एमसीसीबारे धारणा बनाएका छैनौंः अध्यक्ष ओली

एमसीसीबारे धारणा बनाएका छैनौंः अध्यक्ष ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बहुप्रतीक्षित अमेरीकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारेमा आफ्नो दलले अझै स्पष्ट धारणा नबनाएको बताउनुभएको छ ।

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुको टोलीसँग आज शुक्रबार शिष्टाचार भेट गर्नुहुँदै अध्यक्ष ओलीले सो कुरा बताउनुभयो । सत्तापक्ष गठबन्धन दलले अझै एमसीसीबारे स्पष्ट धारणा बनाई विपक्षी दललाई सहयोगको आग्रह नगरेकाले सोबारे धारणा नबनाएको उहाँले भेटका क्रममा स्पष्ट पार्नुभएको एमाले नेता डा. राजन भट्टराईले जानकारी दिनुभयो ।

सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा भएको भेटमा अध्यक्ष ओलीले स्वास्थ्य, शिक्षा, विकास निर्माणका क्षेत्रमा अमेरिकी सरकारले गरेको सहयोगका लागि अमेरिकी सरकारलाई धन्यवाद व्यक्त गर्नुभएको नेता भट्टराईले जानकारी दिनुभयो । सो क्रममा अध्यक्ष ओलीसँग अमेरिकी प्रतिनिधिहरुको शिष्टाचार भेट भएको र दुईपक्षीय सहयोगका लागि कुराकानी भएको बताउनुभयो ।

लामो समयदेखि अमेरिकी सरकारले नेपाललाई विभिन्न क्षेत्रमा सहयोग गरिरहेको र आगामी दिनमा पनि सहयोगको निरन्तरता रहनेमा अध्यक्ष ओलीले विश्वास व्यक्त गर्नुभएको नेता भट्टराईले जानकारी दिनुभयो ।

भेटका क्रममा अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपाललाई अमेरिकी सरकारको सहयोग निरन्तरता पाउने विश्वास दिलाउनुभयो । आगामी दिनमा जलवायु परिवर्तन, कोभिड खोप, विकास निर्माण तथा जलवायु परिवर्तनमा आवश्यक सहयोग र सहकार्य गर्छौ भेटका क्रममा लुले भन्नुभएको नेता भट्टराईले जानकारी दिनुभयो ।

करिब आधा घण्टासम्म भएको भेटका क्रममा एमालेको तर्फबाट नेताहरु सुवासचन्द्र नेम्वाङ, विष्णु रिमाल, डा. भट्टराई लगायतको सहभाागिता थियो । त्यस्तै, अमेरिकी सरकारको तर्फबाट सहायक विदेशमन्त्री लुसहित विशिष्ट व्यक्तित्वहरुको सहभागिता थियो ।

साभार:गोरखापत्र अनलाइन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्