बिक्री नहुँदा विराटनगर आयोजनाको गोदाम दूधले भरियो, किसान भने रित्तै हात

बिक्री नहुँदा विराटनगर आयोजनाको गोदाम दूधले भरियो, किसान भने रित्तै हात

विराटनगर । दूधजन्य वस्तुको बिक्रीमा आएको ह्रासका कारण डेरी उद्योगलाई किसानबाट संकलित दूधको व्यवस्थापन गर्न मुश्किल पर्न थालेको छ । कोरोना संक्रमण र निषेधाज्ञासँगै बजारमा खपत घटेपछि दूध तथा दूधका उत्पादन विक्री कारोबारमा ६० प्रतिशतले गिरावाट आएको हो ।

दुग्ध विकास संस्थान अन्तर्गत, विराटनगरस्थित दुग्ध वितरण आयोजनाले किसानबाट संकलित दूधको पाउडर उत्पादन गरेर भण्डारण गर्दै आएको छ । त्यस बाहेक डेरी उद्योगहरुलाई बजारमा दूधको खपत घटेका कारण समस्या परिरहेको छ । आयोजना प्रमुख गणेश यादवले पूर्वक्षेत्रका विभिन्न जिल्लाबाट दैनिक २५ हजार लिटर दूध संस्थानले संकलन गरिरहेको जानकारी दिनुभयो ।

दूध र दूधजन्य उत्पादनको विक्रीमा घटेका कारण विराटनगर आयोजनाले पाउडर बनाउने गरेको प्रमुख यादवले बताउनुभयो । आयोजनामा संकलित भए बाहेक आयोजनामा हेटौंडा र बुटवलबाट दैनिक ७ हजार लिटर दूध समेत आईरहेको उहाँले बताउनुभयो । तर, उत्पादनमध्ये ४० प्रतिशत मात्रै सामाग्री बिक्री भएकाले आयोजनालाई पाउडरसहितका वस्तु थन्क्याउन हम्बेहम्बे परिरहेको छ । प्रमुख यादवले गत वर्षको लकडाउनमा उत्पादित दुग्ध सामग्री नै गोदाममा थन्क्याइरहनु परेका बेला थप सामग्री उत्पादन गर्नुपर्दा झन् समस्या थपिएको बताउनुभयो । विराटनगरस्थित आयोजनाको गोदाममा १३ करोडभन्दा बढी मूल्यको २३७ मेट्रिक टन पाउडर, ३ करोड ५० लाख बराबरको ५० मेट्रिक टन नौनी तथा ८५ लाख बराबरको तयारी घ्यू रहेको यादवले बताउनुभयो ।

उत्पादन भएको सामाग्री बिक्री नहुँदा आयोजनाले किसानलाई विगत ३ महिनादेखि भुक्तानी गर्न सकेको छैन । किसानको १२ करोड नजिक भुक्तानी दिनुपर्ने बाँकी रहेको छ । वैशाखदेखि असारसम्मको तीन महिना मूख्य सिजनको रुपमा बिक्री हुने दूध तथा उत्पादित वस्तु गतवर्ष र योवर्ष नै बिक्री भएको छैन । कोभिड र लकडाउनका कारण गत वर्षको ३ महिना बिक्री ठप्प भएजस्तै यसवर्ष समेत सिजनमै बिक्री घटेको छ । आउँदा तीज, दशैँ, तिहार र छठ पर्वमा सहज नभएको अवस्थामा झन् भुक्तानी असन्तुलन बढ्न नसक्ने संभावना छ । आयोजना प्रमुख यादवका अनुसार अहिले दैनिक तीन टनसम्म पाउडर उत्पादन गरेर भण्डारण गर्ने गरिएको छ ।

अन्य समय निजी क्षेत्रले पठाएको दूध प्रशोधन गरेर पाउडर उत्पादन गर्दै आएको आयोजनाले लकडाउनमा डेरीको दूध पेल्न छाडेको छ । आयोजनामै बढी भएको दूध तथा संस्थान अन्तर्गत हेटौडा र बुटबलबाट आएको दूध पेल्नुपर्ने दवाव रहेका कारण निजी डेरीको दुध पेल्न छोडेको हो । विराटनगरमा निजी क्षेत्रको सूर्योदय मिल्क एन्ड बेभरेज इण्डष्ट्रिले सामान्य अवस्थामा दैनिक ६ हजार लिटर दूध संकलन गर्दै आएकोमा १ हजार ५ सय लिटर दूधको पाउडर बनाएर ४ हजार ५ सय लिटर प्रशोधन गर्ने गर्दथ्यो ।

निषेधाज्ञापछि विराटनगरस्थित आयोजनाले निजी क्षेत्रका डेरीले ल्याएको दूधबाट हुने पाउडर उत्पादनलाई नियमित गर्न सकेको छैन । आयोजनाका प्रमुख गणेश यादवले आफ्नै मातहत संकलित दूधको पाउडर बनाउन नै नभ्याइने अवस्था भएकाले निजी क्षेत्रको दूधबाट पाउडर उत्पादन गर्न नसकिएको बताउनुभयो । सूर्योदय डेरीका सञ्चालक मनोज यादवले अहिले संकलित दूध बिक्री गर्न समस्या परिरहेको बताउनुभयो । उहाँले, प्रदेश सरकारसित निजी क्षेत्रको दूधबाट पनि पाउडर उत्पादन गर्ने शर्त राखेर आयोजनाले पाउडर प्लान्टको क्षमता विस्तारका लागि १० करोड रुपिँया लिएपनि यस्तो बेला समस्या समाधान नभएको बताउनुभयो ।

झापाको काँकडभिट्टास्थित एनएमसी डेरीका अध्यक्ष रामचन्द्र उप्रेतीले यस वर्षको लकडाउन सुरु भएपछि एनएमसीको बजार ५० प्रतिशतले कमि आएको बताउनुभयो । कोभिडको पहिलो भेरियन्टका समयमा दैनिक १२ हजारदेखि १३ हजार लिटर दूध संकलन हुने भएपनि अहिले दैनिक ६ हजार लिटर मात्रै संकलन गरिरहेको उप्रेतीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्