विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले अक्सिजन सिलिन्डर उपलब्धताका आधारमा मात्रै कोरोना संक्रमितका नयाँ बिरामीको भर्ना लिने जनाएको छ । वीपीमा रहेको अक्सिजन प्लान्ट बिग्रिएकोले मर्मत नहुँदासम्म भर्ना भईसकेका संक्रमितका लागि आवश्यक अक्सिजन अस्पतालले विभिन्न कम्पनिबाट आपूर्ति गर्ने भएपनि नयाँ बिरामीका लागि व्यवस्थापन मिलाउन नसक्ने जनाएको हो ।
वीपीका सह–प्रवक्ता डा.चुरामणी पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ–नयाँ बिरामी भर्ना गर्दा अक्सिजन सिलिन्डरको उपलब्धताका आधारमा मात्रै गर्नेछौं । सरकारी अस्पतालले अक्सिजनको सिलिन्डर बिरामीका आफन्तले नै उपलब्ध गराउनु पर्ने आशयको सूचना जारी गरेको हो ।
सरकारले बिरामीका आफन्तलाई अक्सिजन खोज्न नलगाउनु भन्ने निर्णयसहितको परिपत्र गरेपनि भरपर्दो मानिएको वीपीले नै बिना अक्सिजन सिलिन्डरका संक्रमित नागरिकलाई भर्ना गर्न नसक्ने जनाउ दिएको छ ।