काठमाडौं । पाँच पूर्वप्रधानमन्त्रीले नेपालको आन्तरिक राजनीतिमा बाह्य चलखेल बन्द हुनुपर्ने बताउनु भएको छ । पूर्वप्रधानमन्त्रीहरुले शनिबार संयुक्त वक्तव्यमार्फत यस्तो अपिल गर्नु भएको हो ।
पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र डा। बाबुराम भट्टराईले शनिबार संयुक्त वक्तव्य जारी गर्दै नेपालको बारेमा नेपालीले नै निर्णय गर्नुपर्ने बताउनु भएको छ ।
संवैधानिक व्यवस्था, कानूनी राज्य र लोकतन्त्रका आधारभूत सिद्धान्त एवं मूल्यमाथि भइरहेको निरंकुश हमलाविरुद्ध ऐक्यवद्धता जनाउन अपील गर्दै पूर्वप्रधानमन्त्रीहरुले वतव्यमार्फत भन्नुभएको छ ‘नेपालको बारेमा हामी नेपालीले नै निर्णय गर्नुपर्छ र नेपालको आन्तरिक राजनीतिमा बाह्य शक्तिको प्रत्यक्ष वा परोक्ष हस्तक्षेप एवं चलखेल हुन नपाओस् भन्नेमा सजगताका लागि सबैको ध्यानाकर्षित गर्न चाहन्छौं ।’
पाँचपूर्व प्रधानमन्त्रीले ढुंगा–गिटी विदेश निर्यात गर्ने निर्णय राष्ट्रहित विपरित र जनविरोधी भएको भन्दै फिर्ता लिन सरकारसँग आग्रह गर्नु भएको छ । ‘प्रधानमन्त्रीका गलत क्रियाकलापका कारण देशले अस्थिरता र अन्योलग्रस्त राजनीतिक स्थितिको सामना गरिरहेको बेला कामचलाउ सरकारले घाटा बजेट पूर्ति गर्ने निहुँमा देशका विभिन्न भागबाट ढुंगा बालुवा र गिटी उत्खनन् गरी विदेशमा निकासी गर्ने राष्ट्रहित र जनविरोधी निर्णय गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘आफ्नो घरमा आगो लगाएर अरुको हितका लागि खरानी बेच्ने जस्तो सरकारको उक्त निर्णयको तीव्र विरोध गर्दै त्यस्तो निर्णय खारेज गर्न माग गर्दछौं ।’
विशेषतः चुरे र महाभारत शृंखलामा हुने यस्तो उत्खननबाट जंगल विनाश हुने र पानीका मुहानहरु सुक्ने तथा तराई क्षेत्रमा मरुभूमिकरण हुने स्थिति उत्पन्न हुने भन्दै यो निर्णय कार्यान्वयन गर्न नहुने पूर्वप्रधानमन्त्रीहरुको भनाइ छ । सरकार कामचलाउ स्थितिमा रहेको भन्दै दीर्घकालीन असर गर्ने निर्णय नगर्न चेतावनी समेत दिइएको छ । साथै यस्ता गलत काममा संलग्न नहुन प्रशासन र सुरक्षा निकायलगायत राज्यका अन्य अंगहरुसँग उनीहरुले आग्रह गरिएको छ ।
पूर्वप्रधानमन्त्रीहरुले सर्वसाधारणलाई यथाशीघ्र खोप उपलब्ध गराउन पनि सरकारसँग माग गर्नुभएको छ । अहिलेको सरकारले जनताको हित अनुसार काम नगरेको आरोप लगाउँदै विज्ञप्तिमा भनिएको छ, ‘संवैधानिक व्यवस्था, कानूनी राज्य र लोकतन्त्रका आधारभूत सिद्धान्त एवं मूल्यमाथि भइरहेको उपर्युक्त प्रकारको निरंकुश हमलाका विरुद्ध ऐक्यवद्धता जनाउन हामी नेपाली जनता, नागरिक समाज र सम्पूर्ण लोकतन्त्रवादी शक्तिहरुसँग हार्दिक अपील गर्दछौं ।’