सर्वसाधारणलाई घरमा थुनेर विराटनगरका पहुँचवाला उद्योगीलाई सुटुक्क खोप, स्थानीयले गरे विरोध

सर्वसाधारणलाई घरमा थुनेर विराटनगरका पहुँचवाला उद्योगीलाई सुटुक्क खोप, स्थानीयले गरे विरोध

विराटनगर । बारम्बार गरिएको मागपछि विराटनगरका उद्योगीका लागि खोप लगाउने कार्यक्रमलाई सर्वसाधारणले विरोध जनाएका छन् । उद्योगी र सरकारमा आवद्ध दलका कार्यकर्तालाई सुटुक्क खोप लगाइरहेको स्थानमा सर्वसाधारण पुगेर प्रश्न गरेपछि खोप कार्यक्रम समेत प्रभावित बनेको छ ।

प्रदेश १ सरकारले विराटनगरका उद्योगीको माग अनुसार खोप उपलब्ध गराएको थियो । तर, राज्यले सुटुक्क कोरोना विरुद्धको खोप लगाउने जस्तो कार्यक्रम गरेपछि सर्वसाधारणले विरोध गरेका हुन् । सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको दोस्रो डोजको खोप मुख्यमन्त्री कार्यालयमै लगाउने तयारी थियो । तर, त्यहाँ भीडभाड हुने भएपछि उद्योगी–व्यवसायीलाई विराटनगर तीनपैनी चोकमा रहेको सिटी सिनेमामा खोप लगाउने कार्यक्रम राखिएको थियो ।
उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलको लगानी रहेको सिमेनामा हलमा निश्चित व्यक्तिहरुलाई मात्रै बोलाइएको थियो । काठमाडौँमा सिमित खोप रहेको कारण देखाउँदै फ्रन्टलाइनमा रहेर काम गर्ने स्वास्थ्यकर्मीहरुले सेरम इन्सटिट्युटले उत्पादन गरेको कोभिसिल्ड खोप नपाइरहेका बेला प्रदेश १ मा भने सत्तारुढ दलले आफू निकट व्यवसायी र कार्यकर्तालाई खोप लगाएको खुलेको छ ।
पहुँचवालालाई खोप दिएको सूचना पाएपछि सर्वसाधारणले आफूहरुलाई समेत खोप उपलब्ध हुनुपर्ने माग गर्दै सिटी सिनेमामा घेराउ गरेका थिए ।

पहुँचवाला र धनीलाई मात्रै खोप दिएको बुझिएको छ, विरोधका लागि आएका अखिलका नेता ताजिम अन्सारीले भने–यो सरकारलाई आम नागरिक चाहिएकै हैन , आफ्नो कार्यकर्ता र धनी भए पुग्नेरहेछ ।
सर्वसाधारणले सिटी सिनेमा हल तीनपैनी क्षेत्रमा विरोध जनाएपछि प्रहरी समेत पुगेको थियो । मोरङ प्रहरी उपरीक्षक सन्तोष खड्काले अनावश्यक भीडभाड भएको कुरा बुझ्न जाँदा मात्रै खोप लगाउने कुरा जानकारीमा आएको बताउनुहुन्छ ।

यता नेपाली काङ्ग्रेस प्रदेश १ प्रमुख सचेतक केदार कार्की सरकार पक्षीय व्यक्तिहरुलाई मात्रै खोप लगाउने राज्यले लिएको नीति नागरिकप्रति अनुत्तरदायि बन्नु रहेको बताउनुहुन्छ । उहाँले नागरिकलाई घरभित्रै राखेर हुनेखानेहरुलाई प्रदेश सरकारले खोप लुकाएर लगाउँदै आएको आरोप लगाउनुभयो । प्रदेश सरकारका विभिन्न मन्त्रालयहरुमा एकसातादेखि नै साटाकसुटुक खोप लगाउने कार्यक्रम भईरहेको सूचना बारे नागरिकले चासो राख्दै आएका थिए । पछिल्लो समय यो कार्यप्रति धेरैले प्रश्न गर्न थालेपछि उद्योगीहरुलाई समेत लुकाएर खोप लगाउने सरकारी तयारी देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्