एयरपोर्ट रोडको सवारी दुर्घटनाका बहुपक्षीय आरोप : ‘प्रोटेक्सन’ नगरिएको डिआईजी कार्कीको भनाई

एयरपोर्ट रोडको सवारी दुर्घटनाका बहुपक्षीय आरोप : ‘प्रोटेक्सन’ नगरिएको डिआईजी कार्कीको भनाई

नवराज कट्टेल

विराटनगर । विराटनगर–४ एयरपोर्ट रोडमा गत बिहीबार साढे ७ बजे दुर्घटनापछि फरार रहेका चालक पक्राउ गरेर कानुनी दायरामा ल्याउन आनाकानी भईरहेको छ । पीडित पक्ष कमजोर र दुर्घटना गराउने पक्ष पहुँचवाला हुँदा महानगरपालिका भित्रै भएको घटनामा संलग्नलाई दुईदिनसम्म पनि प्रहरीले पक्राउ नगरेपछि सर्वत्र आलोचना र चासो बढ्दै गएको हो ।

आलोचना गर्ने पक्षको चासो कानुन कार्यन्वयन गराउने प्रहरीकै संलग्नतामा पीडक पक्षलाई लुकाइएको आरोप समेत छ । घटनापछि मोरङ प्रहरीका अधिकारीले विवरण दिन गरेको आनाकानी र अनुसन्धान बङ्ग्याउने शैलीमा गरिएका कार्यले धेरैलाई अचम्मित समेत पारिसकेको छ ।
प्रहरीले दुर्घटना भएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारका चालक र सवारहरुले दुर्घटना अगाडी चियापान गरेको मुनालपथस्थित होटल एडमायरका सञ्चालक पंकज शाहलाई समेत केहि सोधपुछका लागि भन्दै झिकाएको छ । निषेधाज्ञामा होटल खोलेर मदिरा बिक्री गरेको आरोप समेत सञ्चालक शाहलाई लगाइएको छ ।

निषेधाज्ञामा सुनसान रहेको सडकमा गाडी अनियन्त्रित हुनुपर्ने कारण प्रत्यक्षदर्शीले बताउँदै आएका छन् । चालकले अत्याधिक मदिरा पीएर सवारी चलाएका कारण सुनसान सडक मै दुर्घटना भएको प्रत्यक्षदर्शीको भनाईलाई पुष्टि गर्ने आधारका लागि कुन होटलमा बसेर मदिरा पीएका थिए, यकिन गर्न सञ्चालक पक्राउ गरिएको प्रहरीको दावी छ ।
प्रदेशसभा सदस्य बिन्ध्या कार्कीका छोरा रविन कार्की सवारी चालक भएकै कारण उनी फरार रहेको निष्कर्ष प्रहरीले निकालेपनि पक्राउ भने गरिएको छैन । उनलाई प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक डिआईजी इश्वरबाबु कार्कीकै संलग्नतामा संरक्षण गरिएको एकथरीले गम्भीर आरोप समेत लगाएका छन् ।

तर, डिआईजी कार्कीले कानुनको नजरमा प्रहरीले कसैलाई छुट दिने काम नगर्ने दावी गर्दै, भगाउनेहरु पराजित हुने र प्रहरीले जसरी पनि पक्राउ गर्ने दावी गर्नुभयो । ‘मेरो नजरमा दुर्घटनापछि सवारी चालक रबिन कार्की वा अन्य समान हो, डिआईजी कार्कीले भन्नुभयो–कार्की भएकोले शंका गरिएको होला तर मलाई केहि फरक पर्दैन, जतिदिन भगाएपनि पक्राउ गरिन्छ ।
डिआईजी कार्कीले आफ्नो कुनै सम्बन्ध नजोडिएको बताउँदै भन्नुभयो–घटना छर्लङ्ग छ, दुनियाँले देखेको कुरा प्रहरीले लुकाउने विषय आउँदैन ।
तर, दुर्घटना गराउने पक्षका आफन्तले मृत्यु भएका भारत कटिहारका नागरिक मुकेश शर्माको शव परिवारलाई जिम्मा लगाईसकेका छन् । मोरङ कटहरी–२ का घाइते राजकुमार राजबंशीलाई अस्पतालबाट डिस्चार्ज गराएर घर फकाईसकेका छन् । भारतीय नागरिकको मृत्युको विषयमा दवाव दिने समूह कमजोर छ । कटहरीका राजबंशी परिवारले समेत घटनाको विषयमा पहुँचवालासँग बोल्न नसक्ने आशय व्यक्त गर्दै आएका छन् ।

मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मानबहादुर राईले कारमा पाँचजना सवार रहेकामध्ये केहिलाई बोलाएर सोधपुछ गरिएको जानकारी दिनुभयो । उहाँले अनुसन्धानलाई परिपक्क बनाउने हिसाबले प्रहरीले आफ्नो काम गरिरहेको दावी गर्नुभयो । होटलका सञ्चालकसँग त्यहाँ भित्र भएको गतिविधिसँगै निषेधाज्ञामा खोल्न नहुने होटल किन खोलियो ? भनेर सोधपुछ गरिएको प्रवक्ता राईले बताउनुभयो । प्रहरीले कारका चालक कार्कीलाई पक्राउ गर्न सादा पोशाकमा प्रहरी परिचालन गरेर निगरानी समेत गरिरहेको दावी गरिएको छ ।

यस अगाडी एउटा दुर्घटनामा चालक फेरेको पाइएपछि प्रहरीले अनुसन्धानबाट यातायात संघका व्यक्तिहरुलाई समेत पक्राउ गरेको थियो । यो घटनामा चालक फेरेर अनुसन्धान गर्नसक्ने संभावना दुर्घटनामा संलग्नका परिवारले आफैं कमजोर बनाईसकेको प्रहरीको बुझाई छ । चालक कार्कीको परिवारले दुर्घटनाबाट मृत्यु भएका भारतीय नागरिक शर्माका परिवारलाई ५० हजार भारतीय रुपैँयासहित शव बुझ्न आफैं पहल लिएका थिए । यसैगरी घाइते मोरङ कटहरीका राजबंशीको उपचार खर्च बेहोर्ने र डिस्चार्ज गराउने काम समेत गरिसकेका छन् ।

प्रहरीले यो प्रकरणलाई कानुनको परिधि बाहिरबाट चलखेल गर्न खोजेको भन्ने रुपमा बुझेको छ । कुनै पनि तवरले कानुन बाहिरबाट यो प्रकरण सोझिदैन, डिआईजी कार्कीले भन्नुभयो–कसैले छिपाउँछु भनेर नछिप्ने घटना भएपछि संलग्नले कानुनी दायरामा आउँनैपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्