विराटनगर । निषेधाज्ञाका लागि जारी आदेश उल्लंघन गरेको आरोपमा मोरङ प्रहरीले विराटनगरबाट ४० जना व्यापारीलाई नियन्त्रणमा लिइएको छ । कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय मोरङले जारी गरेको निषेधाज्ञा उल्लंघन आरोपमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।
निषेधाज्ञा उल्लंघन गरेर अटेरी गर्ने व्यापारीहरूलाई नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिनुभयो । मंगलबार निषेधाज्ञाको उल्लंघन गरी पसल खोलेको आरोपमा जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका ४ जना व्यापारीसँग जरिवाना असुल गरेको थियो । कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ अनुसार उनीहरुलाई ३० हजार रुपैयाँका दरले जरिवाना गरिएको थियो ।
संक्रमण दर बढ्दै गएको कारण स्थानीय प्रशासनले मोरङमा निषेधाज्ञा थप कडाईका साथ कार्यान्यवन गर्ने जनाएको छ ।