अक्सिजन अभावले विराटनगरका अस्पतालमा शर्तसहित संक्रमित भर्ना

अक्सिजन अभावले विराटनगरका अस्पतालमा शर्तसहित संक्रमित भर्ना

विराटनगर । अक्सिजनको अभाव देखाउँदै विराटनगरमा कोभिड संक्रमितको उपचार गर्दै आएका अस्पतालहरुले नयाँ भर्ना लिन छोडेका छन् । शै्या खालि भएपनि बिरामीलाई सहज रुपमा भर्ना लिन अस्पतालले अक्सिजनको शर्त राख्ने थालेका हुन् । आवश्यक पर्ने अक्सिजन आफैले ल्याउनु पर्ने शर्त पूरा गर्ने संक्रमितलाई मात्रै भर्ना लिन थालिएपछि अवस्था सामान्य भन्दा बाहिर गएको छ ।
विराटनगरमा सञ्चालित कोभिड अस्पतालमा पाँच दिनदेखि अक्सिजन अभाव हुन थालेको सञ्चालकहरुले गुनासो गर्दै आएका थिए । अक्सिजनको सहज आपूर्ति नहुँदा अस्पतालमा उपचाररत बिरामीहरुको ज्यान समेत जोखिममा परेको छ । अस्पतालहरुले भर्ना भएका बिरामी डिस्चार्ज भएपछि मात्र नयाँ भर्ना लिन थालेका छन् ।

प्रदेश सरकारले सञ्चालन गरेको कोशी कोभिड–१९ उपचार केन्द्रमा नै अक्सिजनको अभाव छ । उक्त केन्द्रमा हाल ७५ जना कोभिड संक्रमितहरुको उपचार भइरहेको छ । अक्सिजनको अभावका कारण ९६ शैयाको यस अस्पतालले थप बिरामी भर्ना लिन छोडेको छ । दैनिक पाँच सय अक्सिजन सिलिण्डर खपत हुने गरेको यस अस्पतालमा हाल अभाव रहेको छ । अस्पतालले मारुती, विनायक र भाजुरत्न अक्सिजन ईन्डिष्ट्रिजबाट अक्सिजन ल्याउने गरेको थियो ।

अस्पतालहरु अक्सिजन उद्योगमा जाँदा लाईन लाग्नुपर्ने बाध्यता रहेको अस्पतालका सूचना अधिकारी अनुपम राजवंशीले जानकारी दिनुभयो । प्रदेशमा अक्सिजन आपूर्ति सहज हुने विश्वास दिलाएका उद्योगीहरुले अहिले एकाएक काम गर्न नभ्याएर अभाव भएको बताउन थालेका छन् ।
नोबेल मेडिकल कलेज पनि अक्सिजन अभावमै आफ्नो क्षमता २२० बेडबाट घटाएर १९० बेडमा झारेको छ । अस्पतालमा हाल १ सय ५५ जना संक्रमितहरुको उपचार भइरहेको छ । अक्सिजन आपूर्तिमा कुनै समस्या नभए क्षमता वृद्धि गरेर २५० बेडको अस्पताल सजिलै सञ्चालन गर्न सकिने नोबेल मेडिकल कलेजका निर्देशक डा. राजेश नेपालले बताउनुभयो । नोबेलमा दैनिक ३६० वटा अक्सिजन सिलिण्डर खपत हुन्छ । अस्पतालको आफ्नै अक्सिजन प्लान्टले दैनिक १२० सिलिण्डर उत्पादन गर्छ । बाँकी २४० सिलिण्डर उद्योगबाट ल्याउनुपर्छ ।

विराट मेडिकल कलजेद्धारा सञ्चालित २९१ क्षमताको कोभिड अस्पतालको समस्या पनि उस्तै छ । यो अस्पतालमा हाल १०४ जना संक्रमितहरु उपचाररत छन् । यो अस्पतालमा पनि विरामीहरुका लागि बेड त छन् । तर, अक्सिजन आपूर्ति सहज नहुँदा क्षमता अनुसारको विरामी भर्ना गर्न नसकिएको अस्पातलले जनाएको छ । अस्पतालमा दैनिक माग ८ सय ५० सिलिण्डर अक्सिजन चाहिन्छ ।
तर हाल ४ सय ५० सिलिण्डर मात्र आपूर्ति भईरहेको अस्पतालले जनाएको छ । आपूर्ति भइरहेको अक्सिजन पनि पुर्ण क्षमतामा खपत भईरहेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत डेनिस कार्कीको दावी छ । ब्याकअप नभएको र भर्ना भएका बिरामीलाई अन्यत्रै पठाउने अवस्था पनि नरहेकोले ठूलो चुनौती आइपरेको कार्कीको गुनासो छ ।

न्यूरो–कार्डियोद्धारा सञ्चालित कोभिड अस्पतालमा समेत अक्सिजन अभावले हैरानी पारेको छ । अस्पतालमा ३८ जना कोरोना संक्रमितहरुको उपचार भईरहेको छ । अस्पतालमा दैनिक ९० वटा अक्सिजन सिलिण्डर चाहिन्छ तर २६ वटा अक्सिजन सिलिण्डर उपलब्ध हुँदै आएको छ ।
प्रदेश १ को मोरङमा मारुती र हिमाल तथा सुनसरीमा विनायक, पाथिभरा र दुर्गा उद्योगले अक्सिजन उत्पादन गरिरहेका छन् । संक्रमणसँगै माग बढेपछि धान्न समस्या भइरहेको उद्योग सञ्चालकको भनाई छ । प्रदेश २ बाट पनि अक्सिजनको माग हुन थालेपछि आपूर्तिमा समस्या भएको सञ्चालकहरुले जनाएका छन् ।

मोरङको बुढीगंगास्थित हिमाल अक्सिजनले भने दैनिक ५५० सिलिण्डर अक्सिजन उत्पादन गरिरहेको छ । प्रदेश १ मा हालसम्म ५६ हजार ३७७ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । जसमा ३५ हजार ५३२ जना संक्रमणमुक्त भएका छन् । ८ सय ८५ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्