डिउटीमा रहेका प्रहरीद्वारा कोशीका स्वास्थ्यकर्मीमाथि कुटपिट : विरोधमा चिकित्सक, प्रहरीले थाल्यो अनुसन्धान

डिउटीमा रहेका प्रहरीद्वारा कोशीका स्वास्थ्यकर्मीमाथि कुटपिट : विरोधमा चिकित्सक, प्रहरीले थाल्यो अनुसन्धान

विराटनगर । कोशी अस्पतालमा डिउटी सकाएर घर फर्कदै गरेका स्वास्थ्यकर्मीमाथि मंगलबार राती देवकोटा चौकमा प्रहरीले कुटपिट गरेको छ । कोशी अस्पतालमा पाँचौ तहका सिनियर अहेव अशोक राजबंशीलाई स्वास्थ्यकर्मी भनेर पहिचान खुल्दाखुल्दै पनि प्रहरीले कुटपिट गरेका हुन् । कुटपिटबाट राजबंशीको तिघ्रामा लौराको सुम्ला बसेको छ । आफू स्वास्थ्यकर्मी भएको र अस्पतालबाट काम सकाएर घर फर्केको भन्दा समेत प्रहरीले नसुनी कुटपिट गरेको पीडित राजबंशीेले बताउनुभयो ।

डिउटी सकाएर घर फर्कने क्रममा उनीमाथि कुटपिट भएपछि कोशीका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले बुधबार त्यसको विरोध गरेका छन् । अस्पताल र घरसम्म आउजाउ सहज बनाउनु भन्दै कोशीका चिकित्सक तथा स्वास्थ्यकर्मीले माग गरेपछि जिल्ला प्रहरी कार्यालयले समेत त्यस विषयमा छानविन गर्ने तयारी सुरु गरेको छ ।

स्वास्थ्यकर्मीलाई कुटपिट भएको विषयमा कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.चुमनलाल दासले जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्कालाई मंगलबार राती नै ध्यानाकर्षण गराउनु भएको थियो ।
बुधबार प्रहरी उपरीक्षकले कोशी अस्पतालमै पुगेर कुटपिट गरिएका स्वास्थ्यकर्मी राजबंशीलाई भेट्नु भएको थियो । मैले पनि उहाँलाई भेटेर आएँ, हामीले स्वास्थ्यकर्मीलाई हतोत्साहित गर्न हुँदैन, उपरीक्षक खड्काले भन्नुभयो–घटनाको विषयमा छानविन गर्न समिति बनाउने छु र विभागिय कारवाहीको दायरामा ल्याउनेछु ।

कोशीका मेसु दासले प्रहरी उपरीक्षकले कारवाही गर्ने प्रतिवद्धता जनाउनु भएको बताउनुभयो । डिउटीमा रहेका बखत प्रहरीले गरेको कुटपिटका विषयमा छानविन गर्ने र कुटपिट गर्ने विरुद्ध कारवाहीको माग गर्दै उजुरी दिने विषयमा सहमति भएको मेसु दासले जानकारी दिनुभयो ।
कोशीको प्रशासनसहित चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको गुनासो सुनेर जिल्ला प्रहरी कार्यालय फर्कनु भएका एसपी खड्काले डिउटीमा रहेका बखत स्वास्थ्यकर्मीलाई कुटपिट गर्ने प्रहरीको छानविन गरिने दावी गर्नुभयो । सबैले निषेधाज्ञाको पालना गरेर कार्यन्वयनमा सहयोग गर्नुपर्ने अवस्था छ, प्रहरी उपरीक्षक खड्काले भन्नुभयो–निषेधाज्ञा प्रहरीका लागि गरिएको भन्ने बुझाई हटाउँ, यो नागरिकको स्वास्थ्य सुरक्षाका लागि गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्