विराटनगर । फेसबुक आईडी ह्याक गरी आफन्त तथा साथीभाइसँग रकम माग्ने र विभिन्न बैंक खाताको क्यूआर कोड पठाएर पैसा जम्मा गर्न लगाई ठगी गर्ने कार्यमा संलग्न चार जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बेतिया जिल्ला, चुर्ना चौबेक वडा नम्बर १० स्थायी घर भई हाल विराटनगर महानगरपालिका–एयरपोर्ट मोडछेउ बस्दै आएका २६ वर्षीय ताहिर हुसेन रहेका छन् ।
त्यस्तै भारतको बिहार प्रदेश, कटिहार जिल्ला, डाइमर टोल वडा नम्बर ४ स्थायी घर भई हाल विराटनगर महानगरपालिका–४ मा डेरा गरी बस्ने ३६ वर्षीय गुड्डु भनिने मोहम्मद साविदिन पनि पक्राउ परेका छन् ।
यसैगरी विराटनगर महानगरपालिका–१७ का ३१ वर्षीय जफर आलम र विराटनगर महानगरपालिका–१ का २३ वर्षीय फैयाज खानलाई समेत प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।
पक्राउ परेका व्यक्तिहरूले फेसबुक आईडी ह्याक गरी त्यसबाट रकम माग्ने तथा विभिन्न बैंक खाताका क्यूआर कोड पठाएर रकम जम्मा गर्न लगाई ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङ प्रहरी प्रमुख एसपी कवित कट्वालले जानकारी दिए ।
पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।