लिम्चुङबुङ भ्यू–टपबाट नेपालका ६ वटा हिमाल अवलोकन

लिम्चुङबुङ भ्यू–टपबाट नेपालका ६ वटा हिमाल अवलोकन

भोटराज राई
उदयपुर । नेपालको आठ हजार माथिको आठवटा माथि रेञ्जका हिमालहरुमध्ये छ वटा उदयपुरको लिम्चुङबुङ एभरेष्ट भ्यूटपबाट अवलोकन गर्न सकिने भएको छ । लिम्चुङबुङ गाउँपालिकाको वडा ३ मा पर्ने दोबाटे डाँडाबाट सिधै विश्वको सर्वोच्च शिखर सगरमाथा (८८४८.८६) लगायत छ वटा हिमाल हेर्न पाइन्छ ।

सगरमाथा लगायतका हिमालहरु नजिकबाट सिधै हेर्न सकिने भएकाले पालिकाले सो ठाउँलाई लिम्चुङबुङ एभरेष्ट भ्यूटप नामकरण गरेको पालिका अध्यक्ष मेजरकुमार राईले बताउनुभयो । त्यहाँबाट देखिने अन्य हिमालमा कञ्चनजङ्घा (८५८६), लोत्से (८५१६), मकालु (८४८५), छ्यो यु (८१८८) र धवलागिरी (८१६७) छन् ।

लिम्चुङबुङ पारी रहेको खोटाङ, हलेसीले नछेक्ने भएपछि सोलुमा पर्ने सगरमाथालगायतका हिमाल सिधै अवलोकन गर्न सकिएको छ । सोलुमा सगरमाथा छ, लिम्चुङबुङमा सुन्दर भ्यू छ । अध्यक्ष राईले भन्नुभयो, “यसलाई पालिकाले प्रकृतिको अपार उपहारको रुपमा लिएको बताएको छ ।

अध्यक्ष राईका अनुसार विश्वका १० मध्ये नेपालमा आठ वटा आठ हजारमाथि रेञ्जका हिमाल छन् । त्यसमध्ये मनास्लु (८१६३) र अन्नपूर्ण (८०९१) बाहेक अन्य छवटा लिम्चुङबाट देखिनु पालिका र पालिकाबासीका लागि सौभाग्य रहेको बताउनुभयो । हिमालका छिमेकी जिल्लाहरुमध्ये सबैभन्दा राम्रो दृश्यावलोकन यहाँबाट हुने दावी उहाँहरुको छ ।

“यति धेरै हिमाल, आमने–सामनेजस्तो भई देखिने ठाउँ छ भने त्यो लिम्चुङबुङ नै हो” अध्यक्ष राईले भन्नुभयो “यहाँको ठाउँ नै पर्यटकले मन पराउने किसिमको छ ।” हिमालको अवस्थिति र लिम्चुङबुङको भूगोल दृश्यावलोकन मिलेको भएकाले पालिका पर्यटकीय विकासमा लागिपरेको बताएको छ ।

नाङ्गा पर्वत र केटु हिमाल भने पाकिस्तानमा पर्छ । ८६११ मिटर अग्लो केटु विश्वको दोस्रो अग्लो हिमाल हो । नाङ्गा पर्वत ८१२६ छ ।
समुन्द्र सतहदेखि २ सय ७५ मिटर उचाईमा रहेको लिम्चुङबुङ भ्यू–टपबाट उच्च हिमालहरु मात्र नभई सनराईज (उदाउँदो सूर्य) को पनि अवलोकन गर्न सकिन्छ । सुन्दर हिमाल र उदाउँदो सूर्यको दृश्यावलोकनले पर्यटकहरु आकर्षित गर्ने निष्कर्षका साथ सो ठाउँलाई पालिकाले प्रमुख पर्यटकीय स्थल घोषणा गरको छ ।
पालिकका प्रमुख प्रशासकीय अधिकृत टार्जन लिम्बुका अनुसार सो ठाउँलाई पर्यटकीय विकास गर्ने उद्देश्यले पालिका र पर्यटन मञ्त्रालयको लगानीमा ७२ फिटको एभरेष्ट भ्यू–टावर निर्माणको काम थालिएको छ । तीन वर्षसम्म हरेक वर्ष मन्त्रालयले डेढ करोड र पालिकाले ५० लाखको दरले लगानी गर्नेगरी निर्माण कार्य अगाडि बढेको हो ।

अहिले टेण्डरको प्रक्रियाबाट भ्यु–टावर निर्माणको काम थालिएको छ । उक्त ठाउँ निजी जग्गाको रुपमा रहेकोमा करिब सय रोपनी क्षेत्रफल पालिकाले मुआब्जामार्फत अधिग्रहण गरेको छ । भ्यू–टावर निर्माणसँगै व्यावसायिक हिसावले पर्यटक भित्र्याउने पालिकाको योजना छ । दुई वर्षअघि उक्त ठाउँमा महोत्सवको आयोजना गरी प्रचारप्रसार गरिएको थियो । सो ठाउँमा हिमालको दृश्यावलोकनका लागि एभरेष्ट वालसमेत निर्माण गर्ने योजना रहेको पालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्