विराटनगर । विराटनगरको नोबेल मेडिकल कलेजमा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । संक्रमणपछि उपचारका लागि भर्ना भएका दश जनाको उपचारकै क्रममा मृत्यु भएको हो ।
अस्पतालका प्रवन्धक नारायण दाहालका अनुसार शनिबार बिहान ६ जना र शुक्रबार राति चारजनाको मृत्यु भएको थियो । मोरङ पथरी शनिश्चरे नगरपालिका–४ का ३५ वर्षीय पुरुषको शनिबार मृत्यु भएको हो । कोरोना पोजेटिभ देखिएपछि उनी वैशाख ३० गते अस्पतालमा भर्ना भएका थिए । सप्तरीको कञ्चनरुप नगरपालिका–१२ का ७० वर्षीय वृद्धको पनि गएराति करिब १ बजे मृत्यु भएको छ । उनलाई जेठ २ गते नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।
महोत्तरीको बर्दिवास नगरपालिका–१ का ५१ वर्षीय पुरुष र बर्दिवास–५ का ६० वर्षीय पुरुषको पनि मृत्यु भएको छ । ५१ वर्षीय पुरुषलाई वैशाख २६ गते भर्ना गरिएको थियो । उनको शनिबार बिहान साढे ११ बजे मृत्यु भएको हो । बर्दिबास–५ का पुरुषलाई बिहीबार नोबेलमा भर्ना गरिएको थियो । उनको शनिबार बिहान पौने ११ बजे मृत्यु भएको हो ।
यसैगरी शुक्रबार राति करिब १० बजे झापाको कन्काई नगरपालिकाका ५२ वर्षीय पुरुषको मृत्यु भएको छ । उनलाई शुक्रबार नै अस्पताल भर्ना गरिएको थियो । यसैगरी सुनसरीको इनरुवा नगरपालिका–९ का ७५ वर्षीय वृद्धको शुक्रबार बेलुका करिब ७ बजे मृत्यु भएको छ । उनलाई शुक्रबार मात्रै अस्पतालमा भर्ना गरिएको थियो ।
मोरङको धनपालथान गाउँपालिका–६ की ३५ वर्षीया महिलाको पनि शुक्रबार राति ९ बजे मृत्यु भएको छ । उनलाई जेठ ७ गते भर्ना गरिएको थियो ।झापाको भद्रपुरका ४० वर्षीय पुरुष, विराटनगर महानगरपालिका–५ का ४६ वर्षीय पुरुष र सुनसरीको रामधुनी नगरपालिका–३ का ३८ वर्षीय पुरुषको पनि मृत्यु भएको नोबेल अस्पतालले जनाएको छ ।
विराटका कोभिड अस्पताल इन्चार्ज सुनिल देवका अनुसार कोरोना संक्रमित विराटनगर महानगरपालिका–१० घर भएका एक पुरुषको मृत्यु भएको छ । यसैगरी विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा झापाका एक पुरुषको मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी अनुपम राजवंशीका अनुसार झापाको गौरादह–४ का ३० वर्षीय पुरुषको मृत्यु भएको हो ।