विराटनगरको कोभिड अस्पताल विस्तार कार्य अन्तिम चरणमा : अक्सिजन प्लान्ट र शवगृह पनि

विराटनगरको कोभिड अस्पताल विस्तार कार्य अन्तिम चरणमा : अक्सिजन प्लान्ट र शवगृह पनि

विराटनगर । विराटनगर–१० मलाया रोडस्थित प्रदेश १ सरकारले गरिरहेको कोभिड–१९ उपचार केन्द्र विस्तारको कार्य अन्तिम चरणमा पुगेको छ ।

स्वीस सरकारको ४ करोड आर्थिक सहयोगमा शहरी विकास तथा भवन कार्यालय मार्फत् भईरहेको अस्पताल विस्तारको कार्य अन्तिम चरणमा पुगेको हो । कोभिड महामारीको दोश्रो लहरमा प्रदेश सरकारसँग भएका संरचनाहरु अपर्याप्त भएपछि सरकारले आवश्यक स्वास्थ्य पुर्वाधारसहित विराटनगरको कोभिड अस्पताल विस्तार गर्ने निर्णय गरेको थियो । सरकारको उक्त निर्णय बमोजिम हाल विराटनगर–१० मलाया रोडस्थित कोभिड–१९ उपचार केन्द्र पछाडि दक्षिणपट्टिको रिक्त संरचनामा बिशिष्टिकृत कोेभिड अस्पताल निर्माणको कार्य धमाधम भईरहेको छ । दक्षिणतर्फको ब्लकलाई आईसियु, एचडीयु, बेष्ट म्यानेजमेन्ट, शवगृह र अक्सिजन प्लान्ट लगायतका संरचना सहित सुविधा सम्पन्न बिशिष्टिकृत अस्पतालको रुपमा विकास गर्ने सरकारको योजना छ । योजना अनुसार ८५ प्रतिशतभन्दा बढी निर्माण कार्यहरु सम्पन्न भईसकेको शहरी विकास तथा भवन कार्यालयका इन्जिनियर विभाश भुरेरले बताए ।

दक्षिणपट्टिको संरचनामा २४ आइसियु र ५२ एचडियु सहित ७६ बेड क्षमताको सुविधा सम्पन्न कोभिड अस्पताल निर्माण गर्ने सरकारको तयारी छ । उक्त कार्यका लागि मोरङ र सुनसरीका ३ निर्माण सेवा कम्पनीहरुले प्रदेश सरकारको भौतिक पुर्वाधार विकास मन्त्रालय अन्तर्गतको शहरी विकास तथा भवन कार्यालयसँग ठेक्का सम्झौता गरेका छन् ।

जसमा सुनसरीको धरान–१० स्थित श्री महादेव खिम्ती/स्वामी नारायण/अञ्जना जेभीले कुल ३ करोड ९ सय ६१ दशमलव ४५ रुँपैयाको लागतमा दक्षिण ब्लकको आइसियु, एचडियु, बेष्ट म्यानेजेमन्ट र शव गृह निर्माण, विराटनगर–३ स्थित एलिशा कन्सट्रक्सनले कुल १७ लाख ६ हजार ७ सय ६९ दशमलव ५९ रुँपैयाको लागतमा अक्सिजन सेड निर्माण र विराटनगरकै प्रभु गंगा निर्माण सेवाले कुल १७ लाख १७ हजार १ सय ३ दशमलव ३३ रुँपैयाको लागतमा एच.भि.ए.सी जडानको जिम्मा लिएको छ ।

धरानको महादेव खिम्तीले गएको असार १० गते सम्झौता गरेकोमा पौष १५ गते निर्माण कार्य सक्ने सम्झौता पत्रमा उल्लेख छ । सम्झौता अनुसार एलिशा कन्स्ट्रक्सन र प्रभु गंगाले भदौ १७ मा सम्झौता गरेको भएपनि उनीहरुले पनि सोही मितिमा निर्माण कार्य सक्नुपर्ने छ । अक्सिजनकोे सहज आपुर्तिलाई दृष्टिगत गर्दै आफ्नै अक्सिजन प्लान्ट निर्माणको कार्यलाई प्राथमिकतामा राखेको प्रदेश सरकारले एच.भि.ए.सी जडानको कार्यलाई समेत तिव्रता दिएको छ । संक्रमित बिरामीहरुले फेरेको श्वास र नेगेटिभ प्रेसरलाई निर्मलीकरण गरेर बाहिर फाल्न हिटिङ भेन्टिलेसन तथा एअर कन्डिसन जडानको कार्य धमाधम भईरहेको शहरी विकास तथा भवन निर्माण कार्र्यालयका इन्जिनियर विभाश भुरेरले जानकारी दिए । ‘दैनिक १५० सिलिण्डर अक्सिजन उत्पादन हुने गरि अक्सिजन प्लान्ट निर्माण तथा जडानको कार्य त भईरहेकै छ । यसका अतिरिक्त एच.भि.ए.सी जडानको कार्यलाई पनि प्राथमिकतामा राखेका छौं,’ उनले भने, ‘एचभिएसी जडान भईसकेपछि अस्पतालमा उपचाररत बिरामीबाट हुने जोखिम न्युनीकरण हुन्छ । बिरामीहरुले फेरेको साँसले कसैलाई हानी पुर्‍याउँदैन् ।’

स्वीस सरकार विकास सहयोग एकान्तकुना ललितपुरको सहयोगमा निर्माण भईरहेको यसप्रकारको संरचना प्रदेश नं. १ मै पहिलो हो । यसका अतिरिक्त कोभिड १९ उपचार केन्द्रले बिरामीहरुको लुगा धुनका लागि दक्षिणपट्टिको संरचनामा लन्ड्री ब्लक, उत्तरपट्टिको संरचनामा अक्सिजन प्लान्ट निर्माणका लागि सेड, मेडिकल ग्यास सप्लाई कार्यका आवश्यक संरचना र अस्पताल परिसरमा पिच सडक निर्माणका लागि थप बजेट माग गरेको छ । उक्त कार्यका लागि थप ५६ लाखको लागत अनुमान गरिएको कोभिड १९ उपचार केन्द्रका संयोजक बैजनाथ साहले बताए । उनले अस्पतालमा थप संरचना निर्माण गर्न असोज १६ गते नै कोरोना जनसुरक्षा कोषबाट आवश्यक रकम माग गरिएको जानकारी दिए ।

सम्झौता अनुसार पौष १५ भित्र ठेकेदार कम्पनीहरुकोे निर्माण कार्य सम्पन्न हुने छाँटकाँट देखिएपछि दक्षिण पट्टिको नयाँ ब्लक सञ्चालनमा आउन भने थप केही समय लाग्ने भएको छ । नयाँ ब्लकमा निर्माणाधिन एच.भि.ए.सी.का सामानहरु प्रक्रियागत जटिलताका कारण बोर्डरमै अड्किएकाले अस्पताल सञ्चालनमा आउन थप केही समय लाग्ने भएको जनाईएको छ ।

कोभिडको पहिलो लहरमा उपचार केन्द्रको २ तले संरचनामा ८० बेड क्षमताको अस्पताल सञ्चालन गरेको प्रदेश सरकारले दोश्रो लहरमा सोही अस्पतालको पछाडिपट्टि उत्तरतर्फको रिक्त संरचनामा ९६ बेड क्षमताको अस्पताल निर्माण गरि सञ्चालन ल्याएको थियो । हाल आउँदै गरेको कोभिडको तेश्रो लहरलाई मध्यनजर गर्दै प्रदेश १ सरकारले सोही ठाउँमा दक्षिणपट्टिको ब्लकमा पनि ७६ बेड क्षमताको अस्पताल निर्माण गरि सञ्चालन गर्ने तयारी गरेको छ । दक्षिणपट्टिको ब्लक निर्माण भई सञ्चालनमा आईसकेपछि प्रदेश १ सरकारद्वारा सञ्चालित कोभिड १९ उपचार केन्द्र कुल २५२ बेड क्षमताको बिशिष्टिकृत अस्पतालकोे रुपमा परिणत हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्