विराटनगर । विराटनगरसहित मोरङका विभिन्न स्थानमा पछिल्लो समय श्रृंखलाबद्ध रूपमा चोरीका घटना बढ्न थालेपछि मोरङ प्रहरीले चोरी नियन्त्रणका लागि २४ घण्टे विशेष अभियान सुरु गरेको छ ।

चोरीका घटना नियन्त्रण तथा चोरीमा संलग्न व्यक्तिलाई पक्राउ गर्ने उद्देश्यले विशेष कार्ययोजनासहित प्रहरी परिचालन गरिएको मोरङ प्रहरी प्रमुख एसपी कविता कटुवालले जानकारी दिइन् ।
“मोरङमा चोरी नियन्त्रणका लागि विशेष अभियान सुरु गरेका छौँ,” एसपी कटुवालले भनिन्, “अभियानअन्तर्गत जिल्लाभर चौबीसै घण्टा विशेष निगरानीसहित प्रहरी परिचालन गरिएको छ ।”

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार अभियान सुरु भएसँगै चोरीमा संलग्न व्यक्तिहरूको पहिचान र पक्राउ गर्ने कार्यलाई तीव्रता दिइएको छ । विशेषगरी रातिको समयमा सादा पोसाकमा समेत प्रहरी परिचालन गरी निगरानी बढाइएको उनले बताए ।
स्पष्ट कार्ययोजना बनाएर जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी युनिटबाट प्रहरी परिचालन गरिएको छ । सरकारी कार्यालय आसपास, पार्किङ स्थल तथा चोरीका घटना बढी हुने क्षेत्रलाई विशेष निगरानीमा राखिएको डीएसपी मिश्रले जानकारी दिए ।

“यसअघि चोरीमा संलग्न रहेका व्यक्ति र विगतमा बढी चोरी हुने क्षेत्रलाई लक्षित गरी निगरानी कडा बनाएका छौँ,” उनले भने, “आज दिउँसो मात्रै विराटनगरको हस्पिटल चोकबाट पनि चोरीमा संलग्न एक व्यक्तिलाई नियन्त्रणमा लिएका छौँ ।”
यसअघि छठ पर्वको मौका छोपी विराटनगरका विभिन्न स्थानमा चोरी गर्ने ६ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको थियो । घरधनीहरू छठ पूजा गर्न गएको मौका पारेर घरभित्र चोरी गर्न पुगेका उनीहरूलाई स्थानीयवासीको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

पछिल्लो समय चोरीका घटना बढ्न थालेपछि प्रहरीले नियमित गस्ती, सादा पोसाकमा निगरानी र शंकास्पद व्यक्तिमाथि अनुसन्धानलाई तीव्र बनाएको जनाएको छ ।