काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमतको सरकार बनाउन १५३ सांसदको सूचीसहित राष्ट्रपति कार्यालयमा दावी पेश गर्नुभएको छ । उता विपक्षी दलका नेताहरु पनि १४९ को हस्ताक्षर लिएर शीतल निवास पुगेको खवर छ ।
प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईकाअनुसार नेकपा (एमाले) बाट १२१ जना सांसद र जनता समाजवादी पार्टी (जसपा) नेपालका ३२ सांसदसहित १५३ सांसदको दावी पेश गरिएको हो । जसपा नेपालको तर्फबाट संसदीय दलका नेता राजेन्द्र महतोको हस्ताक्षरमा सांसदहरुको सूची उपलब्ध गराइएको छ । सो दलले केही दिनअघिमात्र संसदीय दलको नेतामा महतोलाई चयन गरिएको पत्र संघीय संसद सचिवालयमा दर्ता गराएको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसार बैकल्पिक सरकार गठनको विहिबार साँझ आव्हान गर्नुभएको थियो । आज साँझ ५ बजेसम्म समयसीमा दिइएको भएपनि समय अगावै नै प्रधानमन्त्री ओलीले सो दावी गरेर शीतल निवासबाट बालुवाटार फर्किसक्नुभएको डा. भट्टराईले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले दावी गर्नुभएपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा दलबलसहित शीतल निवास पुग्नुभएको थियो ।
नेता माधवकुमार नेपाल पक्षका २७ जनाको हस्ताक्षरसहित देउवा शीतल निवासमा दावी पेश गर्न जानु भएको भनिए पनि एमालेको सांसदहरुले आफूहरुलाई जानकारी नै नदिई हस्ताक्षर दुरुपयोग गरिएको प्रतिक्रिया दिनु भएको छ । उहाँहरुको तर्फबाट विज्ञप्ति जारी गर्ने तयारी पनि गरिएको एमाले स्रोतले बताएको छ ।
-गोरखापत्र अनलाइन