मेची–महाकाली रेलवे आयोजना : इनरुवा–काँकडभिट्टा खण्डमा प्रक्रियागत कार्य सुरु

मेची–महाकाली रेलवे आयोजना : इनरुवा–काँकडभिट्टा खण्डमा प्रक्रियागत कार्य सुरु

विराटनगर । मेची–महाकाली रेलवे आयोजना अन्तर्गत इनरुवा– काँकडभिट्टा रेलवे विस्तार आयोजना अन्तर्गत ‘राइट अफ वे’ निर्धारणको काम अन्तिम चरणमा पुगेको छ ।

सुनसरी, मोरङ र झापाका १८ स्थानीय तह हुँदै विस्तार गरिने रेलवे आयोजना निर्माण क्षेत्रका स्थानीयवासीको ७५० बिघाहा दर्तावाला जग्गाको मुआब्जा मूल्यांकनको चरण सुरु गरिएको हो ।
रेल योजना कार्यालय दमकका आयोजना प्रमुख प्रकाशचन्द्र भण्डारीका अनुसार चालु आर्थिक वर्षका लागि मुआब्जा वितरण गर्न एक अर्ब ६६ करोड रुपिँया बजेट बिनियोजन भएको छ । गतवर्षको सञ्चित एक अर्ब रुपिँया रहेको छ । मुआब्जा निर्धारण उप–समितिले जग्गाको मूल्यांकन प्रतिवेदन बुझाए प्रारम्भिक चरणको वितरणको काम थालिने आयोजना प्रमुख भण्डारीले बताउनुभयो ।
आयोजना प्रमुख भण्डारीका अनुसार अघिल्लो र चालु आवको दुई अर्ब ६६ करोड रुपिँयाले मात्रै ३० प्रतिशत मुआब्जा वितरण गर्न नपुग्नेभएकोले अर्थमन्त्रालयसँग थप तीन अर्ब रुपिँया माग गरिएको छ ।

रेलवे विस्तार क्षेत्रमा पर्ने जग्गाधनीको लगत संकलन, मुआब्जा निर्धारणपछि वितरणको प्रक्रियामा जाने तयारी गरिएको हो । रेलवे विस्तार क्षेत्र अन्तर्गत सुनसरीमा डिमार्केसन समेत सकिएको र झापा–मोरङमा प्रक्रियाको चरणमा रहेको बताइएको छ । रेलवे रेखाङ्कन क्षेत्र छुट्याउने कामको थालनी भएको छ, भण्डारीले भन्नुभयो–अहिले राईट अफ वे क्लियर गर्दै पोल गाड्न थालेका छौं ।
मेची–महाकाली रेलवे त्यसमध्ये इनरुवा–काकडभिट्टाको १२६.७५ किलोमिटर पर्दछ । इनरुवा–काकटभिट्टा १२६ किलोमिटरमध्ये २०.१६ किलोमिटर इटहरी–विराटनगर लिङ्क रेलवे पर्दछ । जसको काम भने सुरु भएको छैन । मुआब्जाका लागि मात्रै २४ अर्ब रुपिँया आवश्यक पर्ने पूर्वानुमान गरिएको छ ।

एक खर्ब १४ अर्ब रुपिँया लागत अनुमान प्रस्ताव रेलवे सुनसरी इनरुवाको पूर्वपश्चिम राजमार्गको दक्षिणपट्टीबाट राजमार्गकै समानान्तर भएर इटहरी (खनार) हुँदै काकडभिट्टासम्म विस्तार हुनेछ । मुख्य रेलमार्गसँग विराटनगरलाई जोड्न खनारबाट लिंक रेलवे निर्माण गरिने छ । इनरुवा–काकडभिट्टा क्षेत्रमा दशवटा रेलवे स्टेसन र इटहरी (खनार)–विराटनगर अन्तर्गत हात्तिम्ुढामा एउटा रेलवे स्टेसन बनाउने गुरुयोजनामा उल्लेख छ ।

एक हजार ४३५ ट्रयाक (स्यान्डर) गेज रहने रेलवे ७.५ मिटर चौडाईको हुनेछ । त्यसका लागि १०–१२ मिटर उचाईको तटबन्ध सहित १३२ केभी प्रसारण लाइनको इटहरी, दमक र विर्तामोडमा सवस्टेशन राखिने उल्लेख गरिएको छ ।

रेलमार्ग विस्तारका लागि ६३५.७७ हेक्टर जमिन आवश्यक पर्नेछ । साना र ठूला गरि ३४ वटा पुल, २८५ प्रकारका प्राकृतिक नालाको क्रसिङ, पैदल यात्री तथा चौपायाका लागि सुरक्षित तीनसय पासिङ कल्भर्ट निर्माण गर्नुपर्नेछ । विस्तार आयोजनाका क्रममा ५१२.६९ हेक्टर खेतियोग्य, ५३.६१ हेक्टर जल क्षेत्र, ३३ हेक्टर वस्ती क्षेत्र, १९.६० हेक्टर वन क्षेत्रमा पर्नेछ । आयोजना क्षेत्रमा चार हजार घरधुरीका पाँच हजार ११८ कित्ता जग्गा, ५५० वटा संरचना पर्नेछन् । इनरुवा–काकडभिट्टामा ३५७ र इटहरी–विराटनगरमा १९३ घरधुरी रेलवे निर्माणका क्रममा प्रभावित हुनेछन् ।

निर्माणका क्रममा २२ करोड ६७ लाख नौहजार ४९ घन मिटर माटो, २ लाख ८७ हजार ४१ घनमिटर बालुवा, १८ लाख २९९ घन मिटर ग्राभेल, तीनलाख, ७६ हजार ७३९ घन मिटर बाउल्डल ढुंङ्गा खपत हुने अनुमान गरिएको छ । यसका लागि २३ स्थानमा उत्खनन् स्थल राखिने प्रस्ताव गरिएको छ । आयोजना क्षेत्रमा वयस्क र पोल साइजका रुखहरु ८ हजार ४३० को संख्यामा काटिनेछन् ।
आयोजना निर्माणका लागि निजी संरचनाका लागि ९८ करोड ७५ लाख छ हजार, प्रसारण लाइनका लागि २० अर्ब ६३ करोड ४० लाख ६९ हजार ७८२ र १२६ किलोमिटर रेलमार्ग विस्तारका लागि ९० अर्ब, २८ करोड १८ लाख छ हजार २४० लागत अनुमान गरिएको छ । वातावरण, सामाजिक र पुर्नवासका लागि २४ अर्ब रुपिँया लाग्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्