कोभिडको ओमिक्रोन भेरिएन्टको जोखिम : के गर्दैछ प्रदेश १ सरकार ?

कोभिडको ओमिक्रोन भेरिएन्टको जोखिम : के गर्दैछ प्रदेश १ सरकार ?

विराटनगर । नयाँ भेरिएन्ट सहितको कोभिड महामारी रोकथाम तथा नियन्त्रणका लागि प्रदेश १ सरकार पुनः आवश्यक तयारीमा जुटेको छ ।

सोमबार विदेशी भुमिबाट नेपाल आएका दुईजनामा कोभिडको ‘ओमिक्रोन’ भेरिएन्ट पुष्टि भएसँगै प्रदेश १ सरकार रोकथाम तथा प्रतिकार्यको पूर्वतयारीमा जुटेको हो । कोभिडको ओमिक्रोन भेरिएन्टबाट आम नागरिकलाई सुरक्षित राख्न सरकारले कोभिड बिशेष अस्पताल, आईशोलेसन तथा होल्डिङ सेन्टरको व्यवस्थापन र आवश्यक स्वास्थ्य सामाग्री तथा जनशक्तिको पुनः परिचालन लगायतका कार्यमा आवश्यक गृहकार्य थालेको छ । ‘म्युटेन्ट भेरिएन्ट’ सहितको दोश्रो लहरबाट पाठ सिक्दै विभिन्न जिल्ला अस्पताल र आइसोलेसन सेन्टरहरुलाई समेत दुरुस्त अवस्थामा राख्न निर्देशन गरिसकिएको प्रदेश सरकारका सामाजिक विकास मन्त्री जयराम यादवले बताए ।

कोभिडको जोखिमलाई दृष्टिगत गर्दैै प्रदेश सरकारले सीमा क्षेत्रहरुमा समेत आवश्यक कडाई गर्ने तयारी गरेको छ । विदेशबाट आउने नागरिकको हकमा हेल्थ स्क्रिनिङ तथा एन्टिजेन परीक्षण गरेर मात्र नेपाल प्रवेश दिने बिषयमा पनि आवश्यक छलफल र तयारी भईरहेको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नेपाल सरकारको निर्णयानुसार विभिन्न जिल्लाहरुमा निर्माण भईरहेको होल्डिङ सेन्टरको कार्यलाई पनि यथाशिघ्र सम्पन्न गर्न निर्देशन गरिएको छ । प्रदेश नं. १ को राजधानी विराटनगरको हकमा रानीको जुट मिल्समा नेपाली सेनाले निमार्ण गरिरहेको १ हजार क्षमताको होल्डिङ सेन्टरलाई समेत चाँडै सम्पन्न गर्न निर्देशन गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए । उनले ४० प्रतिशत भौतिक प्रगति भएको होल्डिङ सेन्टर अबको २ महिनाभित्र सञ्चालनमा आउने जानकारी दिए ।

यस्तै, सघन प्रकृतिका कोभिड संक्रमित बिरामीको उपचारका लागि प्रदेश सरकारले सञ्चालन गरेको कोभिड–१९ उपचार केन्द्रलाई समेत तयारी अवस्थामा निर्देशन गरिएको जनाईएको छ । हाल उपचार केन्द्रको पुर्वपट्टि अक्सिजनसहित आइसियु र एचडियु गरि ९६ बेड क्षमताको बिशिष्टिकृत कोभिड अस्पताल सञ्चालनमा छ । ८० बेड क्षमताको पुरानो अस्पताल पनि दुरुस्त अवस्थामा छ । यसका अतिरिक्त नयाँ ब्लक छेउमै दक्षिणपट्टिको खाली संरचनामा अक्सिजन प्लान्ट सहित ७६ बेड क्षमताको अर्को अस्पताल निर्माणको कार्य समेत धमाधम भईरहेको छ । २४ आईसियु र ५२ एचडियु गरि कुल ३ करोड ९ सय ६१ रुँपैयाको लागतमा अस्पताल निर्माणको कार्य भईरहेको कोभिड–१९ उपचार केन्द्रका संयोजक बैजनाथ साहले बताए ।

अस्पतालमा अक्सिजन आपुर्तिलाई सहज बनाउन प्रदेश सरकारले कोभिड अस्पतालको नयाँ ब्लकका लागि आफ्नै अक्सिजन प्लान्ट निर्माणको कार्यलाई समेत तीव्रता दिएको छ । निर्माणाधिन रहेको प्लान्टले दैनिक १५० सिलिण्डर अक्सिजन उत्पादन गर्ने जनाईएको छ । यसका अतिरिक्त उत्तरपट्टिको ब्लकका लागि पनि अक्सिजन प्लान्ट निर्माण गर्न प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले मुख्यमन्त्री कार्यालयलाई फायल पठाईसकेको छ । अस्पतालको पुर्वपट्टिको दुवै ब्लकमा प्लान्ट निर्माण भईसकेपछि अस्पतालले दैनिक ३०० सिलिण्डर अक्सिजन उत्पादन गर्ने जानकारी दिईएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्