पाइएको छ । यी स्थानमा ज्वरो, रुघाखोकीका बिरामीको सङ्ख्या उल्लेख्य रहे पनि धेरैको परीक्षण नै हुनसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्